मलाई कायर बनाउने समाज
फरकधार / १८ पुस, २०७८

उही पुरानो अड्डा, उही टेबल, उस्तै एक्लोपन ।



‘दिदी ब्ल्याक कफी ल्याऊँ,’ कफीसपको भाइको आवाजले मेरो मौनता तोडिन्छ ।

बोल्ने जाँगर थिएन । टाउकोले इसारा गर्दै ‘हुन्छ’ भनें ।



उसले कफीसँगै ब्ल्याक चुरोट पनि टेबलमा राखिदियो, मानौ उसलाई मेरो आवश्यकता थाहा भइसकेको छ ।



कफी पिउँदै ल्यापटपमा केही लेख्न खोज्दै थिएँ उसको प्रश्नले मेरा औँला रोकिए, ‘दिदी एउटा कुरा भन्छु माइन्ड नगर्नु है ?'

‘दिदी पनि भन्छौं, अनि कुरा गर्न अप्ठेरो पनि मान्छौ,’ कुरा भन्न मैले उसलाई आग्रह गरें, ‘भन न के कुरा हो । म तिम्रो कुरामा माइन्ड गर्दिनँ ।’

उ केही भन्न खोजे जस्तो गर्दै थियो । त्यति नै बेला अर्को कस्टमरले बोलाए, उ त्यतैतिर लाग्यो । म आफ्नै सुरमा न्युज पोर्टल हेरिरहेकी थिएँ ।

‘दिदी हजुर किन आजभोलि एक्लै आउनु हुन्छ ? हजुरसँग आउने दाइ अचेल कता जानु भयो ? फेरि पहिले जस्तो तपाई फ्रेस पनि देखिनुहुन्न ?,’ भाइले नजिक आएर प्रश्नहरूको वर्षा गर्यो ।

म एकछिन सुनिरहे उसका प्रश्न । ऊ मेरै टेबलको अर्को साइटको कुर्चीमा बस्यो ।  मलाई यो बिरानो सहरमा कोही आफ्नो भेटिए जस्तो लाग्यो । उसको जिज्ञासाले मेरो फेसियल एक्सप्रेसनमा फरक पारिरहेको थियो ।

मैले सामान्य जवाफ दिएँ, ‘त्यस्तो होइन भाइ । मलाई बीचमा त्यति सन्चो थिएन त्यसैले अनफ्रेस देखिएको होला ।’

‘अनि दाइ ?,’ मलाई जुन कुराको उत्तर दिन मन थिएन उसले फेरि सोध्यो । मलाई के भनौँ भनौँ भयो । ‘ऊ अहिले कामले भ्याली बाहिर छ क्यार,’ उसको बारेमा कुरा गर्न मलाई मन छैन भन्ने भाइले सायद बुझ्यो क्यार । उ काउन्टरतिर लाग्यो ।

म सम्झिन्छु– मलाई यहाँ ल्याउने उ नै हो । हामी प्रायः आउने ठाउँ यही नै थियो । १०–५ को अफिस सकेर हाम्रो भेट्ने जक्सन बनेको थियो बानेश्वरको संसद भवन नजिकमा रहेको मुड अन क्याफे । आमेश मेरो प्रिय साथी थियो । बाहिर बाट हेर्दा सबैले गर्लफ्रेण्ड बोइफ्रेण्ड भने पनि हामी दुइ राम्रो साथी मात्र थियौं ।

खासमा ऊ मेरो दाइको साथी थियो । चिनजान लामो भए पनि भेटघाट भने विगत २–३ वर्षदेखि अलिक बाक्लिदै गएको थियो । ऊ आइटीको विद्यार्थी भएर पनि होला अहिलेको नयाँ एप्लिकेशनको बारेमा मलाई सुनाइरहन्थो । उसको कुराले मेरो झुकाव आइटीतिर बढ्दै थियो । हाम्रो अफिस र बस्ने ठाँउ नजिक पर्नेहुँदा हामीलाई संसद भवन नजिक भेट्न  सहज हुन्थ्यो  । हामी दिनहु जस्तो एकछिन कफी खान कै लागी भएपनि भेट्ने गथौँ ।

तर, आज ४ महिना भयो । म हरेक दिन एक्लै यहि टेबलमा उसलाई पर्खिरहेछु । लाग्छ  उ यहीं छ । मसँगै छ । त्यो दिन म अझै सम्झिन्छु– उसले क्याफे बाट फर्किँदै गर्दा भनेको थियो, ‘हामी अब एक हप्ता नभेटौं ल ।’ मैले उसको कुरा नबुझेर ‘किन’ भनेकी थिए । ‘कहिलेकाहीं नभेट्दा कस्तो हुने रैछ भनेर नि,’ उसले हाँस्दै भनेको थियो ।

मलाई अचम्म लाग्यो । कहिलेकाहिँ अफिसमा ५ को सट्टा साडे ५ हुदा उ मलाई लिन मेरो अफिस अगाडि आइपुग्थ्यो । फोन गरिरहन्थ्यो । आमेश आज अचानक किन यस्तो भन्दै छ भन्ने कुराले म अचम्ममा परेको थिएँ ।

मलाई लाग्यो  एक हप्ताको लागि ऊ कतै जाँदै छ । ‘ठीक छ । एक हप्ता पछि फर्किएर आउदा मलाई केही गिफ्ट ल्याइदिनु पर्छ ल,’ ऊ एकाएक गम्भीर बन्यो ।

‘ओए, के भो मैले जिस्किएर भनेको हो । त्यस्तो सिरियस बन्नु पर्दैन लोभी केटो,’ हाम्रो अन्तिम भेटघाट र कुराकानी यही नै थियो ।

उसको घरमा सबैजनाले मलाई चिन्नुहुन्थ्यो । चाडपर्वमा बोलाउनु पनि हुन्थ्यो, म जान्थें पनि ।

आमेशको बहिनी मलाई भाउजू भनेर जिस्काउँथी । मैले हाँसेरै टारिदिन्थें । आमेशको कुराकानी र इनोभोटिभ नेचर मलाई राम्रो लाग्थो । तर हामी जति नै मिल्ने भए पनि एक अर्काको प्राइभेट कुरालाई सधै सम्मान गथ्यौं ।

भ्यालेनटाइन डे आउँदै थियो । आमेशले मलाई सोधेको थियो, ‘आर यू सिङ्गल ?’

एकै स्वासमा मैले भनेकी थिएँ, ‘नो, आइ एअ इन रिलेसनसिप ।’

‘ह्वाट अबाउट यु ?,’ मैले पनि पाएको अवसरको सदुपयोग गरिहालें ।

उसले भुइँतिर आँखा डुलाउँदै भन्यो, ‘इट्स कम्प्लिकेटेड ।’

‘किन कम्प्लिकेटेड, भन्न मिल्छ भने भन न,’ मैले दबाब दिएँ ।

उसले लामो सास फेर्दै भन्यो, ‘कुनै दिन भन्छु ल, आज मुड छैन ।’

‘ठीकै छ नि त,’ मैले थप दबाब दिन चाहिनँ । 

उसको पर्सनल कुरा उसलाई भन्न मन लागेको दिनमा भन्छ होला भन्ने लाग्यो । अर्को दिन म अफिसबाट फर्कँदै थिएँ । मुड अन क्याफे नजिक आइपुग्दा आमेश याद आयो । कल गरु कि जस्तो लाग्यो, तर गरिनँ । ‘ऊ आफैँले एक हप्ता पछि भेट्छु भनेको छ, अहिले किन गर्नु,’ आफैँले आफैँलाई सम्झाएँ । तर क्याफे भने गएँ । उही भाइले सोधेको थियो, ‘दिदी आज एक्लै, खोइ त दाइ ?’

मैले आज उसलाई जे जवाफ दिएको थिएँ त्यो दिन पनि त्यही नै दिएको थिएँ ।

क्याफेको छतबाट संसद भवन बाहिर के भइरहेको थियो प्रस्ट देखिन्थ्यो । केही मिडियाकर्मीहरू हातमा बुम लिएर नेतालाई प्रश्न सोधिरहेको प्रस्ट देख्न सकिन्थ्यो । के विषय हो भन्ने चाही बुझिँदैनथ्यो । नेता देख्नेबित्तिकै मलाई सधैँ लाग्छ– भाषणमा भनेका कुरा कार्यान्वयन गरिदिए कति राम्रो हुन्थ्यो । कुरा गर्नजस्तो सजिलो कहाँ होला र देश बनाउन  । राजनीति त्यति धेरै नबुझे पनि मलाई राजनीति बुझ्न र नेताको भाषण सुनेर आलोचना गर्न मन लाग्छ ।

सबै नेताको आफ्नै खालको विषेशता छन् । कोही कुरा गर्न उखान टुक्कासँग अहिलेको राजनीति परिवेश र वर्तमान पृष्ठभूमि जोड्न जान्दछन् । कोहीको कम बोल्ने भए पनि आफ्नै शैली र चतुर्‍याइबाट पटक-पटक नेतृत्वमा स्थानमा आइरहने र कोहीको गफ सुन्दा चाहिँ प्रचण्डताको अनुभूति भए पनि विभिन्न पार्टीसँग धेरै चोटि गठबन्धन गर्ने रहेको छ ।

सोचेँ सबैमा आफ्नै खालको विषेशता छ । सबै एक आपसमा भिन्न छन् । र त सबैको अस्तित्व फरक छ । म, म जस्तै छु । म अरु जस्तो बन्नै सक्दिन, यसकारण म छु । म जस्तो पनि अरु हुन सक्दैनन् । संसद भवनको बाहिर नेताहरू देख्दा मनमनै यस्तै कुराहरू खेल्दै थिए ।  अचानक फोन आयो । फोन आमेशको साथी निरजको थियो ।

‘तिमी कहाँ छौँ ?,’ उसले सोध्यो ।

‘बानेश्वर,’ एकशब्दमै मेरो जवाफ टुङ्गियो ।

‘सुनन,’ उस्को स्वर काँपिरहेको थियो ।

ऊ रुन थाल्यो । सुकसुक गर्दै उसले भन्यो, ‘आमेश इज नो मोर ।’

एकछिनसम्म के भयो, भयो ? सबैतिर अन्धाकार भएजस्तो । आँखामा कालो पट्टी बाँधेजस्तो । निरज फोनमा बोलिरहेको थियो, तर मैले केही बुझिरहेको थिइन ।

‘दिदी केही ल्याऊँ ?,’ वेटर भाइको बोलीले मेरो होस फर्कियो ।

‘के भयो हजुरलाई ?,’ उसले फेरि सोध्यो । अनि थाहा भयो– म त भुइँमा लडिरहेको रहेछु ।

काँपिरहेको हातले निरजको नम्बर डाएल गरें । मलाई लिन आउन अनुरोध गरें । ऊ आयो, हामी आमेशको घरतिर लाग्यौं ।

आमा र बहिनी एकनासले रोइरहेका थिए । आमेशको शव पोस्टमार्टमको लागि लागि अस्पताल लगिएको रहेछ । निरज बहिनी र आमालाई सम्हालिरहेको थियो । म सिधै आमेशको कोठामा पुगें । लामो डोरी फ्यानमा भुण्डिएको थियो । टेबलमा छरपस्ट किताबहरू थिए । भित्तामा बब मार्लीको फोटो झुण्डिएको थियो । ऊ बब मार्लीको ठूलो फ्यान थियो । बाटोमा हिँड्दा पनि उसलाई मसँग बोल्नभन्दा बढी बब मार्लीको गीत सुन्न मन पराउथ्यो ।

उसको बुक र्याक हेरेँ । उसको फेबरेट कलर निलो थियो । उसले पढ्ने हरेक किताबमा निलो कलरको गाता हाल्ने गथ्र्यो ।  टेबल मुनी कुनामा एउटा निलो कलरको डायरी देखें । बिस्तारै डायरी खेले उसले आफू र आफ्नो प्रेमिकाको स्केच बनाएको रहेछ । स्केच कता कता चिनेजस्तै लाग्यो ।

‘के छेकिन्थ्यो सूर्यलाई हातले, गर्नु गर्यो जातले,’ उसले डायरीको पहिलो पानामा लेखेको थियो ।

यस कुमारको यो गीतले कुनै बेला धेरै लोकप्रियता कमाएको थियो । हुन त अहिले पनि यो गीत उत्तिकै लोकप्रिय छ । ‘मैले छोएको पानी चल्दैन’ नामक यो गीतले त्यति बेला यस कुमारको पहिचानसँगै समाजमा जातिय छुवाछुतकै कारण प्रेम सम्बन्ध भए पनि उनीहरूको परिवार, जात,  समुदायसँग मेल नखाँदा प्रेममा परेको त्यो दुखान्त वर्णन गरिएको थियो ।  

म सम्झिन्छु त्यो दिन जुन दिन एक जना सुत्केरी दिदी भेटेर फर्किंदा सिभिल अस्पतालको चौरमा बसेर बदाम खाँदै कुरा गरेको । आमेशले प्रश्न गरेको थियो, ‘यदि तिम्रो प्रेम सम्बन्ध कुनै  दलित केटासँग भएको भए के गथ्र्यौ ?’

मैले त्यो बेला धेरै नसोची जवाफ दिएको थिएँ, ‘यदि यस्तो भएको भए घर परिवार र समाजले त पक्कै स्वीकार्दैनथ्यो होला । सायद म भागेरै बिहे गर्थे होला ।’

‘किन साधेको तिमीले ?,’ मैले उसलाई सोधें ।

‘यसै सोध्न मन लाग्यो,’ उसको आवाजमा कुनै जोश थिएन ।

आमेशलाई ढाडस दिँदै भनें, ‘परिर्वतन एकैचोटि सम्भव नहोला । हिजोबाट आजमा फर्किदा केही परिवर्तन त भयो । तर पनि पूर्णरूपमा भेदभाव र छुवाछुत हट्न अझै केही समय लाग्छ ।’  

‘हाम्रो समाजले २१औँ शताब्दीमा पनि अन्तरजातीय प्रेम र विवाहलाई किन स्वीकार गर्न सकिरहेको छैन ? तिमी आफैँ भनन त ? तिम्रो वुवा नेपाली पढाउने शिक्षक हो । तिम्रो परिवारमा सबै जना शिक्षित हुनुहुन्छ । यदि तिमीले मेरो सम्बन्ध समाजमा भनिने शब्द दलित केटीसँग छ भनेउ भने एक बचनमा ‘अ हुन्छ, बिहे गर । तेरो खुसी नै हाम्रो खुसी हो’ भन्नुहुन्छ होला र ?,’ मैले उसलाई सोधें ।

मेरो बेली सकिन नपाउँदै उसले भन्यो, ‘मैले एक दिन जिस्किँदै म त अन्तरजातीय बिहे गर्ने हो के भनेको थिएँ, घरमा खाना खाने बेला सबैले खाउँला कि जस्तै गरेर मलाई हेर्नु भयो ।’ यो भनिरहँदा उसको मुहारमा निराशा छाएको थियो । मैले कुममा धाप मार्दै भनें, ‘हेर आमेश अझै पनि  आफूलाई चेन्ज मेकर भन्न रुचाउने या समाज रूपान्तरण गर्छु भनेर हिँडेका नेता, अभियन्ता, वकिल, पत्रकार, लेखक, शिक्षक लगायतले सन्तानले अन्तरजातीय प्रेम गरेको थाहा पाए सजिलै स्वीकार गर्दैनन् । अझै पनि लब सब गरे पनि जात हेर्नु हैँ वावु भन्ने गरेको सुनिन्छ ।’

आमेश हरेक दिन डायरी लेख्ने रहेछ । उसले डायरीमा लेखेको छ, ‘दिनभरी कुरा गर्दा पनि मैले मेरो सम्बन्धको बारेमा नजिकको साथीलाई भन्न सकिन–  म सम्बन्धमा छु । त्यो पनि दलित केटीसँग ।’

डायरी पढ्दा मलाई निकै गाह्रो भइरहेको थियो । उसले हाम्रो हरेक भेट डायरी कैद गरेको रहेछ । पछिल्लो भेटमा उसले ‘अब एक हप्ता नभटम् है’ भन्दाको दिनसम्मको सबै कुरा थियो । मलाई त्योभन्दाको दिन ऊ पूर्व योजनामा रहेछ ।

आमेशका हरेक लेखाइमा सामाजिक विभेद, छुवाछुत र गरिबी भेटिन्थे । उसकी प्रेमिका सुदूरपश्चिम जिल्लाकी एक शिक्षिका रहिछन् । कामको सिलसिलामा उ सुदूर जाँदा भेट भएर विगत ५ वर्षदेखि उनीहरू सम्बन्धमा रहेछन् । आमेश अलि अन्तरमुखी स्वाभावको थियो । जसको कारण उसको धेरै कुरा बुझ्न सकिदैनथ्यो । उसले भने अनुसार उसका २–४ जना मात्रै साथी थिए ।

मध्यम वर्गीय परिवारको आमेशलाई स्कलरसीपमा बाहिर पढ्न जाने ठूलो रहर थियो । उसको त्यो सपना अधुरै रह्रयो ।

देशको  शिक्षा प्रणाली, निजामती कर्मचारी सबैमा ऊ समस्या देख्थ्यो । ऊ जहिले पनि देश र युवा राजनीतिको कुरा गरिरहन्थो । ऊ अन्तर्राष्ट्रिय स्तरको नेताहरूको कुरा गथ्र्यो । उसलाई हेर्दा कहिल्यै यो लाग्दैनथ्यो कि उ एकदिन आत्महत्या गर्नेछ ।

उसको गुनासो सधैँ एउटै हुन्थ्यो– नेपालमा अब युवाको भविष्य के ? कहिले काहीं उ यस्ता कुरा गथ्र्यो म पटक्कै बुझ्दैनथें । कहिलेकाहिँ ऊ मंगल ग्रहमा बस्ती बस्ने/नबस्ने कुराले पनि दुःखी हुन्थ्यो । ऊ बिल्कुलै फरक लाग्थ्यो मलाई । आफ्नो बारेमा कम कुरा गथ्र्यो । तर समाजप्रति उसको धेरै नै मतभेद रहेको थियो । उसको डायरीको अन्तिम पानामा समाज प्रतिको धेरै नै गुनासो थियो । 

डायरीमा उसले आफ्नी प्रेमिकालाई सम्बोधन गर्दै लेखेको छः

मलाई थाहा छ म जे गर्दै छु यो कयरता हो । म  यो बेला होसमा छैन । तिमी र म बीचको दूरी बढाउने यो समाज हो । म माफीका लागि योग्य छैन । तर म हार खाएको छु । जीवन सोचे जस्तो हुँदैन, जो छ जस्तो छ त्यस्तैमा रमाउन पर्छ भन्छन् मान्छेहरू । तर म अब यो अभावपूर्ण जिन्दगीलाई अन्त्य गर्नेछु । भन्नेहरूले भन्ने छन्, मेरो आत्माले शान्ति पाउने छैन । तर मलाई यो विश्वास छ । म शान्त हुनेछु ।

उही तिम्रो प्रिय

जीवन र जगतसँगको लडाइँमा हारेको एक प्रेमी

यो डायरी कसैको हात लाग्नु अघि नै मैले संसार छोडिसकेको हुनेछु । मलाई कायर नभनिदिनु होला । मलाई कायर बनाउने यो समाज हो ।

डायरी सकियो ।

बिस्तारै १३ औँ दिन पनि सकियो । तर मलाई आमेश मेरै वरिपरि छ जस्तो लागिरह्यो । उसले गर्ने कुरा र उसको कन्फिडेन्ट देखेर मलाई कहिले लागेको थिएन– उसले यो कदम उठाउला ।

उसको सम्झनामा हरेक दिन म यहीँ कफी सपमा आउने गर्छु । हरेक पटकको बसाइँमा मलाई आत्महत्यालाई मानिसले कसरी विकल्पको रूपमा लिन सक्छन् भन्ने कुराले सताइरहन्छ ।

मैले पछिल्लो समयको तथ्याङ्क हेरें– नेपालमा आर्थिक बर्ष २०७४/७५ देखि २०७७/७८ सम्म आइपुग्दा १४.०४ प्रतिशतले आत्महत्या बढेको छ । आत्महत्या आफैँमा कायरता हो । तर संवेदनशील मानिस र अन्तर्मुखी मानिसमा यो समस्या धेरै देखिने मनोविदहरूको धारणा छ । आखिर कहिलेसम्म ? आमेशको घटनापछि मैले केही मनोवैज्ञानिकसँग भेटेँ । केही पुस्तक पनि पढें । पछिल्लो समय मानिसहरूमा बढेको एक्लोपनले पनि आत्महत्या बढिरहेको विज्ञ बताउँछन् । मानिसहरूको बढ्दो व्यस्तताको कारण परिवार समाज साथी भाइलाई समय दिन सकिरहेका छैनन् । समस्या सुनाउने र सुनिदिने मान्छेको अभाव बढिरहेको छ । बढ्दो उदासीनताले समस्या बढाइरहेको  छ ।

सबैभन्दा ठूलो कुरा हो– परिवार । परिवारले धेरै समस्या समाधान गर्न सक्छ । एकले अर्कोको समस्या सुनिदिने बानी, माया  र सद्भाव बढाउँदै लगे र घर, साथीसँग खुलेर कुरा गर्ने तथा समस्या राख्ने बानीको विकास गरे आत्महत्या पक्कै पनि घट्ने निश्चित छ । त्यसैले एकअर्कालाई सुन्ने बानी गरौं र बसालौं ।

  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार १९:०:३८,   अन्तिम अपडेट : पुस १९, २०७८ साेमबार १७:४२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया