सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) सांसद अमनलाल मोदीले गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन लागि परेको आरोप लगाएका छन् ।
सांसद मोदीले विभिन्न समाचार माध्यममा आएको समाचारलाई उधृत गर्दै गभर्नर अधिकारीले आफ्नो पार्टीका नेता समेत रहेका अर्थमन्त्री शर्मालाई असफल बनाउन प्रयास गरिरहेको बताएका हुन् ।
आईतबार सिंहदरबारमा आयोजित सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले माओवादीबाट मन्त्री बनेका शर्माले राम्रो काम गर्ने देखेपछि त्यसलाई असफल बनाउन राष्ट्र बैंकले खोजेको समाचार बाहिर आएको भन्दै सत्य के हो ? भनि गभर्नर अधिकारीसँग प्रश्न गरेका थिए ।
‘विभिन्न समाचार माध्यामबाट समाचार पनि आउने गरेका छन् । तपाईंहरुको टयूनिङ पनि मिलिराखेको छैन । राष्ट्र बैंक, त्यसमा अर्थ मन्त्रालय, हामी त माओवादीको कार्यकर्ता । त्यसो भन्दाखेरी हाम्रो पार्टीका नेता मन्त्री । माओवादीको मन्त्रीले राम्रो काम गर्छ । उसलाई कसरी असफल बनाउने ? भनेर खोजी राख्नु भएको छ भन्ने पनि न्युजमा सुनिराख्या छौं । यसलाई कसरी सोच्नु भएको छ ?,’ उनले भने ।
सांसद मोदीले पहुँचवालालाई बैठकले ऋण दिने तर सर्वसाधारणलाई ऋण नदिने अवस्था आएको भन्दै आक्रोश समेत व्यक्त गरे । सांसद मोदीले प्रश्न गरे, ‘ठूलाबडाले बैंकबाट ऋण पाइरहने, सर्वसाधारणले ऋण नपाउने जो स्थिति छ । त्यसलाई कसरी घटाउने ? तलसम्म बैंक जाने कुरामा कसरी सोच्नु भएको छ ?’
जवाफमा गभर्नर अधिकारीले अर्थमन्त्री शर्मालाई असफल बनाउन आफू लागेको भन्ने सांसद मोदीको भनाई गलत भएको बताए । उनले व्यूरोक्रेट्सहरुले, संस्था चलाउनुपर्ने व्यक्तिहरुले त्यस्तो खालको सोचाई कहिल्यै नराख्ने तर्क राखेको थिए ।
‘हामी व्यूरोक्रेट्सहरु, संस्था संचालन गर्नुपर्ने व्यक्तिहरुले कहिल्यै पनि त्यस्तो खालको सोचाई राख्दैनौं । कहिलेकाँही आउँछ–यो बीचमा मिडियाकर्मीले कहीँकतै लेखेको पनि देख्छौँ । तर त्यस्तो कहीँ पनि हुँदैन । र संस्थालाई कसरी हुन्छ, सिस्टमलाई कसरी हुन्छ ? आफ्नो पोलिसीहरुलाई कसरी हुन्छ ? इफेक्टिभली लैजाने हो । सोचाईहरु, जसले लेखि राख्नु भएको छ, फरक हुनु बेग्लै हो । तर हामीले समग्र सिस्टमलाई अगाडि बढाउनका लागि गरिएका कामहरुको चाँही सही किसिमले बताउन नसकेर पनि होला । तर त्यो खोलको भिन्नता भने काममा तादम्यता नहुने भन्ने विषय नै हुँदैन,’ गर्भनर अधिकारीले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।