सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबीसी) बराबरीमा रोकिएका छन् ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालमा दुवै टाेलीले १-१ को बराबरी खेलेका हुन् । सुरुवाती अग्रता जोगाउन नसक्दा ब्रिगेड ब्वाइज अंक बाँड्न बाध्य बन्यो ।
खेलको दोस्रो मिनेटमै रोशन रानामगरको गोलमा ब्रिगेड ब्वाइजले अग्रता लिएको थियो । शिशिर लेखीको प्रहार पुलिसका गोलराक्षक सत्रुघन चौधरीले पञ्च गर्दा प्राप्त रिबाउन्ड बललाई रोशनले जाली चुमाएका थिए ।
ब्रिगेड ब्वाइजको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । गोल खाएको दुई मिनेटपछि नै बुद्ध तामाङले फ्रिककमार्फत् उतकृष्ट गोल गर्दै पुलिसलाई खेलमा फर्काए ।
दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।
२५औं मिनेटमा निरकुमार राईको कर्नरमा सन्तोष हेमरनले गरेको हेडर गोलपोस्ट माथिबाट बाहिरिँदा पुलिसले अग्रता लिने अवसर खेर फाल्यो ।
७६औं मिनेटमा रुडी जोनाथनको प्रहार क्रसबारमा लागेर फर्किँदा ब्रिगेड ब्वाइजले अग्रता लिन सकेन ।
यो नतिजासँगै पुलिस ७ अंकका साथ ११ र ब्रिगेड ब्वाइज ६ अंक जोडेर १२औं स्थानमा यथावत छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।