माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंमा तरुलको व्यापार बढेको छ ।
काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलहरुको व्यापार बढेको हो । तरुलको व्यापार राम्रो भईरहेको सर्लाहीका व्यापारी रामबाबु साहले बताएका छन् । उनले आफूले सर्लाहीबाट तरुल ल्याएको र त्यसको मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको पनि बताए । गत वर्षभन्दा यस वर्ष तरुलको व्यापार बढे पनि मूल्य भने नबढेको साहको भनाइ छ ।
यता, चितवनबाट ल्याइएको रातो तरुल भने प्रतिकेजी १५० रुपैयाँसम्ममा बिक्री भइरहेको व्यापारी ईश्वर ढकालले बताएका छन् । रातो तरुल राम्रो हुने भएकाले यसको मूल्य अन्य तरुलको भन्दा बढी भएको उनको भनाइ छ ।
व्यापारीका अनुसार यस वर्ष काठमाडौंमा सर्लाही र चितवनको तरुल बढी भित्रिएको छ । ग्राहकले पनि सस्तो मूल्य हुने भएकाले कालीमाटी बजारबाटै तरुल खरिद गर्ने गरेको बताएका छन् । ललितपुरकी मुना थापाले सस्तोमा पाइने भएकाले तरुल खरिद गर्न आफू कालीमाटी तरकारी बजारमै आएको बताइन् ।
अघिल्लो वर्ष कोरोनाका कारण तरुलको व्यापार घटेको थियो भने मूल्य केही बढेको थियो । माघे संक्रान्तिमा तरुल पनि खाने हाम्रो प्रचलन रही आएको छ । पोषणविद्हरुका अनुसार तरुलले हाम्रो सरिरलाई बलियो बनाउने पोषण दिने गर्दछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।