बझाङमा अझै १५ हजार बढी बालबालिकाले पाएनन् कोरोना खोप
फाइल तस्वीर

बझाङमा २३ हजार बढी विद्यार्थीले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन् । गत सोमबारदेखि जिल्लाका २३ हजार ४ सय ६५ जना १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी तथा बालबालिकालाई मोडर्ना खोप दिइएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।

बझाङमा ३९ हजारभन्दा बढी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका रहेका छन् । ती बालबालिकालाई दिइने भनेको मोर्डना खोपको आवश्यक डोज आपूर्ति नभएपछि खोप लगाउनबाट तत्कालका लागि १५ हजार बढी बालबालिका वञ्चित भएको स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य अधिकृत नम्रता बोगटीले बताइन् । 

उनका अनुसार जिल्लाका ९९ वटा विद्यालय र पालिकाका स्वास्थ्य संस्थाबाट मोडर्ना खोप लगाइएको हो । स्वास्थ्य कार्यालय बझाङलाई प्राप्त २४ हजार खोप संख्या मात्रै भएकाले अहिले २३ हजार ४ सय ६५ जना विद्यार्थी तथा बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय बझाङका कोरोना फोकल पर्सन नारायण जोशीले बताए ।

स्वास्थ्य कार्यालय बझाङले बालबालिकाका लागि ४० हजार डोज मोर्डना खोप माग गरेको भए पनि स्वास्थ्य निर्देशनालयले १५ हजार डोज खोप कम पठाएको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए ।

जोशीका अनुसार बझाङमा १२ देखि १७ वर्ष उमेर समूहका ३९ हजार १२४ जना बालबालिका भए पनि खोप अभावका कारण सबैलाई खोप सुविधा दिन नसकिएको हो । अझै १५ हजार ६ सय ५९ जना मोडर्ना खोप लगाउनबाट बञ्चित भएका छन् । खोप उपलब्ध गराउनका लागि निर्देशनालय र प्रदेशसँग समन्वय भइरहेकाले केही समयभित्र नै उक्त खोप जिल्ला आइपुग्ने जोशीले बताए ।





  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १८:४८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया