[ब्लग] अनि शेखर कोइरालाले सोधे– ख्वै, ख्वै, मेरो फोटो कस्तो आयो ?
तस्बिर : विजय सिंह

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सकिएको लामो समय भएको छैन । महाधिवेशनमा निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले केही दिनअघि मात्र पदको सपथ लिए, अनि केन्द्रीय कमिटी बैठक बस्यो ।

सोमबार दिउँसो कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा १४ औं महाधिवेशनपछि दोस्रो केन्द्रीय समिति बैठक बोलाइएको थियो ।

दोस्रो बैठक भएकाले पनि हुनुपर्छ, यो बैठकमा अधिकांश नेताहरु पुगेका थिए । म पनि पुगेकी थिएँ, तस्वीर लिन । बैठक निर्धारित समयमा नै सुरु भएको थियो; अधिकांश नेताहरु समयमा नै पार्टी कार्यालय पुगेका पनि थिए । 

बैठक सुरु भएको केही समयमा नै हामी फोटो पत्रकारहरुलाई बैठक कक्षमा बोलाइयो, हामी फोटो खिच्न गयौँ । कांग्रेस पार्टी कार्यालयमा यस्ता बैठकहरुको फोटो खिच्ने क्रम कहिल्यै व्यवस्थित हुन सकेको छैन । केही समयमा लागि मात्र फोटो खिच्न दिइने भएकाले हुनुपर्छ, केही समयमा नै त्यहाँ पुगेका हामी फोटो पत्रकार साथीहरु धकेलाधकेल गर्छौँ, भित्र गएर केही तस्वीरहरु लिन्छौँ । फेरि बैठक चलिरहेको ठाउँमा धेरै बेर बस्न दिइने पनि होइन, १०–१२ मिनेटमा तस्वीर खिचिसक्नु पर्छ । कहिलेकाहीँ त आफूले सोचेको एंगलमा क्यामेरा क्लिक गर्न नै भ्याइँदैन । 

झन्, कांग्रेसमा दोस्रो पटक सभापतिमा निर्वाचित प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा त फोटो खिच्ने कुरामा त्यति रुचि नै देखाउँदैनन् ।

सोमबार कांग्रेस केन्द्रीय समितिको बैठक लामो समय चलेन । हामी फोटो खिचेर बाहिर के निस्किएका थियौँ, भित्रबाट नेताहरु पनि निस्किने क्रम सुरु भयो । बैठक सकिएछ ।



मसँगै फरकधारबाट केन्द्रीय कमिटीको यो बैठकबारे रिपोर्टिङका लागि जङ्ग तामाङजी पनि पुग्नु भएको थियो । उहाँले मलाई भन्नुभयो, ‘जुलीजी मिल्यो भने शेखर कोइरालाका केही तस्वीर लिनु न है ।’

कांग्रेस महाधिवेशनमा कोइराला सभापतिका लागि भएको दोस्रो चरणमा सभापतिमा पराजित भएका थिए । तर, यसपटक सभापति देउवालाई ‘टक्कर’ दिएकाले र पार्टीमा नयाँ धारको विचारलाई प्रश्रय दिन खोजेकाले हुनुपर्छ, उनको चर्चा बढेकै छ । 



मैले कोइरालालाई आफ्नो क्यामेरामा कैद गर्ने सोचेँ ।

ठ्याक्कै १५ मिनेट कुर्नु पर्यो त्यसका लागि । तर, कोइराला वरपरका नेता तथा कार्यकर्ता हट्ने सुरसार नै देखिएन । त्यसपछि मैले कोइराला नजिकै गएर भनेँ– तपाईंको फोटो खिच्न खोजेको मैले ।

कोरोनाभाइरसको नयाँ भेरियन्टको त्रास बढ्दो छ । स्वास्थ्य मापदण्ड हामीले भुल्नु हुँदैन । कोइरालाले पनि मास्क लगाएका थिए । तर, मलाई कोइरालाको यस्तो तस्वीर चाहिएको थियो, जहाँ उनी मास्कले ‘कभर’ नभएका हुन् । 

त्यसपछि मैले कोइरालालाई अनुरोध गरेँ, ‘मास्क खोलिदिनुस् न प्लिज ।’

उनी हाँसे, ‘होइन, नखोलौँ होला ।’ यति भन्दानभन्दै उहाँले हात माथि लगिसक्नु भएको थियो, दुवै हातले मास्क खोल्नु भयो । 

मेरो क्यामेरामा साउन्ड आयो– खिचिक, खिचिक । 

त्यस्तै, ७ वटाजति ‘सट’ लिएको थिएँ मैले । मेरो काम सकियो, मैले कोइरालालाई भनेँ, ‘थ्यांक यु ।’ म त्यहाँबाट फर्किन मात्र के लागेकी थिएँ, कोइरालाको आवाज सुनेँ– ख्वै ख्वै, हेरौँ त कस्तो फोटो आएछ ।

कुनै पनि पार्टीको यो तहको नेताले सार्वजनिक रुपमा फोटो लिँदा पहिलो पटक मलाई यसरी फोटो हेरौँ भन्ने अनुरोध गरेका थिए, थोरै ‘नर्भस’, थोरै अकमक्क भएँ म । 

त्यसपछि क्यामेरा लगेर मैले कोइरालालाई आफूले खिचेका तस्वीर देखाएँ । कोइरालाबाट त्यस्तो अरु केही प्रतिक्रिया त आएन तर उनले एउटा तस्वीरलाई मन पराए ।

‘अरु छाडेर यो एउटा तस्वीर चाहिँ छाप्दा हुन्छ है,’ कोइरालाले भने ।

कोइरालाले मन पराएको यो तस्वीर— 

  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १७:२६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया