सन् २०२२ विश्व खेलकुदका लागि केही विशेष हुने छ किनकि यो वर्ष विश्व खेलकुदका केही मुख्य प्रतियोगिता आयोजना हुनेछन् ।
तीमध्ये चीनमा हुने शीतकालीन ओलम्पिक र कतारमा आयोजना हुने फिफा पुरुष विश्वकपलाई विशेष महत्त्वका साथ हेरिएको छ ।
सन् २०२२ मा आयोजना हुने खेलकुदका मुख्य प्रतियोगिता
फुटबल
सन् २०२२ मा विश्व फुटबल निकै व्यस्त हुनेछ । यो विभिन्न देशका घरेलु लिग, महदेशीय प्रतियोगिता, युईएफए च्याम्पियन्स लिग, युरोपा लिग जस्ता प्रतियोगिता आयोजना हुनेछन् ।
यो वर्ष सबैभन्दा केन्द्रमा रहने फुटबल प्रतियोगिता युएइफए महिला युरो कप र फिफा पुरुष विश्वकप नै हुन् ।
महिला युरो कप ६ देखि ३१ जुलाइसम्म इंग्ल्यान्ड तथा फिफा पुरुष विश्वकप २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म कतारमा हुनेछ ।
यसपल्टको विश्वकप धेरै अर्थमा फरक र विशेष हुनेछ । किनकि सन् १९३० देखि सुरु भएको प्रतियोगिता पहिलोपटक नोभेम्बर–डिसेम्बरमा आयोजना हुँदैछ । यसको प्रमुख कारण हो कतारको प्रचण्ड गर्मी ।
क्रिकेट
क्रिकेटमा पनि यो वर्ष विभिन्न घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय सिरिजहरू हुनेछन् तर महत्त्वपूर्ण प्रतियोगिता भने महिला एक दिवसीय तथा पुरुष टि–२० विश्वकप हुन् ।
४ मार्चदेखि ३ अप्रिलसम्म न्यूजिल्यान्डले महिला एकदिवसीय विश्वकप आयोजना गर्दैछ । पुरुष टि–२० विश्वकप १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म अस्ट्रेलियामा हुनेछ ।
टेनिस
यो वर्ष टेनिसका चारै ग्राण्डस्लाम प्रतियोगिता आयोजना हुनेछन् ।
१७ देखि ३० जनवरीसम्म पहिलो ग्राण्डस्लामका रूपमा अस्ट्रेलियन ओपन मेलबर्नमा आयोजना हुनेछ ।
पेरिसमा २२ मे देखि ५ जुनसम्म फ्रेन्च ओपन र २७ जुनदेखि १० जुलाइसम्म लन्डनमा टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता विम्बेल्डन आयोजना हुनेछ ।
वर्षको अन्तिम ग्राण्डस्लामका रूपमा २९ अगस्ट देखि ११ सेप्टेम्बरसम्म न्यु योर्कमा युएस ओपन आयोजना हुनेछ ।
यीबाहेक पनि यो वर्ष टेनिसका विभिन्न प्रतियोगिता हुनेछन् ।
बहुखेल समावेश हुने खेलकुदका प्रतियोगिता
शीतकालीन ओलम्पिक
शीतकालिन ओलम्पिक ४ देखि २० फेब्रुअरीसम्म चिनको बेइजिङमा हुनेछ । त्यस्तै चीनले ४ देखि १३ मार्चसम्म शीतकालीन पाराल्याम्पिक पनि आयोजना गर्नेछ ।
२८ जुलाइदेखि ८ अगस्टसम्म कमनवेल्थ गेम्स इंग्ल्यान्डको बर्मिङघममा आयोजना हुँदा ११देखि २१ सम्म जर्मनीको म्युनिखमा युरोपियन स्पोटर्स च्याम्पियनसिप हुनेछ ।
१० देखि २५ सेप्टेम्बरसम्म चीनमा एसियन गेम्स हुँदा १ देखि १५ ओक्टोबरसम्म पाराग्वेले दक्षिण अमेरिकी गेम्सको आयोजना गर्नेछ ।
यीबाहेक यो वर्ष भलिबल, पौडी, फर्मुला वान, गल्फ, रग्वी, साइक्लिङ,एथलेटिक्सजस्ता खेलको पनि विभिन्न प्रतियोगिता आयोजना हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।