निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई समयमै सम्पन्न गर्नका लागि सत्तारूढ गठबन्धनका नेताहरूले जोड दिएका छन् ।
बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको बैठक बसेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थल निर्माणका लागि विभिन्न मोडलको सम्बन्धमा गृहकार्य भइरहेको भन्दै यसमा गठबन्धनका नेताहरूको सहमति भएको बताए ।
उनले विमानस्थल निर्माणका लागि सरकारकै बजेट अथवा दातृ निकायको बजेटले बनाउने भन्ने सम्बन्धमा गृहकार्य गरिने पनि उल्लेख गरे ।
मन्त्री आलेले भने, ‘अब काठमाडौंको एयरपोर्टले मात्रै यो ट्राफिक धान्न सक्दैन । विकल्पको रूपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलकाे काम छिटो, छरितो तरिकाले अगाडि बढाउनुपर्छ भनेर जुन आज सर्वदलीय बैठक सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा सम्पन्न भएको छ । एउटा मास्टर प्लान पनि तयार भएको छ । अब हामीले छिट्टै अवलोकन गरी विभिन्न मोडलमा एयरपोर्ट निर्माण गर्न सक्छौं । नेपाल सरकारको बजेट वा दातृ निकायको सहयोगबाट विभिन्न मोडलमा निर्माण कार्य अगाडि बढाउँछौं । छिट्टै गृहकार्य गर्छौं । आज सबै नेताहरूको यसमा सहमति भएको हुनाले पनि सबैलाई धन्यवाद भन्न चाहन्छु ।’
बैठकमा सहभागी नेताहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा ढिलाइ भएको भन्दै छिटोभन्दा छिटो विमानस्थल निर्माणलाई गति दिनुपर्ने धारणा राखेका थिए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल लगायतका विभिन्न व्यक्तिहरूकाे सहभागिता रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।