कैलालीको टीकापुर नगरपालिका–१ विशालनगर शिविरका सन्तोष परियारको दिनभरि मजदुरी गरेर कमाएर ल्याएपछि मात्रै साँझ घरमा चुलो बल्छ । उनका श्रीमान–श्रीमती बिहानै काममा निस्कन्छन् । बिहानको खाना पकाएर छोराछोरीलाई घरमै राखेर उनीहरू आफ्नो खाना बोकेर काममा जाने गरेका छन् ।
जिल्लामा कोरोना संक्रमण बढेसँगै उनीहरु आफ्नो दैनिक रोजीरोटी नै गुम्ने हो कि भन्ने त्रासमा छन् । ‘अलिअलि काम पाउन थालिएको थियो । अझ कोरोनाको संक्रमण बढेको भन्ने सुनेको छु’ उनले भने, ‘अझ बन्दाबन्दी हुन्छ भने हामी त मर्छौं होला । दिनभर काम नगरे साँझ चुलो बल्दैन । कामकाज बन्द भएपछि कमाउने बाटोसमेत बन्द हुन्छन् ।’
सोही ठाउँका रामबहादुर चौधरीलाई पनि त्यही पीडाले सताउन थालेको छ । उनी अहिले घर निर्माणका काममा व्यस्त रहेका उनले कोरोनाको भन्दा बढी चिन्ता परिवारको लालनपालनमा छ । उनको पनि दिनभर काम गरेपछि मात्रै साँझ घरमा चुलो बल्छ । यसभन्दा पहिलेको बन्दाबन्दीको समयमा खाएको उधारो अझै तिर्न नसकेका उनलाई फेरि बन्द भएपछि व्यापारीसँग उधारो सामानका लागि जानसक्ने आधार पनि छैन ।
‘कोरोना आए पनि हामीलाई चिन्ता छैन । काम हुनुपर्यो । परिवारलाई साँझ बिहान खाने खर्च जुट्यो भने पुग्यो,’ उनले भने, ‘धेरै पैसा कमाएर घर जग्गा जोड्ने सपना छैन । विगतका जस्तो बन्दाबन्दी भयो भने परिवारलाई कसरी पाल्ने भन्ने चिन्ता मात्रै छ ।’
कैलाली भारतसँग सिमाना जोडिएको जिल्ला भएका कारणले पनि अन्य जिल्लाभन्दा बढी कोरोनाको बढी जोखिममा रहेको छ । यसमा पनि भारतीय नागरिक अवैध सीमानाकाबाट व्यवसायको लागि नेपाल प्रवेशको क्रम नरोकिएकाले पनि जोखिम बढेको भजनी नगरपालिका–८ का विकास चौधरी बताउँछन् ।
‘दैनिक भारतबाट नेपाल आउने भारतीय नागरिकलाई प्रशासनले अझै पनि रोक्न सकेको छैन । भारतमा कोरोनाको संक्रमण वृद्धि हुँदा मुख्य सीमानाकामा मात्रै कडाइ गरेर जोखिम कम हुनसक्ने अवस्था छैन उनले भने, ‘सीमानाकामा कडाइ गरी भारतबाट आएका नेपाली नागरिकलाई पनि अनिवार्य क्वारेन्टिनमा राख्न सके संक्रमण कम गर्न सकिन्छ, तर यही अवस्थामा संक्रमण बढ्दै गएपछि हामीजस्ता न्यून आय भएका नागरिकलाई दैनिकी चलाउन निकै मुस्किल हुने निश्चित छ ।’
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले भारतबाट आउने नेपाली नागरिकको संख्यामा वृद्धि भएको बताउँदै उनीहरूको सीमानाकामा कोरोना परीक्षण गर्ने र आउने–जानेको तथ्यांक राख्ने काम सुरु गरेको जानकारी दिए ।
उनले अहिलेको समयमा मेला महोत्सव पनि हुने गरेको र माघीको समयमा हुने मेलाले संक्रमण झन बढ्न सक्ने त्यस्ता गतिविधि नगर्नसमेत आग्रह गरेका छन् । ‘हामीले पूर्वतयारीका काम सुरु गरिसकेका छौँ । हामीले मात्रै गरेर कोरोना संक्रमणलाई कम गर्न सकिदैन। त्यसका लागि नागरिक पनि सचेत बन्नुपर्छ । सबै समयमै सचेत हुनसक्यो भने बन्दाबन्दी गर्नुपर्ने अवस्था आउँदैन’ प्रजिअ थापाले भने, ‘अनि भारतीय नागरिकलाई आउनै नदिने भन्नेसम्मको निर्णयमा हामी पुगिसकेको छैनौँ । त्यो अवस्था आएपछि त्यसतर्फ पनि सोच्नुपर्ने हुन्छ । सीमानाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सुरक्षा व्यवस्थामा कडाइका लागि निर्देशन दिएका छौँ ।’
उनले धनगढीको त्रिनगर भन्सार र टीकापुरको सत्ती भन्सारबाट आउने नेपाली नागरिकको कोरोना परीक्षणपश्चात् मात्रै नेपाल प्रवेश गर्न दिइएको जनाउँदै सम्भावित लक्षण देखिएकालाई आइसोलेसनमा राख्ने गरिएको बताएका छन् । उनले मेला, महोत्सव, भेलाजस्ता धेरै मानिस जमघट हुने खालका कार्यक्रम बन्द गर्न आग्रहसमेत गरेका छन् ।
एक सातामा ८८१ जना संक्रमित थपिए
यसैबीच सुदूरपश्चिम प्रदेशमा पछिल्लो एक सातामा ८ सय ८१ जनामा कोरोना संक्रमण भेटिएको छ । मंगलबार थप १ सय ९४ सहित उक्त संख्या पुगेको हो ।
मंगलबार कञ्चनपुरको त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ७७ र गड्डाचौकी नाका भएर स्वदेश फर्केका ७१ जनामा संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिमका नाका भएर मंगलबार एक हजार ४३७ नेपाली स्वदेश फर्केका छन् । सुदूरपश्चिमका चार वटा नाका भएर एक हजार ६३२ जना स्वदेश फर्केका हुन् ।
माथि उल्लेखित संक्रमितमध्ये गत बुधबार (पुस २१ गते) ५५ जनामा, बिहीबार १ सय २० जनामा, शुक्रबार १ सय ५८ जनामा, शनिबार १ सय ३३ जनामा, आइतबार ६२ जनामा, सोमबार १ सय ५९ जनामा र मंगलबार १ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
उनीहरूमध्ये कञ्चनपुरको गड्डाचौकी र कैलालीसँग सीमाना जोडिएको गौरीफन्टा नाका भएर स्वदेश फर्किने धेरै छन् । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले कोरोना पुष्टि भएका व्यक्तिलाई धनगढीको कनरीस्थित आइसोलेसनमा राख्ने गरिएको बताए ।
कोरोना संक्रमण दर बढेपछि शिक्षा मन्त्रालयले मंगलबार देखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । लक्षण नभएर पनि संक्रमण पुष्टि भएका र एन्टिजेन परीक्षण नेगेटिभ आएका नागरिकलाई भने सीधै घर पठाउने गरिएको छ । यसले फेरि समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिने खतरा बढेको छ ।
निर्माणाधीन होल्डिङसेन्टर अधुरै
कोरोना संक्रमितको व्यवस्थापनका लागि भन्दै सरकारले कैलाली र कञ्चनपुरमा नेपाली सेनामार्फत निर्माण गरिरहेको होल्डिङ सेन्टरको काम अधुरै छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा निर्माणाधीन अवस्थामा रहेका एक–एक हजार मानिस राख्ने क्षमताका होल्डिङ सेन्टरको काम अधुरा रहेका हुन् । निर्माणको काम अन्तिम चरणमा भए पनि आवश्यक पर्ने अन्य समग्रीको व्यवस्थापनमा थप समय लाग्ने देखिएको छ ।
होल्डिङ सेन्टर सेन्टर निर्माणकै चरणमा रहेका बेला संक्रमित थपिन थालेपछि व्यवस्थापनमा चुनौती हुन थालेको छ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले धनगढी उपमहानगरपालिकाको कनरीमा स्थापना गरिएको सय बेडको आइसोलेसन संक्रमितले भरिएको छ ।
आइसोलेसन भरिएपछि थप संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा चुनौतीका रुपमा देखिएको बताउँदै कार्कीले गेटा मेडिकल कलेज र प्रादेशिक आर्युवेदिक औषधालयको भवनमा व्यवस्थापन गर्ने गरी काम भईरहेको दाबी गरे ।
पत्ता लागेन भेरियन्ट
भारतमा ओमिक्रोन भेरिएन्ट तीव्र रुपमा फैलिरहेका बेला त्यहाँबाट फर्किने नेपालीहरू पनि कोरोना भाइरस बोकेर आइरहेका छन् । तर, यहाँ परीक्षणको व्यवस्था नहुँदा अहिले देखिएको संक्रमण ओमिक्रोन हो वा अन्य कुनै भन्ने कुरा छुट्याउन सकिएको छैन ।
सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले भने भारतबाट फर्किएर कोरोना संक्रमण देखिएका १६ जनाको नमुना परीक्षणका लागि काठमाडौं पठाइएकोमा उनीहरूमा ओमिक्रोन भेरिन्ट पुष्टि नभएको दाबी गर्ने गरेको छ ।
पुनः थप ११६ जना संक्रमितको नमुना परीक्षणका लागि पठाइएको छ । रिपोर्ट कहिले आउँछ यकिन छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।