राष्ट्रियसभाको बागमती प्रदेशमा रिक्त रहेको २ पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । मंगलबार हेटौँडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
गठबन्धनबाट पौडेल र तिमल्सिना
राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशबाट सत्ता गठबन्धनका तर्फबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसको तर्फबाट कृष्णप्रसाद पौडेल र महिलामा नेकपा एकीकृत समाजवादीबाट मकवानपुरकी गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
पौडेल कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिवसमेत हुन् । २०७४ सालमा शेरबहादुर देउवा सरकारले राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको भए पनि राष्ट्रपतिबाट मनोनयनमा परेका थिएनन् ।
एमालेबाट कुँवर र शाक्य
राष्ट्रियसभा सदस्यका लागि एमालेका तर्फबाट पनि दुई जनाले उम्मेदवारी दिएका छन् । बागमती प्रदेशमा रिक्त रहेको दुई पदमा एमालेबाट सिन्धुलीकी निरकुमारी कुँवर र ललितपुरका गोपाल शाक्यले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेमकिपाबाट तामाङ र काफ्ले
त्यस्तै, नेपाल मजदुर किसान पार्टीका दुई जनाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
नेमकिपाबाट भक्तपुरका गीता काफ्ले र काभ्रेका कृष्णबहादुर तामाङको उम्मेदवारी दर्ता गरेका हुन् ।
बागमती प्रदेशको मतदानका लागि हेटौंडा उपमहानगरपालिका–८ स्थित हेटौंडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदानस्थल तोकिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।