सास्ती खेप्दै जनता, सरकार भन्छ –विश्वमा देश चिनाउन दुःख उठाउनुस्

सानु राजथला निकैबेरदेखि रत्नपार्कमा गाडी कुरिरहेकी थिइन् । लामाटार जान लागेकी राजथला अरु दिन १०–१५ मिनेटमै गाडी भेट्थिन् । सडकमा सधैँभन्दा कम गाडी गुडेको देखेपछि उनलाई लाग्यो, ‘मन्त्री, प्रधानमन्त्री आउँदै होलान् ।’

एसिया प्यासिफिक सम्मेलनका कारण आफूले समयमा गाडी नपाएको कुरा उनलाई थाहा थिएन ।

६० वर्षीय इन्द्र लामा पनि डेढ घन्टादेखि भृकुटीमण्डप  गेटमा गाडी कुरिरहेका थिए । नेपालटार जानुपर्ने लामाले समयमा गाडी नपाएपछि फरकधारटोलीसँगै प्रश्न गरे, ‘के भएको साँच्ची ?’

गाडी नपाएर अलपत्र पर्नेमा नेपाली मात्रै होइनन्, विदेशी पर्यटक पनि थिए । नेपाल घुम्न आएका स्पेनिस नागरिक  बेन्जामिन निकै बेरसम्म पाटन जाने गाडी नआएपछि होटलतर्फ फर्के ।

एसिया प्यासिफिक सम्मेलनका लागि सरकारले सवारी सञ्चालनमा बिहीबारदेखि जोर–विजोर प्रणाली लागू गरेको छ । जोर–विजोर प्रणाली लागू गरिएको यो पहिलोपटक भने होइन । 

यसअघि चौथो बिम्सटेक सम्मेलन हुँदा पनि सरकारले यही प्रणाली लागू गरेको थियो । सर्वसाधारणलाई सास्ती हुनेगरी लागू गरिएको यो प्रणालीले सम्मेलनमा आउने पाहुनाको सुरक्षा व्यवस्था चुस्त हुने सरकारको ठहर छ ।   



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सम्मेलनस्थल सोल्टी होटलसम्म ठाउँ–ठाउँमा ‘एसिया प्यासिफिक समिट–२०१८ नेपालमा पाहुनालाई स्वागत छ’ लेखिएका गेट देखिन्छन् । 

त्यही गेटमुनि गाडी पर्खेर बसेकाहरुलाई भने सम्मेलनबारे पत्तै छैन । गाडी पर्खेर बसेका यात्रु अचम्म मान्दै बाटोमा ठडिएका गेट हेरिरहेका देखिन्थे । कोही भने बिनासित्ती सरकारले सास्ती दिएको भन्दै आक्रोष पोख्दै थिए ।



यता, सरकार भने सुरक्षाका लागि यस्तो गर्नुपरेको बताउँछ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटा विदेशी भिभिआइपी पाहुनाका लागि जोर–विजोर प्रणाली लागू गर्नुपरेको बताउँछन् ।

४५ देशका प्रतिनिधि सहभागी हुने सम्मेलनले नेपाललाई विश्वमा परिचित गराउने भएकाले जनताले देशका लागि अलिकता दुःख सहनुपर्ने उनको तर्क छ । 

सम्मेलनले ‘भिजिट नेपाल २०२०’लाई समेत सहयोग गर्ने सरकारको ठहर छ । यसबाहेक, सम्मेलनले नेपालको अन्तर्राष्ट्रिय छवि र सम्बन्ध पनि विस्तार गर्ने सम्भावना देख्छन् उनी ।

विदेशी पाहुनाको सुरक्षा गर्नु सरकारको जिम्मेवारी भएकाले जनताले थोरै दुःख उठाउनुपर्ने अवस्था सिर्जना भएको सरकारको तर्क छ । 
 

  • प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार २१:२४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया