पछिल्लो केही समययता नेपाली क्रिकेट नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीचको विवादले चर्चामा छ । अहिले पनि यो विवाद पूर्णरूपमा समाधान भइसकेको छैन । ग्रेडिङको विषयमा जानकारीबिना सञ्चारमाध्यममा बोलेको भन्दै क्यानले कारबाहीका साथै कप्तान र उपकप्तानलाई पदबाट हटाएपछि विवाद उत्कर्षमा पुगेको हो ।
क्यानसँगको सम्झौता विपरित बोलेको भन्दै क्यानले २५ कात्तिकमा तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई स्पष्टिकरण सोधेको थियो । खेलाडीले ३० कात्तिकमा जवाफ दिएपनि क्यान सन्तुष्ट हुन सकेन ।
बरु ज्ञानेन्द्रसहित १९ खेलाडीले हस्ताक्षर गर्दै ५ मंसिरमा ११ बुँदे मागसहित सात दिनको समय दिँदै क्यानसँगै नै वर्गीकरणबारे स्पष्टिकरण सोधे । त्यसपछि झन् रुष्ट बनेको क्यानले ८ मंसिर मा तीन दिनको समय दिँदै दोस्रोपटक स्पष्टिकरण सोध्यो।
२९ मंसिरमा बसेको क्यान बोर्ड बैठकले ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाउने निर्णय गर्दै सन्दीप लामिछानेलाई कप्तान बनाउने निर्णय गर्यो । साथै, क्यानले ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल र कमललाई सन् २०२२ को केन्द्रीय सम्झौताबाट ६ महिना बाहिर राख्ने निर्णय पनि गर्यो । क्यानको यो निर्णयको खेलाडीलगायत केही क्यान पदाधिकारीले नै विरोध गरे ।
कारबाहीमा परेका ४ खेलाडीले आफूमाथि गरेको कारवाही फिर्ता लिनुपर्ने माग राखेका थिए । विवाद चलिरहँदा क्यानले अर्को महिना ओमानमा हुने आइसिसी पुरुष टी-२० विश्वकपको ग्लोबल छनोटका लागि बन्द प्रशिक्षणमा ३० खेलाडीलाई बोलायो । जसमा कारबाहीमा परेका चार खेलाडी पनि अटाएका छन् ।
क्यानले आइतबारबाट बन्द प्रशिक्षण सुरु गर्ने भने पनि ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल र कमलसहित १२ खेलाडीले बन्द प्रशिक्षणमा नजाने बताए । त्यसपछि आइतबार नै क्यान पदाधिकारी र ज्ञानेन्द्रबीच भएको छलफलमा क्यानले खेलाडीमाथि लगाएको कारबाही हटाउने तथा खेलाडी पनि बन्द प्रशिक्षणमा फर्कने सहमति भयो ।
क्यानले खेलाडीमाथिको कारबाही हटाउने भए पनि टोलीको कप्तानी भने सन्दीप लामिछानेलाई दिने भएको छ । विगतमा उपकप्तान नै कप्तान बन्ने चलन थियो । तर, यसपटक भने क्यानले विगतको चलनलाई तोड्दै सन्दीपलाई कप्तान चयन गरेको छ । घरेलु प्रतियोगितामा कप्तानी गरेको अनुभव भएपनि सन्दीप पहिलोपटक सिनियर राष्ट्रिय टोलीको कप्तानी सम्हाल्दै छन् । महत्वपूर्ण समयमा टिमको कप्तानी सम्हाल्न लागेका उनीसामु चुनौतीका साथै अवसर पनि छन् ।
कप्तानकाे रूपमा सन्दीपका मुख्य चुनौती
असन्तुष्ट पक्षलाई मिलाउनु
सन्दीपसामु रहेको सबैभन्दा ठूलो चुनौती हो असन्तुष्ट खेलाडीलाई मिलाएर लैजानु । असन्तुष्ट खेलाडीले आफूलाई कप्तान मान्न तयार नभइरहेको अवस्थामा उनीहरूलाई मनाउन पनि सन्दीपलाई चुनौती हुने देखिन्छ ।
२१ वर्षीय लामिछानेले अब पूर्वकप्तान, उपकप्तानसहित धेरै सिनियर खेलाडीको नेतृत्व गर्नु पर्नेछ । साथै, पछिल्लो समय क्यान र खेलाडीबीच देखिएको विवाद समाधान गर्न पनि भूमिका खेल्नुपर्ने देखिन्छ ।
मानसिक दबाब
टिम सदस्यभन्दा कप्तानको पदमा रहँदा खेलाडीमा बढी मानसिक दबाब हुन्छ । सन्दीपले अचानक राष्ट्रिय टोलीको कप्तानी गर्ने मौका पाउँदैछन् । यो उनका लागि चुनौती बन्न सक्छ ।
घरेलु प्रतियोगितामा कप्तानी गर्नु र अन्तर्राष्ट्रिय खेलमा कप्तानी गर्नु फरक कुरा हो । सन्दीपसँग घरेलु कप्तानी गरेको पनि लामो अनुभव छैन । साथै, घरेलु प्रतियोगितामा उनको कप्तानी पनि सन्तोषजनक रहन सकेन ।
क्यानले सन्दीपसँग अन्तर्राष्ट्रिय लिगको राम्रो अनुभव भएकाले कप्तानीको जिम्मेवारी दिएको बताएको छ । कप्तान भएपछि सन्दीपले खेलाडी व्यवस्थापन, प्रतियोगिता, प्रतिस्पर्धी, पिचमा लिने निर्णयलगायतका विभिन्न विषयमा दबाबको सामना गर्नु पर्नेछ ।
प्रदर्शनमा सुधार
सन्दीपले अब आफ्नो मात्र नभएर सम्पूर्ण टोलीका सदस्यको प्रदर्शनमा कसरी सुधार ल्याउने भन्ने कुरामा ध्यान दिनुपर्नेछ । पछिल्लो समय उनी स्वंयमको प्रदर्शन आशा गरिएअनुसार हुन सकिरहेको छैन । टोलीको सुधारलाई अन्य विविध विषयले पनि निर्धारण गर्छन् ।
तर, यसमा कप्तानको प्रभावकारी भूमिका पनि उत्तिकै हुन्छ । सन्दीप कप्तान बन्न लायक छैनन् भन्ने आवाज पनि सुनिन थालेको छ । यसले सन्दीपलाई झनै दबाब दिने काम गरेको छ । सन्दीपले आफूलाई सफल कप्तानको रूपमा स्थापित गरेर आलोचकलाई राम्रो जवाफ दिनुपर्नेछ । यो उनका लागि एक मुख्य चुनौती हो ।
उपलब्धिलाई कायम राख्न सक्नु
पछिल्लो एक दशकमा नेपाली क्रिकेट टोलीले धेरै उपलब्धि हासिल गरेको छ । एकदिवसीय मान्यता, टी-२० विश्वकपलगायत विभिन्न उपलब्धि नेपाली टिमले हासिल गरेको छ । यी उपलब्धिलाई कायमै राख्नुका साथै नयाँ सफलता हासिल गर्नमा कप्तानको भूमिका महत्वपूर्ण हुन्छ ।
सन्दीपले अघिल्लो उपलब्धि जोगाइराख्न र नयाँ सफलता गर्न विशेष योजना बनाउनुपर्नेछ । अर्को महिना (फेब्रुअरी) मा नेपालले आइसिसी पुरुष टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ ।
ग्लोबल क्वालिफायरको समूह ‘ए’ नेपालसहित आयरल्यान्ड, क्यानडा, ओमान, युएई, फिलिपिन्स, जर्मनी र बहराइन छन् । यदि आफ्नो समूहको शीर्ष २ मा रहनसके नेपाल दोस्रोपटक टी-२० विश्वकप खेल्ने मौका पाउने छ । यो प्रतियोगितामा सन्दीपको कप्तानी पनि परीक्षण हुनेछ ।
नेपाली समर्थकको अपेक्षा पूरा गर्न
नेपालमा पछिल्लो समय क्रिकेट सर्वाधिक लोकप्रिय खेल बनेको छ । विशेषगरी नेपालमा क्रिकेटप्रति युवाको क्रेज बढ्दो क्रममा छ । समर्थक आगामी क्रिकेटमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गर्नेमा आशावादी छन् ।
नेपाली टिमको मुख्य खेलाडी टिम कप्तान बनिरहेकाले समर्थकले पनि सन्दीपमाथि धेरै अपेक्षा राखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।