राष्ट्रियसभा छिर्ने सपना बोकेका जनवादी कलाकार

बहुदल आएपछि रेडियो नेपालबाट सर्वाधिक बजेको गीत हो- धौलागिरि छायामा । गीतमा जनतालाई सिर्जना बत्ती बालेर प्रगतिपथमा लम्किन आह्वान गरिएको छ । शोषक र सामन्तीविरुद्ध अजेय शक्ति जनतामा हुने सन्देश प्रवाह भएको छ ।

यही गीतको शब्द र स्वर तुलप्रसाद विश्वकर्मा ‘राजेश’ को हो । उनै जनवादी कलाकार राजेश राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेका छन् ।

जनताको मुक्तिको गीत गाउने उनलाई उम्मेदवार बनाउने दल हो – राष्ट्रिय जनमोर्चा । जनमोर्चा सत्तारूढ गठबन्धनमा छ । र, लुम्बिनी प्रदेशबाट गठबन्धनको तर्फबाट राजेश राष्ट्रियसभा निर्वाचनमा साझा उम्मेदवार हुन् । 

६३ वर्से उनले कयौँ जनवादी गीत गाएका छन् । रक्तिम सांस्कृतिक परिवारले निकालेको भाग-१, भाग-२ र भाग- ३ मा रहेका अधिकांश गीतमा उनको स्वर छ । शब्द पनि छ । 
हरेक गीत जनताको अधिकारसँग सम्बन्धित छन् । मुक्तिसँग सम्बन्धित छन् । शासकलाई जनअधिकार विरुद्ध नउभिन खबरदारी पनि छ । 

यस्तैयस्तै जनवादी गीत गाएका राजेशले फरकधारसँग भने, ‘हिजो जनताको मुक्तिको गीत गाइयो । अब गाइएका गीतअनुसार जनताका पक्षमा काम गर्न उम्मेदवारी दिएको छु ।’

पञ्चायतकालमा बर्सौंसम्म भूमिगत भएर पार्टी राजनीतिमा सक्रिय भएको अनुभव उनीसँग छ । उनका अनुसार जतिबेला पार्टीको निर्देशनअनुसार नेपाल र भारत दुवै देशमा रहेर संगठनको काममा खटाइ भयो । 



वामपन्थी राजनीतिमा प्रवेश भने ५-६ कक्षा पढ्दादेखि नै हो । राजनीतिक गुरु चित्रबहादुर केसी हुन् । जो हाल राष्ट्रिय जनमोर्चाका अध्यक्ष छन् । 

उनै केसीले वामपन्थी विचारको विजारोपण गरेको राजेशले सुनाए ।
 
‘मैले राजनीति सुरु गरेको विद्यार्थीबाट हो । बागलुङको तत्कालीन भरत चैतन्य निमाविमा ५-६ क्लासमा पढ्दादेखि नै विद्यार्थी राजनीति तत्कालीन अखिलबाट सुरु गरेँ । पछि अखिल छैठौँ र सातौँ भयो  र राजनीतिक गुरु हुनुहुन्थ्यो चित्रबहादुर केसी । उहाँकै प्रेरणाबाट कम्युनिस्ट भएँ । स्कुलमा उहाँको चेला पनि हुँ । उहाँ हेडमास्टर हुनुहुन्थ्यो ।’



केसीको छत्रछायाँमा रहेर वामपन्थी विद्यार्थी राजनीति सुरु गरेका राजेशले आइएसम्मको अध्ययन पूरा गरेका छन् । त्यसपछि ५ वर्ष शिक्षण पेशामा संलग्न रहे । 

प्रधानध्यापक भएर शिक्षण गरेको विद्यालय भने बाग्लुङको शीतलपाटी निमावि हो । तर, वाम राजनीतिमा रुची बढ्दै गएपछि प्रधानध्यापक पदबाट राजीनामा दिए । पार्टीमा पूर्णकालीन भए । 
यसरी राजनीतिमा पूर्णकालीन भएलगत्तै उनलाई पार्टीले २०३६ मा भारत पठायो । पठाउनुको उदेश्य थियो- भारतमा रहेका नेपालीहरूलाई संगठित गर्नु । 

पार्टीले दिएको जिम्मेवारीअनुसार दक्षिण भारतमा उनको बसाइ तीन वर्ष भयो । पञ्जाव र दिल्लीमा गरी डेढ वर्ष । यसरी साढे चार वर्ष भारत रहँदा ‘अखिल भारत-नेपाली एकता समाज’ को संगठक बने । 

अखिल भारत-नेपाली वामपन्थी युवक मोर्चाको संस्थापक महासचिव पनि बने । पछि २०४१ तिर स्वेदश फर्किएका उनी पार्टी मातहतको जातीय समता समाजको न्युक्लियस बन्दा टिममा रहे ।

२०४५ मा भारतको गोरखपुरमा भएको भेलाबाट अध्यक्ष चुनिए । हालसम्म उनी अध्यक्ष छन् । रक्तिम सांस्कृतिक परिवार त पछि गठन भएको हो । जसको संस्थापकमध्येका राजेश त्यसअघि भने पार्टीको अखिल नेपाल जनसांस्कृतिक संगठनको संस्थापक संयोजक हुन् ।

यसरी एकातिर जनताको गीत गाउँदै समाजका सामन्ती, शोषक र जनचाहना विपरीत चल्ने सरकारका विरुद्ध उभिएका उनी अर्कातिर राजनीति क्रान्तिमा पनि होमिएका थिए । उनै राजेश हाल रुपन्देहीको सैनामैना-४ मा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

२०५६ मा रुपन्देही निर्वाचन क्षेत्र नम्बर- ३ बाट उनी प्रतिनिधिसभा निर्वाचनमा जनमोर्चाका उम्मेदवार थिए । तर, पराजित भए । पराजित भए पनि राजनीतिक गुरु चित्रबहादुर केसी भने निर्वाचित भए । त्यसपछि केसीका स्वकीय सचिव भएर काम गरेको अनुभव पनि राजेशसँग छ ।

उनै राजेश सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बनेका छन् । त्यहाँ उनको प्रतिस्पर्धा १२ माघमा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर सुनारसँग हुने भएको छ । 

मतदाता भने प्रदेश सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष हुन् । प्रदेश सांसदको मतभार ४८ र बाहेककाको १८ हो । 

लुम्बिनीमा मतभारको आधारमा एमालेभन्दा गठबन्धन बलियो देखिएको छ । 

  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार १०:५४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया