logo-img

बालबालिका प्रयोग गरेर लागुऔषध कारोबार

दाङमा ला​गुऔषध कारोबारमा बालबालिकाहरूको प्रयोग देखिएको छ । लागुऔषध कारोबारीहरूले महिना र बालबालिकाको प्रयोग गरेको प्रहरीले बताएको छ । मुख्य कारोबारी नभेटिने र उनीहरूले कम उमेरकालाई बेचविखनका लागि परिचालन गर्ने प्रहरीले विभिन्न समयमा पक्राउ गरेको व्यक्तिहरूबाट प्रस्ट हुने गरेको छ । 

पछिल्लो समय प्रतिबन्धित लागुऔषधको कारोबार बढ्दै गएको छ । प्रहरीले दैनिकजसो जिल्लाका विभिन्न ठाउँबाट लागुऔषध कारोबारीलाई पक्राउ गरी उनीहरूलाई सार्वजनिकसमेत गर्ने गरेको छ । लागुऔषधको कारोबारमा २५ वर्षदेखि माथिको उमेर समूह सक्रिय बन्दै गइरहेका बेला पछिल्लो समय २० वर्षमुनिका व्यक्तिहरूको प्रयोग बढ्दो देखिएको छ । किशोर–किशोरीसमेत लागुऔषधको कारोबारमा संलग्न हुन थालेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार प्रतिबन्धित लागुऔषध (ब्राउन सुगर)सहित दुई दिनमा तुलसीपुरबाट दुई किशोरीसहित पाँचजना पक्राउ परेका छन् भने पुस महिनामा मात्रै तुलसीपुर क्षेत्रबाट लागुऔषध कारोबार गर्ने करिब २४ जना व्यक्तिलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुई दिनको अवधिमा ३ महिला र २ पुरुषलाई लागुऔषधसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ की १९ वर्षीया मन्दिरा थापा, सोही वडाकै १९ वर्षीय दिपु नेपाली, तुलसीपुर–६ बरुवागाउँ निवासी २४ वर्षीय उर्मिला चौधरी रहेका छन् । यसैगरी तुलसीपुर–६  बरुवा गाउँकै २९ वर्षीय रुद्रमणि पोखरेल शर्मा र तुलसीपुर–७ सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली रहेका छन् ।

पक्राउ परेका उनीहरूको साथबाट ५ ग्राम ७ सय १० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया