तीन तहको चुनावमा कांग्रेसले गठबन्धन गर्दैन भन्नुको कारण के हो ?

तीन तहको निर्वाचन आउन लाग्दा सत्तारूढ गठबन्धन निर्वाचनसम्म नजाने नेपाली कांग्रेसका नेताहरूले खुलेरै बोल्दै आएका छन् । बोल्ने नेताहरू अधिकांश संस्थापन पक्षभन्दा बाहिरका छन्। 

उनीहरूका अनुसार कांग्रेस चुनाव एक्लै लड्छ । चुनावी गठबन्धन कुनै दलसँग गर्दैन । एक्लै बहुमत प्राप्त गरेर सरकार गठन गर्छ ।

यसो भन्ने नेताहरू उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगनकुमार थापा, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, प्रकाशमान सिंह, सुजाता कोइरालालगायत छन् ।

नेता विमलेन्द्र निधि पनि कांग्रेस चुनावी गठबन्धन गर्न नहुने पक्षमा छन् । यस आधारमा यी नेताहरूले कांग्रेसी मतदाताले रूख चिह्नबाहेक अन्य चिह्नमा मतदान गर्दैनन् भन्दै आएका छन् ।

आइतबार मात्रै उपसभापति गुरुङले गृहजिल्ला स्याङ्जामा पुगेर भने, ‘संविधान र जनताको सर्वोच्च संस्था संसद् बचाउने सन्दर्भमा यो गठबन्धन बनेको हो र त्यसैको बाइप्रडक्टको रूपमा सरकार बनेको हो । गठबन्धनलाई कायम राख्दै कांग्रेसको काँधमा चढेपछि मात्र वैतरणी तर्न सकिन्छ भनेर केही दलले भनिरहेका छन् । हिजोका दिनमा बाबुराम भट्टराई, महन्थ ठाकुर र प्रचण्डकी सुपुत्रीलाई पनि बोकेको हो । तर, चुनावमा जितेर पल्लो किनारामा पुगेपछि धन्यवाद भन्न भन्दा कांग्रेसलाई फोहोर गरेर ओर्लिए ।’

गुरुङको यो भनाइमा कांग्रेसले अब अन्य दललाई निर्वाचनमा नबोक्ने आशय छ । त्यो भनेको गठबन्धन नगर्ने भन्ने हो । विगतमा गठबन्धन गरिँदा यसअघि उल्टै कांग्रेसविरुद्ध प्रस्तुत भएको उनको गुनासो छ । 



उपसभपाति गुरुङले भन्दा स्पष्ट रूपमा डा. शेखरले शनिबार सुनसरीको इनरुवामा पुगेर कांग्रेसको गठबन्धन कोहीसँग नहुने भनेका छन् । जुन कांग्रेसी मतदाताको भावना भएको उनको दाबी छ । एक्लै निर्वाचन लडेरै बहुमत प्राप्त गर्ने उनको जिकिर छ ।

‘अब कांग्रेस एक्लै चुनाव लड्छ । कांग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिह्न रुखबाहेक अन्य चिह्नमा मत नहाल्ने आशय व्यक्त गरिसकेका छन् । त्यसैले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लडेर पनि बहुमत ल्याउँछ’, उनल भने ।



यसरी कांग्रेसमा गठबन्धन विरोधी भावना निरन्तर नेताहरूबाट प्रवाह भइरहेको छ । जसले गठबन्धनका अन्य घटकका नेताहरूमा संशय पैदा छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले बारम्बार गठबन्धन तीन तहको निर्वाचनसम्मै जाने दाबी गर्दै आएका छन् । त्यसका लागि सत्तारूढ घटकहरूका नेताहरूबीच सहमति नै भएको उनीहरूको जिकिर छ । 

संविधान र संसद् जोगाउने सवालमा एक ठाउँमा उभिएका दलहरूको गठबन्धन जरुरी रहेको बताउँदै आएका छन् । 

तर, कांग्रेसका पदाधिकारीमा रहेका नेतादेखि केन्द्रीय सदस्यहरूबाट भने गठबन्धनविरोधी अभिव्यक्ति रोकिएको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि गठबन्धन निर्वाचनमा आवश्यक नहुने बताउँदै आएका छन् । सभापति देउवाले भने यसबारे मौन छन् । 

उनी निकट सहमहामन्त्री भीष्मराज आङदेम्बेले भने नेताहरूबाट गठबन्धनबिना एक्लै चुनावमा कांग्रेस जान्छ भनेर व्यक्त भएको विचार व्यक्तिगत भएको बताएका छन् । ताजा जनादेश लिएर आएको केन्द्रीय समितिले बैठकपछि मात्रै तीन तहकै निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने टुंगो लगाउने फरकधारलाई बताए ।

‘राष्ट्रियसभा निर्वाचनसम्म गठबन्धनको यात्रा तय भइसकेको छ । बाँकी रहेको संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा कसरी जाने भन्ने कुरा व्यक्तिगत रूपमा आ-आफ्ना धारणाहरू नेताहरूका होलान् तर अहिले ‘फ्रेस म्यान्डेट’ लिएर आएको केन्द्रीय समिति छ, केन्द्रीय कार्य समितिले छलफल गरिकन आगामी यात्राहरू तय गर्छ ।’

गठबन्धनको नेतृत्वदायी दल कांग्रेस हो । कांग्रेस नेतृत्वमा संघीय सरकार गठन हुनुको कारण माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थन हो । 

समर्थनबिना कांग्रेस नेतृत्वमा सरकार गठन हुने थिएन । जसको राजनीतिक पृष्ठभूमि भने संसद् विघटन हो । एकल पार्टी नेकपाको दुई तिहाइ नजिक बहुमत रहेको संसदलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गर्नुको परिणाम कांग्रेसको सत्ता यात्रा तय भएको हो ।

हाल आएर त्यही नेकपा तीन टुक्रामा पनि विभाजित छ । विभाजित अवस्थामा रहँदा कांग्रेस नेताहरूले गठबन्धनबिना चुनावमा जाने भन्नु अस्वाभाविक ठान्दैनन् राजनीतिक विश्लेषक हरि रोका । 

उनका अनुसार प्रतिस्पर्धी कम्युनिस्ट पार्टीहरू एकीकृत हुन सक्ने अवस्था नरहँदा राजनीतिक फाइदाका लागि कुनै राजनीतिक पार्टीले एक्लै चुनाव लड्छु भन्ने नौलो होइन ।

‘एमाले, माओवादी त्यसपछि समाजवादी भएर नेकपा तीनवटा टुक्रामा बाँडिएपछि हामी चुनाव एक्लै जित्छौँ लडेर, त्यसमा हामीले सिट बाँडफाँट गरिरहनु परेन भन्ने सोच नेपाली कांग्रेसमा आउनु अस्वाभाविक होइन । स्वाभाविक प्रक्रियाको कुरा हो’, राजनीतिक विश्लेषक रोकाले भने, ‘एक्लै बहुमत ल्याउन सक्छौँ । त्यो तागत हामीसँग छ । अन्य कम्युनिस्ट दलहरू एकीकृत हुन सक्दैनन् । त्यसो भएपछि किन हामीले बाँडफाँट गर्ने अरुलाई भन्ने सोच हो । यसरी कुनै राजनीतिक पार्टीले सोच्नु नौलो कुरा होइन ।’

अघिल्लो पटक केही स्थानीय तहमा कांग्रेस-माओवादीबीच गठबन्धन भएको थियो । त्यतिबेला चितवनमा भने गठबन्धनमा रहे पनि माओवादीले धोका दिएको चर्चा चलेको थियो । सोही कारण पनि गठबन्धन गर्न नहुने भावना कांग्रेसीजनमा पैदा भएको कतिपयको विश्लेषण छ ।

ठूलो दल हुने पालो कांग्रेसको !  

२०४८ देखि २०७४ सालसम्म ६ वटा निर्वाचन भयो । तीनवटा आम निर्वाचन, दुईवटा संविधानसभा र एउटा मध्यावधि निर्वाचन भएको हो । 

यसमध्ये तीनपटक कांग्रेस बहुमतसहित पहिलो पार्टी बन्यो । बाँकी तीनपटक भने कम्युनिस्ट पार्टी (एक-एक पटक एमाले र माओवादी, एकपटक दुई पार्टी मिल्दा) बहुमतसहित पहिलो पार्टी बनेको देखिएको छ । 

संसद् सचिवालयका अनुसार २०४८ मा कांग्रेस, २०५१ मा एमाले, २०५६ मा कांग्रेस, २०६४ मा माओवादी, २०७० मा कांग्रेस र २०७४ मा नेकपा (एमाले र माओवादी मिलेर बनेको पार्टी) पहिलो पार्टी बनेको थियो । 

३० वर्षको बीचमा भएको ६ निर्वाचनलाई आधार मान्दा एकपटक कांग्रेस पहिलो दल हुँदा अर्कोपटक कम्युनिस्ट पार्टी (एमाले र माओवादी) पहिलो भएको देखिएको छ।

यो तथ्यगत आधारमा विश्लेषण गर्दा अब स्वाभाविक रूपमा कांग्रेस पहिलो पार्टी बन्ने देखिन्छ । जसलाई एकपटक कांग्रेसलाई र अर्को पटक मतदाताले कम्युनिस्टलाई सत्तामा पुर्‍याउने गरेको अर्थमा पनि लिन सकिन्छ । यही भएर पनि कांग्रेसका नेताहरूबाट गठबन्धनविरोधी अभिव्यक्ति आएको मान्न सकिन्छ । 

  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार ८:३४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया