‘ए’ डिभिजन लिग आठौँं चरण : दुई आत्मघाती, एक ह्याट्रिक

सहिद स्मारक ‘ए’ डिभिजन लिगको रोमाञ्चकता दिन प्रतिदिन बढ्दै छ । लिगको आठौँं चरण सकिँदा उपाधि र रेलिगेसन होड झन् प्रतिस्पर्धात्मक बनेको छ । 

उपाधि होडमा साविक विजेता मछिन्द्र क्लब र मनाङ मस्र्याङदीबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । हाल मछिन्द्र ८ खेलमा २० अंकका साथ शीर्ष र मनाङ समान खेलबाट १९ अंक जोड्दै दोस्रो स्थानमा छ । यी दुईलाई संकटा र त्रिभुवन आर्मी क्लबले १४ अंकका साथ पछ्याइरहेका छन् ।  

मछिन्द्र, संकटा र आर्मीले आफ्नो अपराजित यात्रालाई आठौँ खेलसम्म पनि जारी राख्दा फ्रेन्ड्स भने अझै पनि पहिलो जितको खोजिमा छ । लिगमा उपाधि मात्र नभएर रेलिगेस होडमा कडा प्रतिस्पर्धा चलिरहेको छ । हाल च्यासल ५ र फेन्ड्स ३ अंकका साथ रेलिगेस जोनमा छन् । 

उनीहरु भन्दा ठिकमाथि रहेका दुई टोली नेपाल पुलिस क्लबको ७ र ब्रिगेड ब्वाइज क्लबको ६ अंक छ । यो चरणमा आइपुग्दा लिगले १०० गोलको अंकडा पनि पार गरेको छ । यस चरणमा दुई आत्मघाती गोल र एक ह्याट्रिक देख्न पाइयो । लिगमा हालसम्म ५६ खेल हुँदा १०७ गोल भएका छन् । यो चरणमा मात्र १३ गोल भए । 

आठौँ चरणका ७ खेलमध्ये ४ मा हार–जितको नतिजा निस्कँदा ३ खेल बराबरीमा सकियो । लिगको गोल्डेन बुट दौडमा ५ गोलका साथ मनाङका ओलावाले अफिज र मछिन्द्रका सुनिल बल अगाडि छन् । 
यी दुईलाई ४ गोल गर्दै सातदोबाटो युथ क्लबका माटिन्स अजयी र एपिएफका आशिष लामाले पछ्याइरहेका छन् ।  

ओलावाले अफिजको ह्याट्रिक



लिगअन्तर्गत शनिबार पोखरा रंगशालामा मनाङ मस्र्याङदी क्लबका ओलावा अफिजले च्यासलविरुद्ध ह्याट्रिक पूरा गरे । जारी लिगमा यो दोस्रो ह्याट्रिक हो । यसअघि सातदोबाटोका मार्टिन्स अजयीले एपिएफविरुद्ध ह्याट्रिक पूरा गरेका थिए । अफिजले च्यासलविरुद्ध ४३ औँ मिनेट र थप गरिएको समयमा दुई गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

दुई आत्मघाती गोल 



लिगको आठौँ चरणमा दुई खेलाडीको नाममा आत्मघाती गोल रह्यो । शनिबार लिग लिडर मछिन्द्रविरुद्ध फेन्ड्सका रोनेल एन्थोनी पउल र आइतबार थ्रीस्टारविरुद्ध हिमालयन शेर्पाका अमृत श्रेष्ठले अत्मघाती गोल गरेका हुन् ।

योसँगै लिगमा आत्मघाती गोल संख्या ४ पुगेको छ । यसअघि एएिफविरुद्ध सातदोबाटोका करण रावत र पुलिसविरुद्ध जावलाखेलका सीमान्त थापाले आत्मघाती गोल गरेका थिए । मछिन्द्रलाई जित दिलाउन त्यही आतमघाती गोल निर्णायक बन्दा हिमालयनले खेल २–० ले गुमाएको थियो । 

एउटै टोलीको एकै खेलमा सर्वाधिक गोल 

लिगअन्तर्गत पोखरा रंगशालामा भएको च्यासलविरुद्धको खेलमा मनाङ मस्र्याङदी क्लबले ५–० को फराकिलो जित हात पारेको थियो । यो जारी लिगको एकै खेलमा कुनै पनि टोलीले गरेको सर्वाधिक गोल हो । यसअघि सातदोबाटोले एएिफविरुद्ध ४ गोल गरेको थियो । 

मनाङको जितमा ओलावाले अफिजले ह्याट्रिक पूरा गर्दा एडिलाज सोमिडे र दिनेश राजवंशीले १–१ गोल गरे । मनाङको यो जित जारी लिगको सबैभन्दा फराकिलो जित पनि हो । त्यस्तै, मनाङले घरेलु मैदानमा खेलेका तीनै खेलमा जित हात पार्यो । 

मनाङले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३–१ र दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराएको थियो । 

१००औँ गोल 

जारी लिगको १००औँ गोल मनाङका दिनेश राजवंशीको नाममा रह्यो । उनले पोखरा रंगशालमा च्यासलविरुद्ध ८६औँ मिनेटमा गरेको गोल लिगको १००औँ हो । लिगको पहिलो गोल संकटाका लक्ष्मण रुचालले हिमालयन शेर्पा र ५०औँं गोल संकटाकै निरज बस्नेतले नेपाल पुलिस क्लबविरुद्ध गरेका थिए ।

  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार २०:५३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया