अन्य जिल्लामा प्रशंसा पाएका प्रजिअ तामाङ चितवन पुग्दा ‘माछा काण्ड’ का कारण आलोचित

सिन्धुपाल्चोक, मकवानपुर, पर्सा र धादिङमा प्रमुख जिल्ला अधिकारी रहँदा सहसचिव अस्मान तामाङले राम्रै चर्चा पाए । सिन्धुपाल्चोकमा प्रमुख जिल्ला अधिकारीबाट मकवानपुरमा सरुवा हुँदा ‘जहाँ इस्यु, त्यहिँ एक्सन’ भन्दै तामाङले सक्रियताको साथ काम गरेका थिए ।

जिल्लावासीले उनको सक्रियताको पनि प्रशंसा गरे । अघिल्लो वर्ष उनले राष्ट्रपतिबाट सुप्रबल जनसेवाश्री तृतीय पनि प्राप्त गरेका थिए । मकवानपुरमा अनुगमन र कालोबजारी नियन्त्रणलाई उच्च प्राथमिकता दिएका प्रजिअ तामाङले पर्सा र धादिङमा पनि सोही कार्यलाई निरन्तरता दिए । तर, उनलाई चितवन भने फापेन । 

प्रजिअ तामाङले आफू ठगिएको भन्दै १८ पुसमा भरतपुर महानगरपालिका–७ मा रहेको चितवन फिस हाउसमा सिलबन्दी गरे । प्रजिअ नै ठगिएको भन्दै जिल्ला प्रशासनले सो फिस हाउसको फ्रिजमै तालाबन्दी गरेको हो । 

प्रजिअ तामाङले व्यवसायीमाथि मुद्दा चलाउने बताएका छन् । तर, व्यवसायीहरू भने सिडिओ तामाङ पूर्वाग्राही भएको आरोप लगाउँछन् । मत्स्य व्यवसायी संघले विज्ञप्ति नै जारी गर्दै प्रजिअ तामाङको कदमको विरोध गरेको छ ।

संघका अनुसार प्रजिअ तामाङकी श्रीमती आइतबार सरकारी गाडी लिएर मत्स्य व्यवसायी संघका अध्यक्ष खगेन्द्र सुवेदीको अक्वा ब्रिडर्स नेपालमा पुगेकी थिइन् । माछा किन्न चितवन फिस हाउसका सञ्चालक लुलाराज तामाङ पनि दिव्यनगरमै  थिए । 



प्रजिअकी श्रीमती पुग्दा पोखरीबाट निकालेको माछा बिक्री भइसकेको थियो । लुलाराजले पोखरीबाट आफूले खरिद गरेको माछा प्रजिअकी श्रीमतीलाई प्रतिकिलो ३०० रुपैयाँका दरले ५.३ केजी बिक्री गरे ।

व्यवसायीका अनुसार बाँकी माछा लिएर लुलाराज आफ्नो पसलतिर लागे । आइतबार बेलुकी ५ बजेपछि प्रजिअ तामाङ, उनकी श्रीमती र सहायक प्रमुख जिल्ला अधिकारी भरतपुर–७ मा रहेको लुलाराजको पसल चितवन फिस हाउसमा पुगे । 



राम्रोसँग अवलोकन नै नगरेर प्रजिअ तामाङले आफूमाथि अपशब्द प्रयोग गरेर गालीगलौज गरेको लुलाराजले बताए । साथै, फ्रिजमा ताला लगाएर प्रशासनको टोली फर्किएको उनले बताए ।  

प्रजिअ तामाङले व्यक्तिगत स्वार्थका कारण आफूमाथि दुर्व्यवहार गरी माछा राखेको डिप फ्रिजमा ताला लगाएको लुजाराजको आरोप छ । त्यसपछि याे विषयलाई समाधान गर्न सोमबार नै सहायक प्रजिअ चिरञ्जीवी शर्मासँग छलफल भएको थियो । तर, सहमति जुट्न सकेन । 

प्रजिअ तामाङले व्यवसायी माथि कालोबजारीको मुद्दा चलाइने बताएका छन् । व्यवसायीले २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने भए पनि सोभन्दा बढी नाफा लिएको पाइएपछि कालोबजारीको मुद्दा चलाएर कारबाही गर्ने उनको अडान कायमै छ । 

उक्त घटनापछि उनले सामाजिक सञ्जालमा दुःख र व्यंग्यसमेत व्यक्त गरेका छन् । ‘ज्यादै दुःखको विषय, प्रमुख जिल्ला अधिकारी आफैंमा व्यक्ति होइन संस्था हो । म ठगिएको विषय उपभोक्ता विषय मात्रै हो । आजको सञ्जाल हाहाहा..।’

  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १२:४०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया