कोरोना खोप वितरणमा सुदूरपश्चिम, कर्णाली, प्रदेश २ पछाडि

कोरोना खोप लगाउनमा सुदूरपश्चिम, कर्णाली र प्रदेश २ पछाडि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार धनगढीमा भएको कार्यक्रममा मन्त्रालयले यस्तो जानकारी गराएको हो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक अनुज भट्टचनले बागमती, गण्डकी र प्रदेश नम्बर १ को तुलनामा सुदूरपश्चिम, कर्णाली र प्रदेश नम्बर २ कोरोना खोप लगाउने कार्यक्रम निकै पछि रहेको तथ्यांक प्रस्तुत गरे । उनका अनुसार पहिलो र दोस्रो मात्राको खोप पुस मसान्तसम्ममा देशभर ६६ प्रतिशत पुर्याउने लक्ष्य राखिएकोमा अहिलेसम्म पहिलो खोप ६५ र दोस्रो खोप ५२ प्रतिशतले मात्र लगाएको उनले बताए ।

सो अवस्था प्रदेशगत रुपमा बागमतीमा खोप लगाउने दर पहिलो ७६ दोस्रो ७२, गण्डकीमा पहिलो ८२ दोस्रो ७३, लुम्बिनीमा पहिलो ७१ दोस्रो ४४, सुदूरपश्चिममा पहिलो ६० दोस्रो ४६, कर्णालीमा पहिलो ५१ दोस्रो ४०, प्रदेश नम्बर २ मा पहिलो ४८ दोस्रो ३७ र प्रदेश नम्बर १ मा पहिलो ६२ दोस्रो ४८ प्रतिशत खोप पुगेको छ ।

सुदूरपश्चिममा बाजुरा, कञ्चनपुर र दार्चुलामा भने खोपको अवस्था राम्रो रहेको छ । बाजुरामा ९०, कञ्चनपुर ७५ र दार्चुला ७३ प्रतिशतले खोप लगाएका छन् । सबैभन्दा धेरै जनसंख्या भएको कैलालीमा अहिलेसम्म ५४, बझाङमा ५०, डोटीमा ४५, अछाममा ५४ , र डडेल्धुरामा ४८ प्रतिशतले खोप लगाएका छन् ।

सुदूरपश्चिममा १२ वर्षमाथिकाको लक्षित संख्या २२ लाख ८३ हजार २१७ रहेकोमा अहिलेसम्म १३ लाख ६२ हजार ४८६ जनाले मात्रै खोप लगाएका छन् । 

कार्यक्रममा संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले कोभिड १९ को महामारीबाट जोगिन संघ, प्रदेश, स्थानीय तहसँग थप समन्वय नहुँदा समस्या हुने गरेको बताए । ‘संविधानमा तीन सरकार आफैँ स्वायत्त छन्’, मन्त्री खापुङुले भने, ‘त्यसले गर्दा पनि होला समन्वय हुन नसकेको ।’ तर, काम गर्दा समन्वय अति आवश्यक रहेको उनले बताए ।



खोपमा काठमाडौमा हल्ला भएभन्दा सुदूरपश्चिममा सन्तोषजनक भएको मन्त्री खापुङले बताए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले खोप ढुवानी गर्ने साधनको अभावमा पनि कतिपय स्थानमा खोप कार्यक्रम प्रभावकारी हुन नसकेको बताए । उनले सुदूरपश्चिमेलीहरु काममा लागि भारत धेरै जाने भएकोले राष्ट्रिय लक्ष्य पूरा हुन कठिनाइ हुने पनि बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्य सचिव मधुसुधन बुर्लाकोटीले भारत जाने नेपाली र भारतबाट आउने भारतीयले एकअर्कोको देशमा खोप कार्डका आधारमा दोस्रो खोप लगाउने व्यवस्था राजनीतिक तहबाट पहल हुनुपर्ने बताए । 



स्वास्थ्य कार्यालय अछामका झनक ढुंगानाले अछाममा जनसंख्या धेरै देखिए पनि धेरै नागरिक भारत र रोजगारीमा गएकाले लक्ष्यअनुसार कोरोना खोप दिन कठिनाइ हुने बताए । 

कैलालीका स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले कोेरोना रोकथाम तथा नियन्त्रणका लागि बसपार्क, भन्सारलगायत क्षेत्रमा समेत खोप लगाउने व्यवस्था गरिएको बताउँदै गोठालो जानेलगायतका समूहलाई खोपमा समेट्न कठिन भएको बताए । उनले बुढापाकालाई वृद्धभत्तामा जोडेर खोप कार्यक्रममा सहभागी गराउनुपर्ने बताए । 

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भौगोलिक विकटता, इन्टेरनेटको समस्या, कर्मचारीको सेवा सुविधा राम्रो नहुनु, कर्मचारीले समयमै पारिश्रमिक नपाउनु, खोपमा विश्वास नहुनुले पनि खोप कार्यक्रम अपेक्षा गरिएजस्तो प्रभावकारी हुन नसकेको बताए । उनले महिला स्वयंसेविकालाई राम्रो सुविधा दिएर परिचालन गर्दा कोभिड विरुद्धको खोप कार्यक्रम प्रभावकारी हुने विश्वास समेत व्यक्त गरे । 

सरकारी तथ्यांकमा सुदूरपश्चिम र कर्णाली प्रदेश कोरोना खोपमा पछाडि रहेको देखिएपछि राज्यमन्त्री खापुङसहितको टोली धनगढी पुगेको हो ।

  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार २२:५१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया