प्रधानमन्त्री कप क्रिकेट : कर्णालीको पहिलो जित

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टि-२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित दर्ता गरेको छ ।

कर्णालीले समूह ‘ए’ अन्तर्गत मंगलबार मूलपानी क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा प्रदेश-१ माथि ३१ रनको जित हात पारेको हो ।

१२१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश-१ ले १७.५ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो ।

प्रदेश-१ का लागि फिरदोश अन्सारीले सर्वाधिक २३ रनको योगदान दिए । दिपेश कँडेल र सारवान यादवले १५-१५ तथा कप्तान सिद्धान्त लोहनीले १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीका लागि अनुज चुनाराले ४, दिवान पुनले २ तथा दिनेश अघिकारी, प्रकाश जैसी र अनुप कुँवरले १-१ विकेट हात पर्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२० रन बनाएको थियो । 



कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३६ रनको योगदान दिए । प्रकाश जैशीले २५ र राज शाहले १५ र विपिन रावलले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रदेश-१ का लागि मुकुन्द यादवले ३, फिरदोश अन्सारीले २ तथा कमल खत्री र सिद्धान्त लोहनीले १-१ विकेट हात पारे । 



यो जितसँगै कर्णालीले दुई खेलमा दुई अंक जोड्दा प्रदेश-१ ले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

पहिलो खेलमा कर्णालीले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग ६३ रनको पराजय बेहोरेको थियो । 
 

  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १२:३२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया