राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका विषयमा कसले के भने ?

आज पुस २७ गते अर्थात राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती । 

पृथ्वीनारायण शाहले नेपाल राज्यको एकिकरण गरेका थिए । गोर्खा राज्यलाई विस्तार गर्दै उनले नेपालको एकिकरण गरेका थिए । यसैकारण उनको जन्मदिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदै आइएको छ । 

पृथ्वीनारायणको विषयमा धेरैको धेरैथरी धारणा छन् । कसैले उनलाई महान राजाको रुपमा चित्रण गर्छन् त कसैले विस्तारवादीको रुपमा । केहीले भने उनले नेपाललाई भौगोलिक रुपमा एकिकरण गरे पनि सांस्कृति रुपमा एकिकरण गर्न नसकेको राजाको रुपमा टिप्पणी गर्ने गर्छन् । 

तर, सबैको साझा बुझाई के हो भने– उनले तत्कालिन स–साना राज्यहरूलाई गाभेर विशाल नेपाल निर्माण गरेका हुन् । यसैकारण उनी नेपालको राष्ट्रनिर्माता हुन् र एकताका प्रतीक । 

नेपाल भित्र पछिल्ला वर्षहरुमा उनको जन्मजयन्ती धुमधामका साथ मनाउँदै आइएको छ । केही पृथ्वीनारायण शाह जन्मेको दिन सार्वजनिक विदा दिनुपर्ने माग पनि गर्दै आएको छन् । केहीले भने उनको जन्मजयन्तीमा उनको विरोधका कार्यक्रम राख्ने गरेका छन् । उनको विरोध गर्नेको संख्या भने सानो छ । 

आज राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीको अवसरमा सिंहदरबार पश्चिम मूलढोका अगाडि रहेको उनको शालिकमा माल्यार्पण गरिन् । 



माल्यार्पण गरेपछि राष्ट्रपति भण्डारीले ट्वीटरमा लेखेकी छन्, ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाह र एकीकरण अभियानका वीर योद्धा काजी कालु पाँडेप्रति श्रद्धा सुमन अर्पण गर्ने अवसर मिलाएकोमा नेपाल सरकार, विभिन्न प्रज्ञा प्रतिष्ठान, स्थानीय तह, नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायलाई धन्यवाद ।’

प्रधानमन्त्री तथा नेपाली​ कांग्रेसका सभापति शेरबहादुर देउवाले आज विहानै ट्वीटर मार्फत पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना दिएका थिए । 



‘राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको ३००औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा  सम्पूर्ण  नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना,’ प्रधानमन्त्री देउवाले भनेका छन् । 

अघिल्ला वर्षहरुमा पृथ्वीनारायण शाहको विरोध गर्ने पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई यसपटक भने उनको विषयमा केही नरम देखिएका छन् । उनले पृथ्वीनारायण शाहको दानवीकरण र देवत्वकरण नगर्न सबैलाई आग्रह गरेका छन् ।

‘पृना (पृथ्वीनारायण) शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं! उनी इतिहासको आवस्यकता र आकस्मिकताका उपज हुन्,’ भट्टराईले सोमबार ट्वीटरमा लेखेका थिए, ‘कविलाई समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पूँजीवाद जन्मने हो । अब समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौँ । चुरो कुरो यो हो!’ 

नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पृथ्वीनारायण शाहलाई नेपालको एकीकरणको नायक बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘नेपालको एकीकरणका नायक, तत्कालीन राजा पृथ्वीनारायण शाहप्रति भावपूर्ण श्रदासुमन !’ 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज पृथ्वीनारायण शाहको दिव्योपदेशको सम्झना गरेका छन् । 

‘भूगोलको एकीकरण प्रथम अध्याय । अनेक भावनाको सहअस्तित्व, सहकार्य र समृद्धि अर्को अध्याय । समृद्धि यात्राले ‘घुस लिन्या र दिन्या दुवै देशका शत्रु हुन्’ पृथ्वीनारायण शाहको यो दिव्योपदेश आदर्श र ब्यबहार दुवैमा कठोर आत्मसात गर्न अत्यावश्यक छ । त्यहि नै हुन्छ र हुनेछ सच्चा सम्मान !,’ शर्माले ट्वीटरमा लेखेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले पृथ्वीनारायण शाहको सामुन्ने शिर झुकाउँदा गौरवको अनुभूति हुने बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रनिर्माताको सामुन्ने शिर झुकाउँदा गौरवको अनुभूति हुन्छ । ३०० औं जन्म जयन्तीको अवसरमा आज सिंहदरबार स्थित राष्ट्रनिर्माताको शालिकमा पुष्पगुच्छा अर्पण गरि श्रद्धाञ्जली व्यक्त गरें । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह अमर रहुन् ।’ 

नेपाली काग्रेसका नेता चन्द्र भण्डारीले पृथ्वीनारायण शाह विश्वको महान व्यक्ति भएको टिप्पणी गरेका छन् । 

‘ आज ३००औं पृथ्वी जयन्ती ! विश्वका महान् व्यक्तिमध्ये एक ! हामी सबैका पहिचान ! इतिहासका गौरव !!! खुला आकाशमा चम्किरहने राष्ट्रपिता पृथ्वीनारायण शाह प्रति कोटिकोटि श्रध्दासुमन,’ भण्डारीले ट्वीटर मार्फत भनेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि पृथ्वी जयन्तीको अवसमा सबैलाई शुभकामना दिएका छिन् । उनले ट्वीटरमा लेखेका छन्, ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी दाजुभाइलाई हार्दिक शुभकामना । राष्ट्रिय एकता दिवसका विभिन्न कार्यक्रममा सहभागी भई नागरिक कर्तव्य पूरा गरौँ ।’ 

  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १६:११:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया