सहिद स्मारक ए डिभिजन लिगको आठौँ चरण शुक्रबारबाट सुरु हुँदै छ। दशरथ रंगशाला र पोखरा रंगशालामा सम्पन्न हुने यस चरणमा ७ खेल हुँदै छन् ।
जसमा एक खेल पोखरा रंगशालामा हुँदै छ भने बाँकी ६ खेल भने दशरथ रंगशालामा नै सम्पन्न हुनेछ । पहिलो खेलमा संकटा र सातदोबाटो युथ क्लबबीच र दोस्रो खेल एपिएफ क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ ।
पहिलो खेल संकटा र सातदोबाटो युथ क्लबबीच दिउँसो १ बजे दशरथ रंगशालामा हुनेछ । जसमा दुवै टोली ३ अंकका लागि मैदानमा उत्रने प्रशिक्षकद्वयले बताएका छन् ।
सातदोबाटो युथ क्लबका सहायक प्रशिक्षक सुरज महर्जन भन्छन्, ‘संकटा राम्रो क्लब हो । प्रतिस्पर्धीमा कुनै पनि टोलीलाई कम आँकेका छैनौँ ।’ उनका अनुसार विदेशी फर्वाड मार्टिन नहुँदा फरक पर्ने बताए । भने, ‘ऊ नहुँदा केही फरक त पर्छ । तर, उसको ठाउँमा हाम्रो कुनै नेपाली खेलाडीले नै खेल्नेछ ।’
हालसम्म अपराजित रहेको संकटा यो खेलमा पनि जित्ने लक्ष्यमा रहेको छ । संकटा क्लबका सहायक प्रशिक्षक राजकुमार केसी भन्छन्, ‘खेल बराबरीकै खेल हुनेछ । अर्नेस थप्पीले खेल्न नपाउने भएका छन् । कमी महसुस हुनेछ ।’ थम्पीले खेल्न नसक्ने भए पछि उनको सट्टा टोलीले अर्को एक विदेशी खेलाडी बिहीबार नेपाल उतारेको उनले बताए ।
त्यस्तै, दोस्रो खेल भने एपिएफ क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । दुवै टोली जितकै खोजीमा हुनेछन् । एपिएफका सहायक रत्नकाजी महर्जन भन्छन्, ‘तयारी राम्रो भइरहेको छ। गोल पनि गरेका छौँ, तर गोलरक्षा गर्न सकेका छैनौँ ।’ यसैमा थप्दै उनले भने, ‘यो समस्याको हामीले प्रशिक्षणमा सुधार गरिरहेका छौँ। यस खेलमा सुधार गर्दै खेल्नेछौँ।’
‘जावलाखेल हाम्रा लागि राम्रो प्रतिस्पर्धी हो। उनीहरूको खेल राम्रो छ। गोल मात्रै निस्किन सकेको छैन । हामी खेल भने राम्रो खेल्ने तयारीमा छौँ,’ उनले भने ।
त्यस्तै, जावलाखेल युथ क्लबका प्रशिक्षक किशोर केसी पनि जित निकाल्ने तयारीमा छन्। उनी भन्छन्, ‘टिमको तयारी त राम्रो छ । खेलाडीले मैदानमा नआत्ती राम्रो खेल खेल्नेछन् भन्ने आश गर्छु । यसो गरेमा खेल राम्रो हुनेछ ।’ यसैमा प्रतिस्पर्धी एपिएफका बारेमा उनी भन्छन्,’ एपिएफले पछिल्ला खेल सुधारिएको खेल खेल्दै आएको छ । रणनीतिक हिसाबले हामी एपिएफभन्दा केही माथि रहेका टोली हौँ किजस्तो लागेको छ। त्यो भने भोलीको खेलले निर्धारण गर्नेछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।