रामचन्द्र र शशांक संस्थापनइतरबाट ‘आउट’ !

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र निवर्तमान महामन्त्री डा. शशांक कोइराला बुधबार संस्थापनइतर पक्षले डाकेको बैठकमा देखिएनन् । मंगलबार र बुधबार काठमाडौंको एक होटलमा भएको बैठकमा यी दुई नेता नदेखिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

१४औँ महाधिवेशनअघिसम्म दुवै नेता संस्थापनइतर पक्षकै हुन् । महाधिवेशनअघिसम्म इतर पक्षको शीर्ष नेता रामचन्द्र थिए । सोही पक्षबाट महामन्त्री बनेका हुन् डा. शंशाक पनि । दुवै नेता अहिले काठमाडौंमै छन् । तर, केही दिनयता संस्थापनइतर पक्षले बोलाएको भेलामा दुवै नेता सहभागी छैनन् ।

बैठकमा पौडेल नदेखिएको विषयमा फरकधारले जिज्ञासा राख्दा पौडेलका प्रेस सल्लाहकार खिला कार्कीले भने, ‘बैठकमा बोलाइएको थिएन र नबोलाएको बैठकमा उहाँ जानुभएन ।’ बैठकमा नबोलाउनुको कारण पनि थाहा नभएको कार्की बताउँछन् । 

दुईदिने बैठकमा पदाधिकारीसहित केन्द्रीय समिति सदस्यमा निर्वाचित र पराजित नेताहरू सहभागी थिए । बैठकले पार्टीभित्र सशक्त प्रतिपक्षको रूपमा डा. शेखर नेतृत्वको इतर पक्ष प्रस्तुत हुने झल्को दिने खालका निर्णय भएका छन् ।

बैठकमा सभापति शेरबहादुर देउवाले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेकोप्रति औँला उठाइएको छ । विधि, विधान र मापदण्डपूर्वक काम गर्न सचेत गराइएको छ । देउवा संस्थागत ढंगले नचलेको आक्षेप पनि लगाइएको छ । 

यसरी पार्टीभित्र सशक्त प्रतिपक्षी नेता देखिने छाँट देखाएका डा. शेखरले आखिर किन बोलाएनन् रामचन्द्र र शशांकलाई ? के यी दुई नेता ‘आउट’ भएका हुन् संस्थापनइतर पक्षबाट ? 
यही प्रश्न राख्यौँ, इतरपक्षीय एक नेता बलबहादुर केसीलाई । उनले दुवै नेतालाई ‘नबोलाइएको’ मात्रै भने । नबोलाउनुको कारणबारे थप खुल्न चाहेनन् । उनले भने, ‘अहिले यत्ति भनौँ कि उहाँहरूलाई हामीले बोलाएनौँ ।’



नेताद्वयलाई बैठकमा नबोलाउनुको कारण नेता केसीले नभने पनि त्यसबारे ठम्याउन सकिने आधारहरू भने छन् । जसका लागि हालै सम्पन्न १४औँ महाधिवेशनको सन्दर्भ कोट्याउनु आवश्यक हुन्छ । 

०००



महाधिवेशनमा मतदानको ठीक अघिल्लो दिन २६ मंसिरको साँझसम्म वरिष्ठ नेता रामचन्द्रले नेतृत्व गरेको इतर पक्षमा सभापतिको साझा उम्मेदवार तय गर्ने कसरत भयो । जुन सफल हुन सकेन । यतिसम्म कि देशभरबाट आएका इतरपक्षका नेता कार्यकर्तासँगै महाधिवेशन प्रतिनिधिहरूले साझा उम्मेदवार तयार गर्न चर्को दबाब थिए । नाराबाजीसमेत गर्न भ्याए । तर, साझा उम्मेदवार तयार भएन । 

डा. शेखर र पूर्वमहामन्त्री प्रकाशमान सिंह सभापतिमा प्रतिस्पर्धा गरेरै छाड्ने निधोमा पुगे । जबकि, रामचन्द्र स्वयं पनि साझा उम्मेदवार हुन चाहन्थे । तर, न उनको नाममा सहमति जुट्यो न प्रकाशमान र डा. शेखरकै नाममा । 

सहमति नजुटेपछि मतदान हुने दिन २७ मंसिरको बिहान वरिष्ठ नेता रामचन्द्रले विज्ञप्ति जारी गरे । जहाँ ‘महाधिवेशनमा अस्वस्थ प्रतिस्पर्धा हुने देखिएको’ भन्ने उनको निष्कर्ष थियो । यो निष्कर्षका आधारमा महाधिवेशनको प्रक्रियाबाट अलग भएको स्पष्टीकरण विज्ञप्तिमा थियो । 

पौडेलको असन्तुष्टिका बाबजुद कोइराला र सिंह दुवैजना सभापतिको उम्मेदवार बने । शेखर केही मतले दोस्रो बने भने सिंह भारी मतान्तरका साथ तेस्रोमा सीमित रहे । 

तर, आफ्नो इच्छाअनुसार उम्मेदवार तय हुन नसकेपछि मतदानमा गएनन् । उनले डा. शेखर प्यानललाई मत पनि मागिदिएनन् । तटस्थ बसे । सोही दिन सभापतिका उम्मेदवार देउवा भने रामचन्द्र निवास बोहराटार पुगे । 

जहाँ पुगेर देउवाले राजनीतिबाट टाढा नरहन र देशलाई पौडेलको भूमिका आवश्यक रहने बताए । यसरी पौडेलले इतर पक्षकै सभापतिका उम्मेदवार डा. शेखरलाई न मत दिए न मागी नै दिए । 

डा. शशांकले पनि दाजु शेखरको पक्षमा मत मागिदिएनन् । १३औँ महाधिवेशनमा शशांकलाई डा. शेखरले सहयोग गरेका थिए । तर, यसपटक डा. शशांक तटस्थ नै बसे ।

यस्तो अवस्थाबीच डा. शशांक देउवा प्यानलमा केन्द्रीय सदस्यमा अटे । डा. शेखरको प्यानलमा त थिएन नै । यसरी दुवै प्यानलमा रहेका डा. शेखरले केन्द्रीय सदस्यमा दोस्रो बढी मत प्राप्त गरेर विजयी भए । 

दाजु डा. शेखर भने सभापतिको दोस्रो चरणको निर्वाचनमा देउवासँग पराजित भए । पराजित भएपछि २८ मंसिरको बेलुकी पत्रकार सम्मेलन गर्दै परिणाम स्विकार्ने मात्रै बताए । तर, सञ्चार माध्यमहरूमा अन्तर्वार्ता दिने क्रममा डा. शेखरले वरिष्ठ नेता रामचन्द्र र डा. शशांकबाट महाधिवेशनमा असहयोग भएको बताउँदै आएका छन् । 

‘उहाँहरूले खुलेर मेरा लागि भोट मागिदिनुपथ्र्यो । पत्रकार सम्मेलन गरेर भोट मागिदिन सक्नुहुन्थ्यो’, कोइरालाले भन्दै आएका छन्, ‘तर, उहाँहरूले गरिदिनुभएन, हामीले मात्र भन्दा कार्यकर्ताले पत्याएनन् ।’

महाधिवेशन सकिएपछि बसेको डा. शेखर पक्षको समीक्षा बैठकले हारको कारण वरिष्ठ नेता रामचन्द्र र डा. शशांकको असहयोग मुख्य रहेको निष्कर्ष निकालेको थियो । 

त्यसपछि अर्को कारण पहिलो चरणमा सभापतिमा प्रतिस्पर्धा गरेका पूर्वमहामन्त्री प्रकाशमान र पूर्वउपसभपाति विमलेन्द्र निधिसँगै नेता कल्याणकुमार गुरुङको असहयोग भएको औँल्याइएको थियो । 

यही पृष्ठभूमिमा मंगलबार र बुधबार बसेको इतर पक्षको बैठकमा डा. शेखरले रामचन्द्र र शशांकलाई नबोलाएका हुन् । पछिल्लो गतिविधिले रामचन्द्र पौडेल र शशांक कोइरालालाई बेवास्ता गर्दै अघि बढ्ने इतर पक्षको रणनीति देखिन्छ ।

  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १८:३८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया