logo-img

[फरकधार राउण्डटेबल] शैक्षिक परामर्शमा महामारीपछि नयाँ भिजन आवश्यक छः उत्तम पन्त

(नोटः उच्च शिक्षा अध्ययनका लागि वर्षेनी नेपाली विद्यार्थीहरु अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, न्युजिल्यान्ड, भारतलगायतका देशमा जान्छन् । तर, दुई वर्ष यता कोरोनाभाइरस महामारीका कारण यो सम्भव हुन सकेको छैन । अब विस्तारै विश्वभरका देशहरुले आफ्नो सीमा खोलेका छन्, विद्यार्थीहरु पढ्नका लागि विदेश जान थालेका छन् । यही सन्दर्भमा फरकधारले शैक्षिक परामर्शदाताहरुसँग राउन्डटेबल आयोजना गरेको थियो– विदेशमा उच्च शिक्षाः अहिलेका अवस्था, अवसर र चुनौती । त्यही राउन्ड टेबलमा सहभागीहरुको विचार हामीले क्रमशः प्रकाशन गरिरहेका छौँ । ) 

पछिल्ला दुई वर्षमा देखिएको विश्व महामारी कोरोनाभाइरसका कारण विश्वभर लाइफस्टायलमा परिवर्तन आएको छ, फरक ढंगले सोच्ने अवसरको सिर्जना गरेको छ । 

संक्रमणभन्दा जसरी हामीले यो क्षेत्रलाई वा व्यवसायलाई अगाडि बढाइरहेका थियौँ, अब त्यसरी नै यो व्यवसायलाई अगाडि बढाउँछु भन्नु मुर्खता हुन्छ । अहिले विश्वमा धेरै परिवर्तन आइसकेका छन्, त्यसलाई कसरी एडप्ट गर्ने भन्ने हामीलाई यो क्षेत्रले सिकाएको छ । 

यो महामारीले राजनीतिक रुपले, साँस्कृतिक रुपले, शैक्षिक रुपले विश्वको एजुकेसन सिस्टममा नै परिवर्तन ल्याएको छ । पहिले चक डस्टरबाट काम सुरु हुन्थ्यो, अहिले विश्वभर नै अनलाइन टिचिङको स्वरुप आएको छ, यो कुरालाई हामीले पनि आत्मसाथ गरेर नयाँ भिजन लिएर अगाडि बढ्नु पर्छ । 



महामारीले सिकाएको पाठलाई लिएर हामीले हाम्रो उद्योगलाई पनि नैतिक रुपमा अगाडि बढाउनु पर्ने अवस्था आइसकेको छ, यस्तो भएन भने हामी डाइनोसरजस्तै सकिन्छौँ । जबसम्म हामीले आफूमा नै परिवर्तन ल्याउन सक्दैनौँ, हामी नै यसबाट सकिन्छौँ भन्ने कुरा बुझ्दा हुन्छ । अहिले अनलाइनमा यहाँ नै बसेर हामीले डिग्री लिन सक्छौँ, विभिन्न कोर्सहरुका लागि अब अष्ट्रेलिया वा विदेश जानु पर्छ भन्नै नै भएन । त्यसैले हामीले अब फरक मोडलबारे सोच्नुपर्छ ।

नेपालबाट बाहिर पढ्न जाने वा उच्च शिक्षाका लागि विदेशका विश्वविद्यालय छान्ने परम्परा आज सुरु भएको होइन । नेपालबाट सन् १८५० मा पहिलोपटक जंगबहादुर राणा बेलायत गए, त्यहाँबाट आउँदा उनले एउटा अंग्रेजी शिक्षक र क्यामेराहरु लिएर आएको भन्ने इतिहास छ । उनले नै राणाहरुलाई मात्र पढाउन भनेर किन नहोस्, अंग्रेजी शिक्षक लिएर आएका थिए । पछि नेपालमा दरबार हाइस्कुल पनि खोलियो, सात सालमा प्रजातन्त्र आएपछि कोलम्बो प्लानअन्तर्गत नेपालबाट बाहिर पढ्न जानेहरुको संख्या बढ्यो । तर, उनीहरु नेपाल फर्किएर आए, विदेशको शिक्षा र ज्ञानले नेपालमा प्रवेश पाएको नै यही हो । 



हामीले अब यो कोरोनाभाइरस महामारीअघि र पछि कति मान्छे बाहिर गए, कतिजना फर्किएर आए भन्ने विषयमा पनि छलफल गर्न पर्यो । कतिजनाबाट यो देशमा योगदान भएको छ भन्ने पनि हामीलाई चाहिन्छ । त्यसैले अब हामीले हाम्रो भिजनलाई चेन्ज गर्नु पर्छ ।

अब शैक्षिक परामर्शदाताहरुले फरक ढंगबाट सोच्नु पर्छ । जबसम्म हामीले हाम्रो सोचलाई फरक तरिकाले सोच्न सक्दैनौँ, तबसम्म हामीले केही परिवर्तन ल्याउन सक्दैनौँ । हामीले अब यो क्षेत्रलाई, यो व्यवसायलाई कसरी अगाडि बढाउने भनेर सोच्नु पर्ने अवस्था आएको छ । 



हामीले आजभन्दा १४ वर्षअघि इक्यान खोल्यौँ, हामी सबैको एउटा साझा संगठन होस् भनेर । अब हामीसँग १४ वर्षको अनुभव भइसकेको छ, अरु देशमा कसरी काम भएका छन् भन्ने मोडलबारे पनि हामीले हेर्नुपर्छ । हामीले विभिन्न देशमा विद्यार्थी पठाउने हो भने ती देशका राजदूतहरुलाई हाम्रो संगठनमा कसरी आवद्ध गराउने भन्ने विषयमा छलफल गर्नु पर्ने आवश्यकता आइसकेको छ । हिजो नेपालमा सधैं बन्द र हड्ताल हुने गरेको थियो, अभिभावकले राम्रो शिक्षा पाउन् भनेर आफ्ना छोराछोरी विदेश पठाउने गरेका थिए । तर, अब अवस्था फेरिन थालेको हुनुपर्छ । 

अब त झन् यो प्यान्डेमिकले यहाँको अवस्थालाई धेरै परिवर्तन गरेको छ । यसबारे हामीले सोच्नु पर्ने अवस्था आएको छ । हामीले हामीमाथिको पर्सेप्सन पनि परिवर्तन गर्नु पर्ने आजको आवश्यकता भएको छ ।

हामीले सोच्नु पर्छ, कतै हामीले नराम्रो गरिरहेका त छैनौँ ? हामीले रिथिंक गरेर अगाडि बढ्नु पर्ने अवस्था अब आएको हो । अब हामीले सामान्यभन्दा सामान्य कुराबाट पनि परिवर्तन गर्न सिक्नु पर्छ ।

त्यसका लागि हाम्रो सोचाइ र काम गर्ने शैलीमा पनि परिवर्तन आवश्यक छ । यो व्यवसायबाट कमाएको पैसा हामीले यही व्यवसायको उत्थानका लागि कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि सोच्नु पर्ने अवस्था अब आइसकेको छ । तर, अब सही भिजनको आवश्यकता देखिन थालेको छ, सही भिजन भएन भने हामी अगाडि जान सक्दैनौँ । त्यसैले अब रिडिजाइनको आवश्यकता छ । पेन्डामिकपछिको हाम्रो बिजनेस सुहाउँदो बनाएर हामीले अगाडि लैजानु पर्छ । 

(पन्त आइरिनका सल्लाहकार हुन् ।)


  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया