राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा १४ खेलाडी मात्र सहभागी

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको सोमबारबाट सुरु भएको बन्द प्रशिक्षणमा १४ खेलाडी मात्र प्रशिक्षणमा सहभागी भएका छन् । 

६ खेलाडी आइतबार राति होटल पुगेकाले प्रशिक्षणमा सामेल नभएका र नौ खेलाडी पिसिआर परीक्षणको तयारीमा रहेको र रिपोर्ट आएपछि मात्र उपस्थित हुने जानकारी दिएको क्यानले जनाएको छ ।

कप्तान सन्दीप लामिछाने भने हाल अस्ट्रेलियामा बिग बास लिग खेलिरहेकाले प्रशिक्षणमा सहभागी छैनन् । मुख्य प्रशिक्षक पुबुदु दसानायकेले टी–२० विश्वकपको ग्लोलब क्वालिफायरका लागि बिहीबार सन्दीपको कप्तानीमा ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए ।

शनिबारसम्म प्रशिक्षणमा बोलाइएका खेलाडीले होटल रिपोर्टिङ गर्ने र आइतबारबाट प्रशिक्षण सुरु गर्ने बताइएको थियो । तर क्यान बोर्ड बैठकले अनुशासनको कारबाही गरेका चारसहित अन्य १२ खेलाडीले सहभागी हुन अस्वीकार गरेपछि आइतबारको प्रशिक्षण प्रभावित बनेको थियो ।

क्यान पदाधिकारी र ज्ञानेन्द्र मल्लबीच आइतबार नै भएको छलफल सहमतीमा टुङ्गिएपछि राष्ट्रिय टोलीले सोमबारबाट बन्द प्रशिक्षण थालेको हो । 

मंसिर २९ मा बसेको क्यान बोर्ड बैठकले आफु विरुद्ध मिडियामा बोलेको भन्दै तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई पदबाट हटाउँदै सन्दीप लामिछानेलाई कप्तान बनाउने निर्णय गरेको थियो । 



त्यस्तै, क्यानले यी दुई सहित सोमपाल कामी र कललसिंह ऐरीलाई सन् २०२२ को केन्द्रिय सम्झौताबाट ६ महिना बाहिर राख्ने निर्णय पनि गरेको थियो ।  

अब सहमतिपछि खेलाडीको कारबाही फिर्ता हुने भए पनि कप्तान भने सन्दीप नै रहने छन् ।    



  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १३:४०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया