नारायणहिटीमा मात्रै होइन, नेताहरूलाई प्रभाव पारेर अरू सांस्कृतिक सम्पदामा पनि बतासको बिजनेस

नारायणहिटी दरबार सङ्ग्रहालयमा रेष्टुरेन्ट चलाउने ‘ठेक्का’ पाएको बतास समूहले नेपालका अरू सांस्कृतिक सम्पदामा पनि बिजनेस गरिरहेको छ । विभिन्न दलका नेता तथा राज्य संयन्त्रलाई प्रभावमा पारेर लामो समयदेखि यो समूहले पाटन दरबार क्षेत्रमा सांस्कृतिक सम्पदाको सम्पत्तिलाई आफ्नो बिजनेसमा प्रयोग गरेको छ ।

नारायणहिटी दरबार सङ्ग्रहालयमा बनिरहेको रेष्टुरेन्टको काम केही समयमा लागि रोकिएको छ । तर, यो स्थगित हुन्छ वा फेरि बतास समूहले नै यसलाई निरन्तरता दिन्छ भन्ने अहिलेसम्म निश्चित भइसकेको छैन । 

यही समूहले यसअघि नै पाटन दरबार क्षेत्रको पुरातात्विक महत्त्वको पाटीमा समेत भाडा तिरेर बिजनेस चलाइरहेको छ । पाटन दरबार क्षेत्रको यो पाटीलाई भाडामा लिएर बतास समूहले अहिले अरुलाई समेत महंगो भाडामा स्थान उपलब्ध गराएको छ ।

पाटन दरबार स्क्वायर क्षेत्रमा आफ्नो बिजनेस सफल रुपमा अगाडि सारेको बतास समूहले पशुपति क्षेत्रमा पनि बिजनेस चलाइरहेको छ । पाशुपत क्षेत्रको भारत सरकारले बनाएको धर्मशालामा बतास समूहले ‘होटल एन्ड रेष्टुरेन्ट’ चलाएको छ । नेकपा एमालेका नेता तथा तत्कालिन संस्कृति​मन्त्री रवीन्द्र अधिकारीलाई प्रभावमा पारेर बतास समूहले धर्मशालामा आफ्नो बिजनेस सुरु गरेको थियो । ताप्लेजुङमा हेलिकोप्टरमा निधन भएका अधिकारी र बतास समूहका निर्देशक आनन्दराज बतासको सम्बन्ध कास्कीबाट नै सुरु भएको हो ।

अधिकारीको निधनपछि संस्कृति मन्त्रालयको जिम्मेवारी पाए, नेकपा एमालेकै अर्का नेता योगेश भट्टराईले । नेकपा एमालेका सचिवसमेत रहेका भट्टराई आएपछि बतास समूहले यही ‘धर्मशाला’मा थप ‘एक्सपान्सन’ मात्र गरेन, नारायणहिटीमा पनि आफ्नै तीन वटा कम्पनीको टेन्डर हालेर रेष्टुरेन्टको जिम्मेवारी हुत्यायो ।

पाशुपत क्षेत्रमा रहेको तिलगंगा आँखा अस्पतालसँगै रहेको पशुपति विकास कोषको जग्गामा भारत सरकारले २०७१ मा धर्मशाला बनाएको थियो । यो धर्मशालाको नाम हो– नेपाल–भारत मैत्री धर्मशाला । 



१८ साउन २०७१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा धर्मशाला बनाउने सम्झौता भयो । २५ करोडको लागतमा धर्मशाला बन्यो । १५ भदौ २०७५ मा मोदी दोस्रो पटक नेपाल भ्रमणमा आए । त्यति बेला मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मशालाको उद्घाटन गरे । 

त्यसको एक वर्ष नबित्दै, यो धर्मशालालाई रेस्टुरेन्ट बनाइयो । त्यसलाई सन्चालनको जिम्मेवारी पायो, बतास अर्गनाइजेसनले । आफूले धर्मशाला चलाउन थालेपछि बतासले कतिसम्म गर्यो भने धर्मशालाको नाम नै परिवर्तन गर्यो र राख्यो नयाँ नाम– आनन्द भवन ।



पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालसँग बतास समूहसँग यो सम्झौता गरेका थिए । बतास समूहको होटल आनन्द प्रालिलाई यो धर्मशालाको जिम्मेवारी दिइयो, जुन नेपाल भारत सरकारबीच भएको सम्झौताविपरित छ ।

पशुपति क्षेत्रमा ‘थ्री स्टार’ होटल चलाएको दाबी गर्ने बतास समूहको अर्को कम्पनी बिपिएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालिले पाटन दरबार क्षेत्रको बोधपाटीमा पनि व्यापार सुरु गरेको हो । पाटन दरबार स्क्वायरमा चाहिँ बतासले यो सम्पदाको पाटी भाडामा लिएको छ र हिमालयन जाभा, नेपाल इन्भेस्टमेन्ट बैंकलगायतलाई भाडामा पाटी दिएको छ ।

काठमाडौंका सम्पदामा मात्र होइन, बतास समूहले काठमाडौंबाहिर पनि नेताहरुलाई प्रभावमा पारेर साँस्कृतिक सम्पदाहरूमा बिजनेस गरिरहेको छ । यसको उदाहरण हो, कास्की पोखराको रामघाट क्षेत्र ।

रामघाट क्षेत्रमा बतास समूहले स्थायी ड्याम निर्माण गरिरहेको छ । त्यहाँ ठेक्का लिएर बतास समूहले पातले छाँगो र गुप्तेश्वर महादेव गुफा वरपरको सरकारी जग्गालाई व्यापारमा प्रयोग गरिरहेको छ ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी निर्वाचित भएपछि उनलाई प्रभावमा पारेर बतास समूहले सरकारी जग्गा सस्तो मूल्यमा भाडामा लिएर व्यापार गर्न सुरु गरेको थियो । तर, यो विषयमा चर्को विवाद भयो, महानगरपालिकाले त्यहाँको केही जग्गा बतास समूहलाई दिने निर्णय उल्टायो ।

  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १८:१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया