राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा ३ पदमा ६ जना उम्मेदवार, कुन दलको कति मतभार ?

सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यमा रिक्त हुन लागेको तीन पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । एमालेका तीन तथा कांग्रेस, माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका एक–एक जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

एमालेले एक्लै तथा कांग्रेस, माओवादी र समाजवादीले गठबन्धन गरेर उम्मेदवारी दर्ता गरेका हुन् । गठबन्धनका तर्फबाट खुला सदस्यमा कांग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादीका जगत पार्की र महिलातर्फ नेकपा एकीकृत समाजवादीकी मदनकुमारी शाह ‘गरिमा’ले मनोनयन दर्ता गराएका छन् ।

कैलालीका मिश्र कांग्रेसभित्र रामचन्द्र पौडेलनिकट हुन् । कांग्रेसको आन्तरिक निर्वाचनमा उनी प्रदेश सभापतिमा पराजित भएका थिए । डडेल्धुराका पार्की माओवादीका केन्द्रीय सदस्य हुन् । महिलातर्फको सदस्यमा उम्मेदवारी दिएकी शाह समाजवादीको केन्द्रीय सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन् ।

एमालेबाट खुलामा डिल्लीराज भट्ट, दलिततर्फ नरेश विक र महिलातर्फ सन्तोषकुमारी शर्मा थापा मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकारी प्रेम भट्टले जानकारी दिए । भट्ट सुदूरपश्चिमका पुराना वामपन्थी नेता हुन् । उनी एमालेको सल्लाहकार छन् । एमाले प्रदेश कमिटी सदस्य विक बैतडीका नेता हुन् । धनगढीकी नेतृ शर्मा थापा एमाले केन्द्रीय सदस्य हुन् ।

राष्ट्रिय सभामा सुदूरपश्चिमबाट निर्वाचित तीन सदस्यसहित २० जना सदस्यको पदावधि आगामी फागुनमा सकिँदै छ । बहालवाला सदस्यको पदावधि रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन हुनुपर्ने प्रावधानअनुसार आगामी १२ माघमा हुने निर्वाचनका लागि मनोनयन दर्ता गरिएको हो ।



यहाँ ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् । प्रदेशसभामा ५२ जनामध्ये एकीकृत समाजवादी पार्टीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी (राजपा) का एक र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को एकजना प्रदेशसभा सदस्य छन् ।

मतभारअनुसार प्रदेशसभामा एकीकृत समाजवादी सबैभन्दा बलियो छ । यहाँ एकीकृत समाजवादीको मतभार ६७२ छ । त्यस्तै, माओवादी केन्द्रको ६२४, नेपाली कांग्रेसको ५७६ र एमालेको ५२८ मतभार छ । राजपा र लोसपाको ४८–४८ मतभार छ ।



प्रदेशसभा सदस्यमा तेस्रो स्थानमा रहेको कांग्रेस स्थानीय तहमा भने पहिलो स्थानमा छ । १७५ मतदातामध्ये सुदूरपश्चिममा कांग्रेसका ७४ मतदाता रहेका छन् भने एमालेका ७१ जना छन् । त्यस्तै माओवादीका १७ जना र एकीकृत समाजवादीका १३ जना मतदाता रहेका छन् ।

कांग्रेसको मतभार १ हजार ३ सय ३२ छ भने एमालेको १ हजार २ सय ७८ छ । माओवादीको ३ सय ६ रहेको छ भने एकीकृत समाजवादीको मतभार २ सय ३४ छ ।

स्थानीय तह र प्रदेशसभाको मतभार हेर्दा कांग्रेस सबैभन्दा बलियो छ । कांग्रेसमा प्रदेशसभा र स्थानीय तहको मतभार जोड्दा १ हजार ९ सय ८ हुन आउँछ । त्यस्तै एमालेको १ हजार ८ सय ४ छ भने माओवादीको ९ सय २७ र एकीकृत समाजवादीको ९ सय ६ कुल मतभार छ ।

  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १९:२४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया