प्रधानमन्त्री कप क्रिकेट: एपिएफको सुखद् सुरुवात
फरकधार / २६ पुस, २०७८

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लबले आफ्नो खेलमा जित हात पारेको छ । 



एपिएफले समूह ‘बी’ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश–२ माथि २४  रनको जित हात पार्दै विजयी सुरुवात गरेको हो ।

१६४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश–२ ले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो । 

प्रदेश–२ का लागि हरिशंकर शाहले सर्वाधिक ३६ रनको योगदान दिए । मोहम्मद आदिल आलमले ३५ र सुरज पटेलले १५ रन बनाउँदा कुमार थापा १० रनमा अविजित रहे । 



एपिएफका लागि कमल सिंह ऐरी, अविनाश बोहरा र भुवन कार्कीले २–२ तथा किशोर महतो र कप्तान शरद भेषवाकरले १–१ विकेट हात पारे । १ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । 

एपिएफका प्रदिप ऐरी र आसिफ शेखले अर्धशतकीय पारी खेले । यी दुईले पहिलो विकेटका लागि १२० रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए । 

६३ रन बनाएका आसिफले ४५ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । प्रदीपले ४८ बलमा ९ चौकाको मद्दतले ६० रन जोडे । सन्दीप जोराले १७ रनको योगदान दिँदा शरद भेषवाकर ९ रनमा अविजित रहे । 

प्रदेश–२ का लागि रुपेश सिंहले ४ र विवेक यादवले १ विकेट हात पारे । 

यो जितसँगै एपिएफले २ अंक जोड्दा प्रदेश–२ ले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १६:४१:२८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया