दिनहुँ नयाँ रेकर्ड बनाउँदै कोरोना, एकैदिन थपिए साढे २५ लाखभन्दा बढी नयाँ संक्रमित

कोरोना भाइरस संक्रमणले विश्वमा दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । पछिल्लो २४ घण्टा अर्थात् बुधबार एकैदिन विश्वमा २५ लाखभन्दा बढी कोरोनाको नयाँ संक्रमित थपिएका छन् । यति ठूलो संख्यामा एकैदिन संक्रमित यसअघि थपिएका थिएनन् । 

वर्ल्डोमिटर्सका अनुसार बितेको २४ घण्टामा विश्वमा २५ लाख ५२ हजार ६४६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । 

कोरोना भाइरस सुरु भएको चार महिनापछि अर्थात २०२० अप्रिल २० का दिन मात्र कूल संक्रमितको संख्या २५ लाख ५३ हजार नाघेको थियो । अहिले एकैदिन साढे २५ लाखभन्दा बढी संक्रमित थपिएका छन् । 

मंगलबार एकैदिन विश्वमा २१ लाख ५३ हजार ७२२ जना कोरोना भाइरसका नयाँ विरामी थपिएका थिए । मंगलबारभन्दा बुधबार करिव चार लाख बढी संक्रमित थपिएका छन् । 

मंगलबारअघि विश्वमा एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित ३० डिसेम्बर २०२१ मा थपिएका थिए । वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार उक्त दिन विश्वमा १९ लाख ३५ हजार १७१ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । 

३१ डिसेम्बर २०२१ दिन पनि विश्वमा निकै ठूलो संख्यामा कोरोना संक्रमित थपिएका थिए । सो दिन १९ लाख ३४ हजार ७ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।  



पछिल्लो समय सबैभन्दा बढी कोरोना खोप लगाएका देशहरुमा संक्रमण फैलिएको देखिएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या विश्वमा बढ्न थालेको हो । वैज्ञानिकहरुले ओमिक्रोन डेल्टाभन्दा कम घातक तर बढी संक्रामक रहेको बताएका छन् । 

पछिल्लो चौबिस घण्टामा विश्वमा सबैभन्दा बढी संक्रमित अमेरिकामा थपिएका छन् । उक्त समयमा अमेरिकामा ७ लाख ४ हजार ६६१ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको छ । 



वर्ल्डोमिटर्सका अनुसार बुधबार भारतमा ९० हजार ९२८, ब्राजिलमा २७ हजार २६७, बेलायतमा १ लाख ९४ हजार ७४७, फ्रान्समा ३ लाख ३२ हजार २५२, रुसमा १५ हजार ७७२, टर्कीमा ६६ हजार ४६७, जर्मनीमा ६३ हजार १९१, स्पेनमा १ लाख ३७ हजार १८० र इटालीमा १ लाख ८९ हजार १०९ जना नयाँ संक्रमित थपिएका छन् । 

बुधबार नै अर्जेन्टिनामा ९५ हजार १५९, कोलम्बीयामा १६ हजार २५९, मेक्सिकोमा १५ हजार १८४, दक्षिण अफ्रिकामा ११ हजार १०६, नेदरल्याण्ड्समा २४ हजार ४९०, क्यानडामा ३९ हजार ४४७, बेल्जियममा १८ हजार ६३० र भियतनाममा १७ हजार १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 

एक सातामा १ करोड ३१ लाखभन्दा बढी संक्रमित थपिए 

वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार पछिल्लो एक सातामा विश्वमा कोेरोना भाइरसका १ करोड ३१ लाख ८३ हजार ५१३ जना नयाँ संक्रमित थपिएका छन् । 
अघिल्लो साताको तुलनामा पछिल्लो साता विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ७८ प्रतिशतले वृद्धि भएको छ । 

अघिल्लो साता विश्वमा ७४ लाख १८ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । अघिल्लो साताभन्दा पछिल्लो साता ५७ लाख ६४ हजार ९२६ जना बढीमा कोरोना संक्रमण भएको पाइएको छ । 

कोरोना संक्रमण विश्वमा पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो । 

  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार ११:५७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया