वर्षमानको संयोग : महाधिवेशन सकिनेबित्तिकै डिस्चार्ज, पदाधिकारी चयनमा गर्नेछन् 'शक्ति' प्रदर्शन

आठ दिनसम्म चलेको आठौं महाधिवेशनमा भाग लिन पाएनन्, माओवादीका प्रभावशालि नेता वर्षमान पुन । संयोग कस्तो परिदियो भने महाधिवेशन सकिनेबित्तिकै उनी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

जण्डिस संक्रमण भएपछि उपचारका लागि थाइल्याण्ड गएका पुन त्यहाँ उपचार सम्भव नभएपछि चीन गएका थिए । ९८ दिनपछि उनी आज चीनको थर्ड पिपुल्स अफ सेनजेनबाट डिस्चार्ज भएका छन् । पुनका स्वकीय सचिव सन्तोष पुनका अनुसार उनी अबको ३ दिनपछि नेपाल फर्किने कार्यक्रम छ ।

महाधिवेशनमा भौतिक रूपमा उपस्थित हुन नपाएका पुन सबैभन्दा बढी चर्चाका पात्र बने । किनभने, अध्यक्षपछि सबैभन्दा महत्वपूर्ण मानिने महासचिव पदको प्रमुख दाबेदार हुन् उनी ।

महाधिवेशन सकेर सोमबार बसेको पहिलो बैठकबाट अध्यक्षसहितका पदाधिकारी चयन हुने बताइएको थियो । तर, अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत निर्वाचित गराएर अर्को बैठक आगामी २५ गते बोलाइएको छ ।

अध्यक्ष प्रचण्डका अनुसार पुन र उनकी श्रीमतीसमेत रहेकी नेतृ ओनसरी घर्ती नेपाल आएपछि मात्र पदाधिकारी चयन उपयुक्त हुने भएपछि २५ गतेसम्मका लागि बैठक सारिएको हो ।

‘हाम्रो कमरेड वर्षमान पुन र ओनसरी घर्ती दुवै जना हाम्रो पार्टीको सिनियर लिडर हुनुहुन्छ । उहाँहरू डिस्चार्ज भएर आउँदै हुनुहुन्छ,’ उनले केन्द्रीय कमिटीको बैठकपछि संचारकर्मीसँग भनेका छन्, ‘उहाँहरूसमेत सामेल भएर एकैपटक पदाधिकारी चयन हुनु उचित हुन्छ भन्ने कारणले नै हामीले २५ गते सारेका हौं ।’



महासचिव पदमा माओवादीभित्रको बहस दिन प्रतिदिन पेचिलो बन्दै गइरहेको छ । पुनसहित नेता जनार्दन शर्मा, पम्फा भुसालले महासचिवमा दाबी गरिसकेका छन् । त्यस्तै, शक्ति बस्नेत, देव गुरुङलगायतका नेताहरूको नाम पनि महासचिवका लागि चर्चामा आएका छन् ।

अध्यक्षमा निर्विरोध निर्वाचित भएका प्रचण्डले केन्द्रीय कमिटीमा पनि २३६ जनालाई सर्वसम्मत चयन गरिसकेका छन् । अब बाँकी १५ जना पदाधिकारीमा को को हुने ? भन्ने आम प्रश्न माओवादी पंक्ति भित्र छ । केन्द्रीय सदस्यमा जनार्दन शर्माले रुचाएका पात्रलाई समेटेर प्रचण्डले महासचिवको रेसबाट शर्मालाई पन्छाउन खोजेका छन् । अहिले अर्थमन्त्रीको जिम्मेवारीमा रहेका शर्मालाई महासचिव बनाउनबाट रोक्न पुन निकटस्थहरूको प्रयास जारी छ ।



वर्षमान नेपाल आएपछि आगामी २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीले पदाधिकारी टुंगो लगाउनेछ । माओवादी एक नेताका अनुसार भौतिक रूपमा उपस्थित नभएर महाधिवेशनबाट पुनले व्यहोरेको जिम्मेवारी महासचिवमा पुनको सहमति जुटाएर मात्रै अघि बढ्न प्रचण्ड राजी भएका छन् ।

पार्टीमा विशेष महत्वका साथ हेरिएको पदाधिकारी चयनमा पुनले नेपाल आएर आफ्नो ‘शक्ति प्रदर्शन’ गर्न पाउने भएका छन् । पुन निकट मानिने धेरै नेताहरू केन्द्रीय सदस्य बन्नबाट रोक लगाइएपछि त्यसबारे प्रचण्डसामु सशक्त आवाज उठाउने पुननिकट नेताहरूको तयारी छ ।

त्यो भनेको, यदी वर्षमान महासचिव नभए पनि उनको चाहनाअनुसार प्रचण्ड चल्नेछन् । पुनको चाहनामा शर्मा नपर्ने निश्चित छ । शर्माका सहोदर भाइ अनिल शर्मालाई केन्द्रीय कमिटीमा समावेश गराइएपछि माओवादी युवा पंक्तिमा असन्तुष्टि चुलिएको छ । उनलाई अखिल क्रान्तिकारीमा हराएका रन्जित तामाङ र त्यसअघिका अध्यक्ष रमेश मल्ल केन्द्रीय सदस्यमा नपर्दा अनिललाई जनार्दनकै जोडबलमा केन्द्रीय सदस्य बनाइएको हो ।

अनिल मात्र होइन, जनार्दनका अरु पारिवारिक सदस्य पनि केन्द्रीय सदस्यमा चुनिएका छन् । एक नेताका अनुसार केन्द्रीय कमिटीमा शर्माको सम्बोधन सुनेर महासचिवको रेसबाट पाखा लगाएर पुनको इच्छाअनुसार महासचिव बनाउने प्रचण्डको तयारी छ । त्यसबारे नेताहरूबीच निरन्तर छलफल भइरहेको स्रोतको दाबी छ ।

  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १४:२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया