प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट : गण्डकी प्रदेशको टोली घोषणा

‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा राजधानी काठमाडौंमा यही पुस २६ गतेदेखि सञ्चालन हुने सो प्रतियोगिताका लागि गण्डकी प्रादेशिक क्रिकेट संघले विपिन खत्रीको कप्तानीमा १८ सदस्यीय टोली छनोट गरेको हो । टोलीमा १४ नियमित र चार वैकल्पिक खेलाडी छन् ।

टोलीको उपकप्तानमा विशाल पौडेल छन् । अन्य खेलाडीमा विधान श्रेष्ठ, दीपक डुम्रे, अर्जुन कुमाल, अनिल गुरुङ, गोविन्द विक, सन्दीप खत्री, अभिषेक बस्नेत, कमल परियार, सुभाष भण्डारी, अशोक श्रेष्ठ, कृष्ण पौडेल र चन्द्रकान्त पौडेल रहेको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुले जानकारी दिए ।

यसैगरी वैकल्पिक खेलाडीमा अमृत गुरुङ, दिनेश बुढामगर, रोविन तिमिल्सिना र समीर पौडेल छन् । टोलीको प्रशिक्षकमा रिनज प्रजु र टिम व्यवस्थापक चन्द्रकुमार गुरुङ जिम्मी चयन भएका छन् । 

संघले प्रधानमन्त्री कपका लागि खेलाडी छनोट गर्न गत पुस ९ देखि १३ गतेसम्म पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रादेशिक छनोट प्रतियोगिता आयोजना गरेको थियो । स्याङ्जा, तनहुँ, कास्की र नवलपुर गरी चार जिल्लाको सहभागिता रहेको प्रतियोगितामा कास्कीले शतप्रतिशत नतिजा निकालेर च्याम्पियन बन्न सफल भएको थियो ।

सो प्रतियोगितामा खेलाडीको प्रदर्शनका आधारमा प्रधानमन्त्री कपका लागि खेलाडी छनोट गरिएको संघका अध्यक्ष प्रजुले बताए । प्रतियोगितामा गण्डकी प्रदेशले आफ्नो पहिलो खेल पुस २७ गते प्रदेश नं २ सँग खेल्ने खेल तालिका छ । क्यानले प्रधानमन्त्री कप क्रिकेट टी–२० ढाँचामा खेलाउन लागेको हो । 



सो प्रतियोगितामा देशका सात प्रदेश र त्रिभुवन आर्मी, नेपाल पुलिस र नेपाल एपिएफ क्लब गरी १० टोलीको सहभागिता रहने क्यानले जनाएको छ ।



  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार १७:५९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया