श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले शिष्टाचार भेट गरेका छन् ।
मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल–फ्रान्सबीचको आपसी सम्बन्ध र द्दिपक्षीय चासोबारे छलफल भएको थियो ।
सो अवसरमा मन्त्री श्रेष्ठले युरोपका विभिन्न मुलुकमा नेपाली श्रमिकहरु कार्यरत रहेको उल्लेख गर्दै नेपाली युवाका लागि फ्रान्समा रोजगारीका अवसर प्रदान गर्न आग्रह गरेका थिए ।
श्रेष्ठले नेपाल र फ्रान्सबीचको बहुआयामिक सम्बन्धलाई अझ विस्तार गर्न आफू प्रतिवद्ध रहेको समेत बताएका थिए ।
नेपाल–फ्रान्सबीच रही आएको आपसी सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गर्दै मन्त्री श्रेष्ठले फ्रान्सले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक एवं सामाजिक क्षेत्रको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा राजदूत बुर्बाओले नेपाली स्वास्थ्यकर्मीका लागि फ्रान्सको स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुनसक्ने जानकारी दिएका थिए ।
कोभिड महामारीपछि फ्रान्सको पर्यटन उद्योगमा पनि नेपाली श्रमिकहरूका लागि रोजगारी सिर्जना हुने उनले जनाए । राजदूत बुर्बाओले फ्रान्समा रोजगारीका लागि जान भाषा तथा व्यवसायिक तालिमको राम्रो प्रवन्ध हुनुपर्ने बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।