राष्ट्रियसभा निर्वाचन : बागमतीमा गठबन्धन बलियो

राष्ट्रियसभाको बागमती प्रदेशतर्फ रिक्त हुन लागेको दुई सदस्यका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । बागमतीमा मतभारका आधारमा गठबन्धनका उम्मेदवार बलियो देखिएका छन् । 

सत्ता गठबन्धनले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसको तर्फबाट कृष्णप्रसाद पौडेल र महिलामा नेकपा एकीकृत समाजवादीबाट मकवानपुरकी गोमा तिमिल्सिना अंकगणितका आधारमा बलियो देखिएका हुन् । 

एमाले र नेमकिपा एक्ला एक्लै चुनावमा होमिएका छन् । त्यसले गर्दा दुवैको अंकगणित कमजोर देखिएको छ । यहाँ १०९ प्रदेशसभा सदस्य र ११९ स्थानीय तहको प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष गरी ३४६ कुल मतदाता छन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ । जसअनुसार निर्वाचनमा १०९ प्रदेशसभा सदस्यको ५ हजार २३२ मतभार छ भने स्थानीय तहका २३७ जना प्रमुख/उपप्रमुखको ४ हजार २६६ मतभार छ ।

गठबन्धनको मतभार ४९५६

प्रदेशमा कुल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना हुनेछ । जसमा सत्तारुढ गठबन्धनका दलको स्थानीय तहमा ११८, प्रदेशसभामा ५९ मतदाता छन् ।



स्थानीय तहमा कांग्रेसको ६७ जनप्रतिनिधिका १ हजार २०६, माओवादीको ३४ जनप्रतिनिधिका ६१२ र एकीकृत समाजवादीको १७ जनाको ३०६ गरी कुल २ हजार १२४ मतभार रहेको छ।

प्रदेशसभामा कांग्रेसको १ हजार ५६, माओवादी केन्द्रको १ हजार १०४, नेकपा एकीकृत समाजवादीको ६२४ र जसपाको ४८ गरी कुल २ हजार ८३२ मतभार छ । बागमती प्रदेशमा गठबन्धनको स्थानीय तह र प्रदेशसभा सदस्य गरी कुल १७७ जना मतदाताबाट ४ हजार ९५६ मतभार छ ।



एमालेको मतभार ४१३४ 

प्रतिपक्ष दल एमालेको प्रदेशसभामा ४३ र स्थानीय तहमा ११५ गरी १५८ मतदाता छन् । जसमा प्रदेशसभाबाट २ हजार ६४ र स्थानीय तहबाट २ हजार ७० मतभार गणना हुनेछ ।  एमालेसँग स्थानीय तह र प्रदेशसभाको कुल मतभार ४ हजार १३४ मतभार रहेको छ ।

नेमकिपा चुनावमा, राप्रपाले दिए पनि पुग्दैन

बागमती प्रदेशमा साना दलसँग प्रदेशसभाका ७ जना र स्थानीय तहका ४ जना गरी कुल ११ जना मतदाता छन् ।

नेमकिपाको २, राप्रपाको २ र विवेकशील साझा पार्टीको तीन मतदाता छन् । राप्रपा र विवेकशीलको स्थानीय तह र प्रदेशभामा कुल २७६ मतभार छ ।

यी दुवै दलले सहयोग गरे पनि बागमतीमा एमालेलाई जीतको लागि आवश्यक मतभार पुग्दैन ।

एमालेबाट कुँवर र शाक्य

राष्ट्रियसभाको बागमती प्रदेशको रिक्त पदका लागि नेकपा (एमाले)का तर्फबाट दुई जनाले उम्मेदवारी दिएका छन् । बागमती प्रदेशमा रिक्त रहेको दुई पदमा एमालेबाट सिन्धुलीकी निरकुमारी कुँवर र ललितपुरका गोपाल शाक्यले उम्मेदवारी दर्ता गराएका हुन् । 

नेमकिपाबाट तामाङ र काफ्ले

नेमकिपाले बागमती प्रदेशतर्फको दुई पदका लागि उम्मेदवारी दर्ता गराएको छ । मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा नेमकिपाबाट भक्तपुरका गीता काफ्ले र काभ्रेका कृष्णबहादुर तामाङको उम्मेदवारी दर्ता गरेका हुन् ।

बागमती प्रदेशको  मतदानका लागि हेटौंडा उपमहानगरपालिका–८ स्थित हेटौंडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदानस्थल तोकिएको छ ।

राष्ट्रियसभाको बागमती प्रदेशमा महिलातर्फ उजया शर्मा पौडेल र अन्यतर्फ राधेश्याम अधिकारीको पदावधि सकिन लागेको हो ।

  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १७:२४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया