‘ए’ डिभिजन लिगको सातौं चरण : मछिन्द्र एएफसी कपमा छनोटदेखि थ्री स्टारको पुनरागमन

शहीद स्मारक ‘ए’ डिभिजन लिगको जारी सिजनको सातौं चरण पनि रोमाञ्चक रह्यो । यही चरणले नै नेपालबाट एएफसी कप छनोट खेल्ने टोलीको टुंगो लगायो । नेपालबाट पहिलोपटक मछिन्द्र फुटबल क्लब एएफसी कपका लागि छनोट भएको हो । 

छैटौं चरणमा मनाङ मर्स्याङ्दीविरुद्ध मछिन्द्रले १–० को रोमाञ्चक जित निकालेपछि एएफसी कप छनोट पुग्ने टोलीको टुंगो सातौं चरणले लगाएको हो । साथै, सातौं चरणमा थ्री स्टारले गोल खडेरी तोड्न सफल भयो ।

यो चरणमा केही अपेक्षा गरिएका टोलीले भने निराशाजनक प्रदर्शन गरे ।  ​ 

मछिन्द्र एएफसी कपमा छनोट  

सातौं चरणमा सबै खेल समर्थकको ध्यान एएफसी कप छनोटमा थियो । मनाङ र मछिन्द्र दौडको शीर्षमा थिए । पुलिस क्लबविरुद्ध मछिन्द्र हारे वा बराबरीमा रोकिए मनाङलाई फाइदा हुने थियो । तर, त्यसो हुन सकेन । अन्ततः मनाङको सपना समाप्त पार्दै मछिन्द्र नै एएफसी कपमा छनोट भयो ।  

एएफसी कप छनोट खेल्नका लिगको शीर्षमा रहनुपर्छ । साथै, सो टिमले  एएफसी लाइसेन्स प्राप्त पनि गरेको हुनुपर्छ । जारी सिजनमा मछिन्द्र, मनाङ, आर्मी र एपिएफसँग एएफसी लाइसेन्स छ । यीमध्ये आर्मी र एपिएफ यसअघि नै एएफसी कप छनोट खेल्ने दौडबाट बाहिरिसकेका थिए । 



खासमा लिगको सम्पूर्ण खेल सकिएपछि तालिकाको शीर्ष स्थानमा रहने टोली एएफसी कप छनोट खेल्न पाउँछ । तर, यसपटक लिग ढिलो सुरु भएकाले अखिल नेपाल फुटबल संघ (एन्फा) ले साताैँ चरणसम्म शीर्ष स्थानमा रहने टोली एएफसी कपमा छनोट हुने नियम बनाएको थियो । 
 
अघिल्लो संस्करणमा लिग विजेता हुँदा पनि एएफसी लाइसेन्स नभएकाले मछिन्द्रले एएफसी कप छनोट खेल्न पाएको थिएन ।  

दुई खेलमा सुनिलको गोल निर्णायक



मछिन्द्र क्लबबाट लिग खेलिरहेका फरवार्ड सुनिल बलको लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मछिन्द्रलाई एएफसी छनोटको यात्रामा पुर्याउन उनी ‘नायक’ सावित भए । सुनिलले पछिल्लो दुई खेलमा लगातार निर्णायक गोल गरेका छन् ।

योसँगै उनी जारी लिगको सात चरण सकिँदा सर्वाधिक गोल गर्ने सूची अर्थात् गोल्डेन बुटको दौडमा पनि शीर्ष स्थानमा उक्लिएका छन् । सुनिलले ५ म्याच खेल्दा ५ गोल गरिसकेका छन् ।

पुलिसविरुद्धको जित्नैपर्ने खेलमा उनकै हेडर गोलले मछिन्द्र विजयी भएको थियो । छैटौं चरणमा कीर्तिमानी क्लब मनाङ मस्याङ्दीविरुद्ध जित निकाल्दा पनि मछिन्द्रको लागि सुनिल ‘हिरो’ भए । उनले इन्जुरी समयमा फ्रिकिकमार्फत गरेको गोल त समर्थकको मनमा ताजै छ ।  

सुनिलको यी दुई गोलले नै मछिन्द्रले एएफसी कप छनोटको यात्रा तय गर्न सफल भएको हो । गोल्डेन बुट दौडमा सुनिललाईसातदोबाटोका मार्टिन्स अजयी र एपिएफका आशिष लामाले समान ४ गोलका साथ पछ्याइरहेका छन् । 

पेनाल्टी मिस 

सातौं चरणमा जारी लिगकै सर्वाधिक २ पेनाल्टी मिस भए । पेनाल्टी मिस गर्नेमा शिशिर लेखी र मार्टिन्स एडेल्फे रहेका छन् । यदि उनीहरू पेनाल्टीमा नचुकेको भए टिम पराजित हुने सम्भावना निकै कम थियो । 

पोखरा रंगशालामा भएको मनाङविरुद्ध भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) का शिशिर लेखीले पेनाल्टी मिस गरेका थिए । उनको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो । खेलको १७ औं मिनेटमा पाएको पेनाल्टी मिस गर्दा मनाङसँग बिबिसी १–० ले पराजित हुन पुगेको हो । 

त्यस्तै, सातौँ चरणको अन्तिम खेलमा हिमालयन शेर्पाविरुद्ध सातदोबाटो युथ क्लबका मार्टिन्स एडेल्फे पनि मेनाल्टीमा चुके । दशरथ रंगशालामा भएको सो खेलको दोस्रो हाफको इन्जुरी समयमा मार्टिन्सले पेनाल्टी मिस गर्दा सातदोबाटोले खेललाई बराबरीमा ल्याउने मौका गुमायो । फलस्वरूप उक्त खेलमा सातदोबाटो १–० ले पराजित हुन पुग्यो ।

विशालको लगातार ६ क्लिन सिट

जारी सिजनमा मछिन्द्र क्लबका गोलरक्षक विशाल श्रेष्ठले लगातार शानदार प्रदर्शन गरिरहेका छन् । उत्कृष्ट प्रदर्शनकै कारण उनले मोरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिममा पनि निरन्तरता पाएका छन् ।  

जारी ‘ए’ डिभिजन लिगमा विशालले ७ खेलमा ६ क्लिन सिट राखेका छन् । सातै खेलमा पहिलो रोजाइमा परेर मछिन्द्रको पोष्ट सम्हालेका उनले न्यू रोड टिम (एनआरटी) विरुद्ध २–१ को जितमा एक मात्र गोल खाए ।  

त्यसयताका ६ खेलमा उनले क्लिन सिट राख्न सफल भएका छन् । उनले लिगको पछिल्लो ५७६ मिनेटमा विपक्षी खेलाडीलाई एक गोल पनि गर्न दिएका छैनन् । पहिलो खेलमा एनआरटीका एरिक विष्टले ५४ औं मिनेटमा फ्रिकिममार्फत मछिन्द्रविरुद्ध उत्कृष्ट गोल गोल गरेका थिए ।

पाँच खेलपछि थ्री स्टारको जित

लिगको सुरुवातमा उपाधि दावेदार मानिएको थ्रीस्टार क्लबले सातौं चरणमा आएर आफ्नो दोस्रो जित हात पारेको छ । पहिलो खेलमा च्यासल युथ क्लब विरुद्ध ३–० को जित निकालेयताका पाँच खेलमा थ्रीस्टारले १ हार र ४ बराबरीको नतिजा निकालेको थियो । 

दोस्रो खेलमा सातदोबाटो युथ क्लबमा १–० को हार बेहोरेको थ्रीस्टार तेस्रो खेलमा फ्रेण्ड्ससँग १–१ को बराबरी खेलेको थियो । चौथो एपिएफसँग, पाँचौं एनआरटीसँग र छैटौं खेलमा आर्मीसँग गोलरहित बराबरी खेलेको थ्रीस्टारले सातौं खेलमा जावलाखेल युथ क्लबमाथि २–१ को जित हात पार्यो ।

हिमालयन शेर्पाको लगातार तीन जित 

‘ए’ डिभिजन लिगको सुरुवातमा लय गुमाएको हिमालयन शेर्पा क्लब सातौं चरणसम्म आइपुग्दा भने लगातार ३ जित हात पार्न सफल भयो । उत्कृष्ट कमब्याक गरेको शेर्पा तालिकाको पाँचौं स्थानमा पनि उक्लिसकेको छ ।

पाँचौं चरणमा बिबिसी क्लब र छैटौं चरणमा च्यासल क्लबविरुद्ध समान ३–१ को जित पारेको हिमालयनले सातौं चरणमा सातदोबाटोविरुद्ध १–० को जित निकाल्न सफल भयो । 

  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १३:२९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया