ए डिभिजन लिग : खेलाडीको गोल्डेन बुट दौड

सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरण सकिएको छ । सातौं चरणको खेल सकिँदासम्म हरेक क्लबका खेलाडीको खेल विश्लेषण गर्न, कुन खेलाडी कस्तो खेल्छ र उसको खेलले  क्लबलाई कस्तो प्रभाव पार्छ भन्ने पनि अनुमान लगाउने सकिने भएको छ ।

जारी सिजनमा ४९ खेलमा ९४ गोल भए । सातौं चरणमा १३ गोल भए । खेलाडीको गोलले टोलीको अंक तालिकामा फरक त पार्छ नै, तिनीहरूको गोल गर्ने ट्रिकले पनि समर्थकको मन जित्छ ।

लिगको यस चरणसम्म आइपुग्दा केही यस्तै खेलाडीले टोलीका समर्थकको मन चोर्न सके । केही यस्ता खेलाडी जसको गोलले यस लिगमा क्लबको उद्धार नै गर्यो भन्न सकिन्छ । फुटबलमा आखिर जता जता जे-जे गरे पनि अंक बटुल्न गोल नै गर्नुपर्छ । लिगमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्, मछिन्द्र फुटबल क्लबका सुनिल बल ।

बलमा सुनिलको नियन्त्रण

मछिन्द्र फुटबल क्लबका फरवार्ड सुनिल बल जसले हालसम्म लिगमा सर्वाधिक गोल गरेका छन् । उनका गोल मछिन्द्र क्लबका लागि गेम चेन्जिङ बनेका छन् । खुट्टामा बल पर्ने बित्तिकै त्यसलाई कसरी र कहाँबाट पोस्टको दिशा दिने उनलाई राम्रोसँग थाहा छ । मनाङ मस्याङ्दीसँगको खेलमा उनको फ्रिकिक गोल एक उत्कृष्ट थियो ।

उनको खेललाई बुझ्न र उनको बललाई गोलबाट रोक्न अन्य टोलीका खेलाडीलाई हम्मेहम्मे पर्छ । उनले जारी लिगमा एनआरटीविरुद्ध २, हिमालयन शेर्पा, मनाङ मर्स्यङ्दी र नेपाल पुलिस क्लबविरुद्ध समान १/१ गोल गरेका हुन् ।



उनले गरेका पछिल्ला निर्णायक २ गोलले मछिन्द्रलाई अंक तालिकाको शीर्ष स्थानमा उकाल्न मद्दत गर्यो । त्यस्तै, पुलिससँगको उनको गोल नै मछिन्द्रको एएफसी क्वालिफायर्सको चाबी बन्यो ।

विदेशी खेलाडीमा मार्टिन्स अजयीको चमक



सातदोबाटो युथ क्लबका फरवार्डका रूपमा आवद्ध नाइजेरियन खेलाडी मार्टिन्स अजयी लिगमा ह्याट्रिक गर्ने हालसम्मका एक मात्र खेलाडी हुन् । उनले  लिगको तेश्रो चरणमा एपीएफ क्लबविरुद्ध ३ गोल गरेका थिए ।

गोल गरेपछि उनले गोल सेलिब्रेसन गर्ने तरिका पनि निकै भिन्न देखियो । उनले तेस्रो गोल गरेपश्चात चार हातखुट्टाले हिँड्दै एकदमै फरक एक्प्रेसन दिएका थिए ।

त्यसपश्चात पाँचौं चरणमा आर्मीविरुद्ध एक गोल गर्दै उनले आफ्नो नाममा चौथो गोल दर्ता गरे ।

त्यसयता सातौं चरणसम्म नै क्लबको पहिलो रोजाइको खेलाडीमा परेका छन् । तर, छैटौं र सातौं चरणमा भने उनले प्रहार गरे तापनि गोलमा भने परिणत हुन सकेको छैन ।

उदयीमान आशिषको आशलाग्दो खेल

रेलिगेसनबाट बच्नका लागि संघर्ष गर्दै आएको एपीएफले चौथो चरणमा आएर पहिलो अंक जोडेको थियो । 

सुरुवाती ४ खेलमा लयमा नदेखिएका आशिषले पछिल्ला ३ खेलमा भने गज्जबको लय समातेका छन् । 

सुरुवाती चार खेलसम्म खासै राम्रो प्रदर्शन गर्न नसकेका आशिषले फ्रेन्ड्स क्लबसँग भएको पाँचौ खेलमा भने टोलीका लागि २ गोलले गरे । उनले पहिलो खेलमा ब्रिगेड ब्वाइज र छैटौं खेलमा न्युरोड टिम (एनआरटी) विरुद्ध समान १ गोल गरेका थिए ।

३ गोल गर्ने खेलाडी :

जारी लिगमा निरज बस्नेत (संकटा), सुमन लामा (पुलिस), रुमेश बर्तौला (च्यासल), उत्तम राई (संकटा), मुताम्बा पिस्टोन (हिमालयन), अञ्जन विष्ट (मनाङ)ले ३/३ गोल गरेका छन् ।

२ गोल गर्ने खेलाडी :

त्यस्तै, जारी लिगमा दिनेश राई (बिबीसी), आलावाले आफिज (मनाङ), दिनेश राजवंशी (मनाङ), लक्ष्मण रुचाल (संकटा), दर्शन गुरुङ (एनआरटी), मेसुके ओलुमोउ (एनआरटी), सुरेश कुमाल (हिमालयन), बिकी तामाङ (एपिएफ), जर्जप्रिन्स कार्की (आर्मी), स्टेफन बिनोङ (एनआरटी), नथालिया जुड (फ्रेन्ड्स), निकोलस फर्नान्डेज (जावलाखेल), विश्वास श्रेष्ठ (हिमालयन)ले २/२ गोल गरेका छन् ।

१ गोल गर्ने खेलाडी :

प्रकाश बुढाथोकी (फ्रेन्ड्स), प्रिजेन तामाङ (फ्रेन्ड्स), जमोल फ्रान्सिस्को     (फ्रेन्ड्स) सुदीप गुरुङ (सातदोबाटो), सुशील राई (सातदोबाटो), त्रिदेव गुरुङ (हिमालयन), मनीष थापा (हिमालयन), फोडे फोफना (संकटा), अनन्त तामाङ (थ्रीस्टार), निशान खड्का (थ्रीस्टार), राफेल बिडियास (थ्रीस्टार), मिक्छेन तामाङ (थ्रीस्टार), आयुष घलान (थ्रीस्टार), रितिककुमार खड्का   (थ्रीस्टार), दयानन्द सिंह (मनाङ), फ्रयान्कलिन कुइटे (मनाङ), निशान लिम्बू (मनाङ), सुरज गुरुङ (बिबीसी), भुवन वस्नेत (बिबीसी), विवेक वस्नेत (आर्मी), भरत खवास (आर्मी), जगजित श्रेष्ठ (आर्मी), दिनेश हेन्जन (आर्मी), सन्तोष हेमरुन (पुलिस), रञ्जित धिमाल (मछिन्द्र), नुर्लान नोभ्रजोभ (मछिन्द्र), विमल घर्मिमगर (मछिन्द्र), एरिक विष्ट (एनआरटी), दीपेश घले (एनआरटी), दिपेश लामा (एपिएफ), नवीन लामा (एपीएफ), दिपेश धिमाल (एपिएफ),

आत्मघाती गोल

करण रावत (सातदोबाटो, एपीएफविरुद्ध), सीमान्त थापा (जावलाखेल, पुलिसविरुद्ध) ।

  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार २०:०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया