दाङको तुलसीपुरमा एकै दिन ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २६ शिक्षक तथा विद्यार्थी रहेका छन् ।
बिहीबार मात्रै सेन्टर मावि तुलसीपुरका शिक्षक र विद्यार्थी गरी १५ जना तथा गुरुजजुर मावि तुलसीपुरका ११ शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ स्थानीय स्रोत व्यक्ति विमल केसीका अनुसार आज २५ महिला र २० पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा १३ देखि ५९ वर्ष उमेर समूहका व्यक्ति रहेका छन् । एक सय ४२ जनाको स्वाब परीक्षण गर्दा ४५ मा कोरोना पुष्टि भएको हो ।
योसँगै तुलसीपुरमा पछिल्लो चार दिनयता ८४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरूलाई ओमिक्रोन संक्रमण भएको हो वा होइन् भनी परीक्षणका लागि टेकुमा स्वाब संकलन गरी पठाइएको छ । कोरोना देखिएपछि गुरुजजुर माविलाई पुस २७ गतेसम्म बन्दसमेत गरिएको छ ।
आज दुई वटा विद्यालयका विद्यार्थी तथा शिक्षकमा संक्रमण पुष्टि भएसँगै पाँचवटा विद्यालयमा कोरोनाको संक्रमित देखिएको छ । यसअघि तुलसीपुर–८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता संस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो ।
केसीका अनुसार अस्वारामा तीन सुस्तश्रवण विद्यार्थी, छ अन्य विद्यार्थी तथा पाँच शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै राप्ती बाल एकेडेमीमा अध्ययनरत दुई विद्यार्थी र जनता संस्कृत माविका एक शिक्षिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएपछि अस्वारा माविलाई एक हप्ताका लागि बन्द गरिएको छ ।
पछिल्लो समय शिक्षक र विद्यार्थीमा कोरोना संक्रम देखिएको भन्दै यसका लागि सचेत हुन आवश्यक रहेको केसीले बताए । 'विद्यार्थी र शिक्षकमा नै कोरोना देखिएको छ', उनले भने, 'यसले स्थिति भयावह ल्याउन सक्छ, त्यसैले सचेतना फैलाउन आवश्यक छ ।'
विद्यालयमा नै बढी देखिएकाले केही समयका लागि विद्यालय बन्द गर्ने अवस्था आउनसक्ने उनको भनाइ थियो । उनका अनुसार प्रायः कोही भारतबाट आएका हुन्, भने कोही पोखरा, काठमाडौंलगायतका स्थानमा ‘टुर’ गएका रहेका छन् ।
उनीहरूमा घाँटी दुख्ने, ज्वरो आउने, जिउ दुख्ने समस्या देखिने गरेको छ । प्रायः भेरोसेल, कोभिसिल्ड खोप लगाएकालाई नै संक्रमण देखिएको र लक्षण पनि देखिने गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।