कहाँबाट आउँछन् पशुपतिमा ‘सिक्का’ टिप्न बालबालिका ?
तस्वीर : जुली गिरी

पुसको कठ्याङ्ग्रिदो चिसोमा खाली खुट्टा दौड्दै थिए उनी । चिसोले होला गाला फुटेका थिए, रगत चुहिएला जस्तो । च्यातिएको स्विटर लगाएका उनी चिताको अगाडि केही खोज्दै थिए ।

चिताको एक छेउमा केही मानिस रोइरहेका थिए । चितामा शव जलिरहँदा उनी भने केही भेटिएलाकी भन्दै कहिले यता त कहिले उता गर्दै थिए ।

उनको आँखा अर्को चितामा पर्छ । चिताको नजिक मृत्यु हुनेका आफन्त कपाल खौरिँदै थिए । एक जना प्रौढ व्यक्ति शव जलाउनुअघि गर्नुपर्ने संस्कारका बारेमा जानकारी दिँदै थिए ।

उनको आँखा शवको पछाडि राखेको दुनामा पर्छ । उनी दुनामा राखेको सिक्का टपक्क टिप्छन् र पकेटमा राख्छन् । उनी मलिन अनुहार लिए पशुपतिको मूल मन्दिरतर्फ लाग्छन् ।

उनी अर्थात् रूपक ।

उमेरले भर्खर ९ बसन्त पार गरे । उनी सानीमासँग काठमाडौंको पशुपति क्षेत्रमा बस्छन् । जब उनी जान्ने भए तब उनलाई लाग्ने गरेको छ– उनको घर भने पनि मन्दिर भने पनि पशुपतिनाथ नै हो । उनको हाँस्ने र बाँच्ने आधार हो- पशुपतिनाथ ।



पशुपति– मानिसको जन्मोत्सव मनाउनेदेखि मृत्युको शोक समवेदना प्रकट गर्ने ठाउँ हो । मानिसहरू खुसी हुँदा धन्य भएँ भनेर फूल चढाउन मात्र होइन उदासीनताले भरिएका मनको कथा–व्यथा बिसाउन पनि पशुपतिनाथलाई रोज्ने गर्छन् ।



दिनहुँ सयौँको संख्यामा आउने भक्तजनको पुकार यहीँ गुन्जिन्छ । अभाव, शारीरिक असहजता र विचारको द्वन्द्वले अशान्त बनाएको मन शान्त पार्ने अभिलाषासहित धेरै पशुपतिनाथ आउने गर्छन् ।

पशुपतिमा हरेक दिन हुने थरिथरिका मानिसको आवतजावत, रूप रङ्ग, भेशभूषा, रहनसहन र व्यक्तित्वलाई नजिकबाट नियालेकी छन् रूपा दर्जीले ।

हरेक दिन बिहान उनी आमासँग फूल बेच्न मन्दिरको गेट नजिक पुग्छिन् । फूलको व्यापारले मात्रै आमा–छोरीलाई छाक टार्न गाह्रो भएको उनी सुनाउँछिन् ।

‘घरमा आमा र म छौँ । आमा फूल बेच्नुहुन्छ, म पनि सघाउँछु । अनि यस्तै यस्तै गर्छु,’ रूपाले सुनाउँछिन् ।

यस्तै भन्नाले ?

‘आज त जम्मा १८ वटा सिक्का जम्मा भयो,’ उनले यस्तै भनेको सिक्का खोज्ने कामका बारेमा बताइन् । उनले सिक्का भने जोड्न भ्याएकी थिइनन् ।

रूपक र रूपाजस्तै पशुपतिनाथ मन्दिरमा अझ भनौं चिताको छेउछाउमा सिक्का बटुल्न थुप्रै बालबालिका दौडधूप गरिरहेका देखिन्छन् । उनीहरूको काम हो– सिक्का टिप्ने । उनीहरूको समूह-समूह छ रे ।

त्यति नै बेला सीमा आइपुगिन् । उनी रूपाकी साथी । उनी पनि सिक्का बटुल्ने काम गर्छिन् । सीमाले आँखाले इसारा गरिन्, ‘आउने भए आउ, नत्र म गएँ ।’ रूपाले नबुझ्ने कुरै थिएन । हामी पनि सीमाको पछिपछि लाग्यौँ ।

उनी पशुपतिको घाट भएतिर गइन् । एकछिन् उभिएर शव जलाएको हेरिन् र टोलाइन् । खै के सोचिन्, ध्यान अन्यत्र मोडिन् । उनको नजर उठाउँदै गरेको शवमा पर्‍यो, जहाँ फूल र सिक्का चढाइएको थियो । उनी यताउती हेरिन् अनि शवको नजिक गइन् ।

शव बोकिरहेका व्यक्तिको नजिक एकजना उनीजस्तै सानी बालिका थिइन् । ती सानी बालिका सोध्दै थिइन्, ‘काकु उनले किन पैसा टिपेको?’ काकुले ती बालिकालाई अँगालोमा बेस्सरी कसे तर केही बोलेनन्, मात्र रोइरहे ।

ती बालिकाको प्रश्न र काकुको रुवाइले के गर्‍यो​ कुन्नि सीमा एकटकले उनीहरूलाई मात्र हेरिरहेकी थिइन् । हामी सीमाको नजिक पुग्दा उनको हातमा सिक्का थिए । हातको सिक्का देखाउँदै सीमाले भनिन्, ‘दिनमा २० देखि २५ रुपैयाँ जम्मा हुन्छ ।’

के गर्छौ त यो पैसाले?

‘चाहिने सामान किन्छु,’ सीमाले भनिन् ।

‘के-के किन्छौ नि?’

‘अस्ति मैले बाक्लो सुरुवाल किनेको नि,’ लगाएको सुरुवाल देखाउँदै भनिन्, ‘कति राम्रो छ नि । निलो रङको दुवैतिर गोजी भएको ।’

‘सुरुवाल मात्र हो त किनेको ?’

‘होइन नि । आमालाई रातो पछ्यौरा पनि किनिदिएकी छु,’ उनी हौसिँदै सुनाउँदै थिइन् ।

यत्तिकैमा तीन जना बालक सीमातिर आए । उनीहरू सीमाका साथी थिए । ‘माथि जाम्,’ एउटा बालकले भन्यो । उसको जवाफ दिन नभ्याउँदै अर्कोले सोध्यो, ‘आज तेरो कति जम्मा भयो सीमा ?’

सीमाले सानो स्वरमा भनिन्, ‘२३ रुपैयाँ ।’

ती बालकमध्ये एक जना कुरा गर्न राजी भए । उनी भन्दै थिए, ‘हजुरले अघि राजलाई सोध्नु भएको थियो नि– हामी साथीहरू कति जना छौँ भनेर । हामीहरू धेरै नै थियौँ । अहिले ५ जना मात्रै छौँ । पहिलेका साथीहरू एक जना अंकलसँग  इण्डिया गए ।’

यति कुरा बताएपछि नवीन पाँच रुपैयाँ मागेर बिदा भए ।

अलिक पर क्रमबद्ध रूपमा शव राखिएका थिए । त्यहाँ पनि एउटा सानो बालबालिकाको समूह थियो । हामी त्यहा पुग्यौँ । एक जना बालक भन्दै थिए, ‘पहिला इण्डियनहरूले दुःख दिए ।’ किन र के गरी दुःख दिए उनले खुलाएनन् ।

 

केही पर एकजना बालिका बदाम र पानी बेचिरहेकी थिइन् । हामीले एक बोतल पानी किनेपछि उनले भनिन्, ‘यहाँ व्यावसायिक रूपमा एकदमै कम मात्र बालबालिका आउँछन् । धेरै माग्न आउँछन् ।’

पशुपतिनाथलाई आधार बनाएर जिउने संघर्ष गर्ने बालबालिहरूको संख्या धेरै छ ।

पशुपतिनाथ जहाँ दैनिक हजारौँको संख्यामा भक्तजन आउने गर्छन् । हिन्दु धर्मावालम्बीहरूको ४ धाममध्ये एक हो पशुपतिनाथ । पौराणिक कथा र इतिहास बोकेको पशुपतिनाथमा आज पनि उस्तै र उत्तिकै भीड छ । तर यो भीडमा ती बालबालिकामाथि कति जनाको नजर पर्‍यो होला? उनीहरूको भविष्यलाई लिएर कति जनाले चिन्ता गरे होलान्?

के गरिरहेको छ पशुपति क्षेत्र विकास कोष?

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार पशुपति क्षेत्रलाई बेसहारा, अशक्त, असहाय, सहयोगापेक्षी सडक मानवमुक्त क्षेत्र घोषणा गरिसकिएको छ ।

‘यस क्षेत्रमा काम गर्ने वा फूल पसल सञ्चालन गर्नेका बालबालिका उनीहरूसँग आउनु गलत होइन । बालबालिका आएर खुला क्षेत्रमा खेल्ने कुरा गलत होइन । जुन कुरा नियन्त्रण गर्न पनि सकिँदैन । यहाँ देखिने अन्य सडक या अनाथ बालबालिका हुन् या होइनन् भनेर हामीले अहिलेसम्म पहिचान गर्ने गरेका छैनौँ,’ खतिवडाले भने । 

बाबुआमा या अभिभावक आउँदा बालबालिका यहाँ छोडेर जाने गरेको पनि उनले सुनाए । यस्तो कार्य नेपाली र भारतीय दुवैबाट भएको छ ।

‘नजिक रहेका बस्तीबाट पनि बालबालिका खेल्न आएको अवस्थामा सिक्का जम्मा गरिरहेको हुन सक्छन्,’ खतिवडाले भने । उनले पशुपतिमा देखिन धरैजसो बालबालिका नजिकको वस्तीका भएको दाबी उनले गरे । उनका अनुसार यस्ता बालबालिका बिहान–दिउँसो खेल्ने र साँझ घर फर्किने गर्छन् ।

पशुपति विकास कोषको कार्यक्षेत्र वा नीतिभित्र बालबालिका पर्दैनन् । यसैकारण पशुपति क्षेत्रमा देखिने बालबालिकाको भविष्यलाई आफूहरूले नसोचेको उनले जनाए ।

सार्वजनिक क्षेत्रमा रहेका सडक बालबालिका, अभिभावकविहीन बालबालिकाको संरक्षण कस्ले गर्ने त? 

‘बालबालिका सबैको सरोकारको विषय हुनु पर्छ र बन्नु पर्छ । सार्वजनिक या नीजि संस्थामा बालबालिका विकृत बन्नु या बनाइनु अपराध हो । कुनै पनि नीजि तथा सार्वजनिक ठाँउमा बालबालिका अलपत्र परिरहेको अवस्था छ या कुनै पनि दुर्व्यवहार भएको छ भने सम्बन्धित निकायमा जनकारी गर्नुपर्छ,’ राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेलले भने ।

मन्दिर, घाट जस्ता सार्वजनिक र संवेदनशील ठाँउमा बालबालिका माथि नजर राख्नुपर्ने धारणा उनको छ । कतिपय अवस्थामा मानिसको ध्यान नपुग्दा बालबालिका विभिन्न दुर्व्यसनमा फस्ने गरेको उनले सुनाए ।

‘एकातिर सम्बन्धित ठाउँबाट समन्वय नहुँदा पनि बालबालिकाको उचित व्यवस्थापन हुन सकिरहेको छैन भने अर्कोतिर जोखिममा रहेका या पीडित बालबालिकाको सही पहिचान हुन नसक्दा कठिनाइ भइरहेको छ,’ धरेलले भने ।

  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार ७:४०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया