राष्ट्रियसभा निर्वाचन : एमाले–राप्रपा सहकार्यको तयारी !

राष्ट्रियसभा निर्वाचनमा प्रमुख विपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सहकार्य हुने भएको छ ।

राप्रपालाई सहकार्यको प्रस्ताव भने कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले पनि गरेको थियो । तर, राप्रपाले एमालेसँग सहकार्य गर्न चाहेको हो ।

राप्रपाका एक पदाधिकारीले बताएअनुसार एमालेसँग सहकार्य गर्न हुने गरी गृहकार्य भइरहेको बताए ।

‘२/३ दिन समय छ अझै । सहकार्य हुने भनेको एमालेसँग हो । प्रस्ताव आएको त गठबन्धनबाट पनि हो’, ती पदाधिकारीले फरकधारसँग भने, ‘निर्णायक मत हामीसँग भएकोले दुवै तर्फबाट प्रस्ताव आएको हो तर एजेण्डा पनि उस्ताउस्तै जस्तो भएको र फेरि दुई अध्यक्षको घर झापा नै भएकोले सहकार्य गर्ने हाम्रो मनस्थिति छ ।’

राष्ट्रियसभा निर्वाचनमा जितको निर्णायक मतभार राप्रपासँग छ । राप्रपाको कूल मतभार १२० हो । प्रदेश संसदमा १ सांसद र स्थानीय तहमा चार जना जनप्रतिनिधि छन् । चार जनप्रतिनिधिको मतभार ७२ र एक सांसदको मतभार ४८ हो ।

अन्ततः निर्णायक मतभार बोकेको राप्रपाले एमालेसँग सहकार्य गर्ने भएको छ । मंगलबार राप्रपाले प्रदेश १ मा अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको थियो । दुवै जनाले मनोनयन गरिसकेका छन् ।



तर, राप्रपाले एक जना उम्मेदवारको मनोनयन भने फिर्ता गराउने भएको छ । विष्ट कि प्याकुरेल भन्ने निश्चित छैन ।

निर्वाचनमा आवश्यकताका आधारमा सहकार्य गर्ने जिम्मेवारी पाएका राप्रपा उपाध्यक्ष ध्रुवबहादुर प्रधानले एक सिट पाउने र त्यसमा कुन उम्मेदवारलाई अघि बढाउने भन्ने टुंगिन बाँकी रहेको बताए ।



प्रधानले भनेका छन्, ‘निर्णायक मत भएकाले हामीले एक सिट पाउने हो । तर, कसलाई मनोनयन फिर्ता गर्न लगाउने र कसलाई अघि बढाउने भन्ने टुंगिएको छैन । हामीले एक सिट पाउने हो ।’

महिला सिट पाएको अवस्थामा राप्रपाबाट प्याकुरेल अघि बढ्नेछिन् । अन्य सिट पाउँदा भने विष्ट अघि बढ्ने भएका छन् ।

अल्पसंख्यक वा अपाङ्गता सिटबाट भने राप्रपाको उम्मेदवार छैन । त्यसले गर्दा राप्रपाले अन्य वा महिलामध्ये एक सिट पाउने देखिन्छ ।

एमालेका तीन राष्ट्रियसभा सदस्यको कार्यकाल २० फागुनमा सकिँदै छ । उनीहरू हुन्, अगमप्रसाद बान्तावा, परशुराम मेघी गुरुङ र नैनकला ओझा । उनीहरूको पदावधि सकिँदा रिक्त हुने सिटमा निर्वाचन १२ माघमा हुने भएको छ ।

२०७४ फागुनमा चार बर्से कार्यकालका लागि उनीहरू राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए ।

ओलीको ऋण चुक्ता गर्दै लिङ्देन

झापा क्षेत्र नम्बर–३ बाट कांग्रेसका ‘हाइ प्रोफाइल’ नेता कृष्णप्रसाद सिटौला उम्मेदवार थिए । सिटौलालाई हराउन लिङ्देनलाई जित्न सहज थिएन । तत्कालीन नेकपाका उम्मेदवार हुने भनिएका नेताहरू यी दुई नेताभन्दा ‘लो प्रोफाइल’ का थिए ।

त्यसपछि सिटौलालाई हराउन झापा–३ मा नेकपा–राप्रपा गठबन्धन भयो । गठबन्धनको उम्मेदवार बनेका लिङ्देनले निर्वाचन जिते । त्यसको ऋण अध्यक्ष लिङ्देनले चार वर्ष हुन लाग्दा राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर चुक्ता गर्न लागेका हुन् ।

राप्रपाका एक नेताका अनुसार आगामी निर्वाचनमा पनि एमाले–राप्रपा गठबन्धन हुने सम्भावना छ ।

  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १५:२८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया