राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजबाट

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ । अर्को महिना ओमानमा हुने आइसिसी टी–२० विश्वकपको ग्लोबल छनोटका लागि टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु गर्न लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति भएपछि प्रशिक्षण सुरु हुन लागेको हो । यस अघि क्यानले आइतबारबाट प्रशिक्षण सुरु गर्ने निर्णय गर्दै खेलाडीलाई शनिबारसम्म रिपोर्टिङ गर्न अनुरोध गरेको थियो ।

कारबाहीमा परेका चारसहित १४ खेलाडीले रिपोर्टिङ नगरेपछि प्रशिक्षण प्रभावित बनेको थियो । क्यानले २९ मंसिरमा तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई जिम्मेवारीबाट हटाउँदै सन्दीप लामिछानेलाई कप्तान बनाउने निर्णय गरेको थियो ।

केन्द्रीय सम्झौताको विषयमा क्यानसँगको सम्झौताविपरीत सञ्चारमाध्यममा अभिव्यक्ति दिएको भन्दै क्यानले मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौताबाट सुरुको ६ महिना बाहिर राख्ने निर्णय पनि गरेको थियो ।

क्यानले कारबाहीमा परेका चार खेलाडीलाई केन्द्रीय सम्झौतामा समावेश गराउने भएपछि सहमति बनेको हो ।  टोलीको कप्तानी भने सन्दीपले नै गर्नेछ । क्यानको छनोट समिति र मुख्य प्रशिक्षक पुबुदु दसानायाकेले प्रशिक्षणका लागि ३० खेलाडी छनोट गरेका छन् ।

बन्द प्रशिक्षणमा परेका खेलाडी : सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भर्तेल, शरद भेषवाकर, करण केसी, सोमपाल कामी, आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुशन भारी, पवन सर्राफ, विक्रम सोब, प्रदिप ऐरी, नन्दन यादव, रोहितकुमार डौडेल, भिम सार्की, गुल्सन झा, विवेक यादव, किशोर महतो, जितेन्द्र मुखिया, राजेश पुलामी, सौरभ खनाल, हरिशंकर शाह र सागर ढकाल । 





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार ८:५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया