सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शुक्रबारको खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले १–१ को बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता भने सातदोबाटोले लिएको थियो ।
खेलको २३ औं मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाएका थिए ।
संकटाका गोलकिपर राजा बाबु थापाले क्लियर गर्न खोजेको बल सुशीललाई लाग्दै गोलमा परिणत भएको थियो ।
३२ औं मिनेटमा जया गुरुङले उत्कृष्ट गोल गर्दै संकटालाई १–१ को बराबरीमा ल्याए ।
दिपेश आले मगरको पासमा उनले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।
दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।
यो बराबरीसँगै आफ्नो अपराजित यात्रा कायमै राख्दै ८ खेलमा १४ अंक जोडेको संकटा लिगको तेस्रो स्थानमा रहँदा सातदोबाटो ९ अंक जोडेर आठौं स्थानमा छ ।
खेलपश्चात सातदोबाटो युथ क्लबका प्रशिक्षक सुरज महर्जनले आज दुवै टोलीले राम्रो खेलेको बताए । उनले भने,'तीन अंकका लागि आएका थियौं । १ अंक पाए पनि ठीकै छ । आजको खेल दुवै टोलीले राम्रो खेल्यौँ ।'
संकटाका प्रशिक्षक विष्णु गुरुङले आज सोचेजस्तो नतिजा नआएको बताए । उनले भने, 'हामी यो हप्ता केही दुखी थियौं । जसका कारण हाम्रा खेलाडीले राम्रो खेल्न सकेनन् । पहिलो हाफमा खाएको गोलले नै बराबरिमा रोकियौँ ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।