कीर्ते लालपुर्जा बनाएर वडाध्यक्षले विद्यालयको जग्गा हडपेपछि...
फरकधार / २६ पुस, २०७८

झण्डै ६ दशकपूर्व निर्माण गरिएको जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थास्थित राजर्षि जनक माध्यमिक विद्यालय यसक्षेत्रकै पुरानो विद्यालयमध्येको एक हो । 



यो विद्यालय र विद्यालय मातहतको पोखरी सोही वडाका वडाध्यक्ष रामेश्वर महासेठले स्थानीयबासीलाई छलेर किर्ते लालपुर्जा बनाएको स्थानीयको आरोप छ ।

विद्यालयको संरक्षण गर्न र कीर्ते लालपुर्जा बदर गर्न भनेर विद्यालयका प्रधानाध्यापकदेखि गाउँका स्थानीय समेत अहिले दैनिक बैठक र छलफलमा जुटेका छन् । 

२०७५ वैशाख महिनामा रातिको समयमा विद्यालयको ४ कोठे भवन भत्काइएपछि विद्यालयको पठनपाठनमा समस्या हुँदै आएको छ । कित्ता नं. ५३ मा एक पोखरीसहितको ३ बिघा १५ कठ्ठा ५ धुर जग्गामा विद्यालय रहेको छ । 



२०१५ सालमा स्थापना भई विधिवत् रुपमा २०१७ सालदेखि पठनपाठन सुरु भएको विद्यालयको सम्पत्तिउपर महासेठ परिवारको नजर रहेको स्थानीयवासी र प्रधानाध्यापकको आरोप छ । 

विद्यालयको जग्गा कीर्ते गरेको आरोपमा दूषित लालपुर्जा बदर गरी पाऊँ भनी विद्यालयको तर्फबाट आफूले जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवले बताए । विद्यालयको जग्गा वडाध्यक्ष महासेठ परिवारले कब्जा गर्ने योजना बनाइरहोले आफूलाई पटक–पटक विद्यालय खाली गर्न दबाब आइरहेको उनले दुःखेसो पोखे ।

त्यति मात्र नभई आफूलाई महासेठ परिवारले प्रलोभनसमेत दिने गरेको प्रअ यादवले सार्वजनिक रूपमै बताएका छन् ।
  
विद्यालयको सम्पत्तिउपर वडाध्यक्ष परिवारको दूषित नजर पर्नु दुर्भाग्यपूर्ण रहेको स्थानीयको भनाइ छ । युवा नेता सुरेश कोइरालाले विद्यालयको सम्पत्ति विद्यालयकै नाममा हुनुपर्ने र यसका लागि स्थानियवासी समाजसेवी, राजनीतिकर्मी तथा शिक्षाप्रेमीको साथ र सहयोगको आवश्यकता रहेको बताए । उनले पुनः अदालतले विद्यालयको जग्गा फिर्ता गर्ने विश्वास व्यक्त गरेका छन् ।
 
तत्कालीन समयमा खाली सार्वजनिक जग्गामा पञ्चायत भवन, प्रहरी चौकी र स्कुल एकसाथ सुरु भएको र यो पोखरीसमेत २०२६ सालमा नापी कार्यालयको टोली आउँदा विद्यालयको नाममा नापनक्सा भएको थियो । 

स्थानीय समाजसेवी भोगेन्द्र रायले आफ्नो बाबुबाजेले स्थानीयको सहयोगमा २०१७ सालमा विद्यालय स्थापना गरेको बताएका छन् । पछिल्लो समयमा आएर महासेठ परिवारले तत्कालीन विद्यालयका प्रधानाध्यापक, तत्कालीन प्रधानपञ्च स्वयं भएको अनुकुल पारेर विद्यालयको जग्गाको लालपुर्जा कीर्ते गरेको आरोप लगाएका छन् ।

वडा नं. २१ का युवा नेता शम्भु झाले विद्यालयको भवन वडाध्यक्ष रामेश्वर महासेठको निर्देशनमा भत्काउनु गैरकानुनी भएको भन्दै विद्यालयको भवन र जग्गा संरक्षण गर्नु हाम्रो कर्तव्य र दायित्व भएको बताएका छन् । 

विद्यालयको सम्पत्ति बचाउनु सबैको साझा अभियान र दायित्व भएकोले यसका लागि सबैको साथ र सहयोग हुनुपर्नेमा स्थानीयको जोड छ ।
 
२०१७ सालमा स्थापित राजर्षि जनक माध्यामिक विद्यालय कुर्थामा हाल ८ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा स्थायी , बालविकास र निजी गरेर जम्मा १७ जना शिक्षक रहेका छन् । 

विद्यालयको मुद्दा हाल जिल्ला अदालतमा रहेको र पुस २८ गतेका लागि पेसीको समय तोकिएको छ । यस विषयमा वडाध्यक्ष महासेठले केही बोल्न मानेका छैनन् ।

  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १८:२४:५५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया