ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसके : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन् ।

पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स्वीकार गरेको बताएका हुन् । एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टीका जिल्लाको अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताएका थिए ।

सोही भनाइलाई उद्धृत गर्दै अध्यक्ष नेपालले ओलीले आफ्नो दम्भी स्वभाव विपरीत राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पार्टीको पराजय निश्चित छ भनेर भाषणमै स्वीकार गरेको टिप्पणी गरे । उनले ओलीले देशभर एकसाथ जिल्लाको अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोपसमेत लगाए ।

उनले भने ‘आज तपाईंहरूले सुन्नु भएको होला– केपी ओलीको एउटा भाषण । त्यो भाषणमा अव राष्ट्रियसभाको चुनावमा हाम्रो पराजय निश्चित् छ भनेर स्वीकार गरिएको छ । सुन्नु भयो, हैन ? हार स्वीकार गरेका छन् । पराजय स्वीकार गरेका छन् । तर, कसरी स्वीकार गरे होला ? त्यो दम्भी स्वभावले त दिँदैन ।'

जिल्ला-जिल्लामा गरेको भए नेता जाने, सम्बोधन गर्ने अवसर हुने र त्यसले नेतृत्व स्थापित हुने अध्यक्ष नेपालको भनाइ थियो । तर, त्यो पद्धति ओली समूहमा नरहेको अध्यक्ष नेपालले बताए ।

उनले ओलीसँग आलोचनात्मक चेत भएका, सिद्धान्तनिष्ट कार्यकर्ता नभएको दाबी पनि गरे । अध्यक्ष नेपालले उनीसँग देवत्वकरण गर्ने मानिसहरू मात्रै रहेको र अन्य मानिसहरू विद्रोह गरेर आफ्नो पार्टीमा प्रवेश गरिरहेको दोहोर्याए ।



अध्यक्ष नेपालले जनताको जीवन परिवर्तन गर्नका लागि आफ्नो पार्टी स्थापना गरेको बताए । उनले जनताको जीवनमा परिवर्तन ल्याउने गरी आचरण र व्यवहार देखाउन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए  ।



  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १६:२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया