एमालेले खोज्यो भारतद्वारा अतिक्रमित नेपाली भूमिमा ‘व्यवहारिक स्वामित्व’, भन्यो– संरचना निर्माण बन्द गर

नेकपा एमालेले नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सडक निर्माण नगर्न भारतलाई चेतावनी दिएको छ । 

नेकपा एमालेका परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै नेपाली भूमिमा सडक निर्माण कार्य तत्काल रोक्न भारतलाई आग्रह गरेका छन् । 

‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनु हुन्न भन्ने नेकपा एमालेको अविचलित मान्यता छ ।’ 

गत साता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले लिपुलेकबाट चीनको कैलाश मानसरोवर जाने बाटोको स्तरोन्नती भइरहेको जनाएका थिए । यसैको प्रतिकार स्वरुप एमालेले आज विज्ञप्ति जारी गरेको हो । 

‘नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीचमा थाँती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुङ्ग्याउने भनी गरिएको सहमति विपरीत भारती पक्षबाट उक्त नेपाली भूभागमा सडक सहितका संरचना निर्माणलाई तीव्रता दिइरहेकोप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ,’ एमालेले भनेको छ । 

एमालेले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रुपमा रहेका र गत वर्ष नै राजनीतिक–प्रशासनिक नक्सा एवं संविधान संशोधन मार्फत  नेपालले यस विषयमा आफ्नो कानूनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको जनाएको छ । 



विगतका सरकारले ती भूभागहरु फिर्ता गराउन र तिनमा नेपालको भोगचलन सुनिश्चित गर्न कूटनीतिक पहल सुरु गरिसकेको समेत विज्ञप्तिमा स्मरण गरिएको छ । 
विज्ञप्तिमा सरकारको मौनताले शंका उत्पन्न गरेको जनाइको छ । 

‘तर राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ । हाम्रो पार्टी यस विषयमा भारतसँग गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ,’ एमालेले विज्ञप्तिमा भनेको छ । 




  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १७:२०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया