नारायणहिटी दरबार संग्रहालयभित्र बन्न लागेको संरचनाका विषयमा छानविन गर्न गठित समितिले आफ्नो प्रतिवेदन आज बुझाएको छ ।
समितिले नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालनका लागि दिइएको ठेक्का प्रक्रिया गलत रहेको ठहर गरेको छ ।
नारायणहिटी दरबार संग्रहालय भित्र बन्न लागेको संरचनाका विषयमा छानविन गर्न गठित समितिले ठेक्का दिने प्रक्रिया नै गलत भएको निष्कर्ष निकालेको हो । उक्त प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई बुझाइएको छ ।
उक्त विषयमा छानविन गर्न मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा समिति गठन गरिएको थियो । उक्त समितिले बुझाएको प्रतिवेदन अनुसार बतास समूहले सम्झौता बाहेक १४ रोपनी जग्गा कब्जा गरेको देखिएको छ ।
विना इजाजत उक्त क्षेत्रमा संरचना निर्माण गरिएको पाइएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । सम्झौता हुँदा सुरुमा ६.३४ आना क्षेत्रफल जग्गा र त्यसमा बनेको संरचनामा रेस्टुरेन्ट चलाउन दिने भन्ने सम्झौता भएको थियो । जुन पर्यटन मन्त्रालयको स्वीकृति लिएको नदेखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसका साथै थप १४ रोपनी जग्गामा बतास समूहले पक्की संरचना बनाएको पाइएको हो ।
बतासलाई ठेक्का दिने निर्णय नै मौखिक रूपमा भएको पाइएको छ । पर्यटन सचिव अध्यक्ष रहेको नारायणहिटी विकास समितिले २०७७ सालमा त्यहाँको जग्गा र घरको मुल्य तोकेर बोलपत्र आव्हान गर्ने निर्णय गरेको थियो ।
यी बाहेक बतासलाई ३ वर्षको समयसीमा तोक्ने, बगैंचा बनाउन दिने, अरु जग्गा चाहिएमा पछि लिन सक्ने थियो । तर, त्यसका लागि भने सम्झौता भएको थिएन । यति मात्र नभएर नारायणहिटी दरबार संग्रहालय भित्र रहेको बंकर पनि प्रयोग गर्न दिने सम्झौता भएको थियो । विकास समितिका कार्यकारी निर्देशक भेषनारायण अधिकारीले पनि उक्त कार्यप्रति विरोध जनाउन नसकेको भन्दै मन्त्री आलेले यसमा दोषी देखिएका सबैलाई कारवाही हुने बताए ।
यस विषयमा प्रतिवेदनले दिएको सुझाव अनुसार अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाइने मन्त्रि आलेले बताए । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत ध्यानाकर्षण गराइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।