वुमा गोजुकाई कराँतेमा जोरपाटी डोजो टिम च्याम्पियन

नेपाल गोजु काई कराँते संघले आयोजना गरेको वुमा खुला कराँते प्रतियोगितामा जोरपाटी डोजो टिम च्याम्पियन भएको छ । 

चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा मंगलबार सम्पन्न प्रतियोगितामा जोरपाटीले ५ स्वर्ण, १ रजत र ३ कांस्य जितेर च्याम्पियन बनेको हो । 

४ स्वर्ण, ३ रजत र ५ कांस्य जितेर मानसिंह डोजो उपविजेता भएको छ । ३ स्वर्ण जितेको शंखडोल डोजो तेस्रो भयो ।

प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन ११ स्वर्ण पदकको छिनोफानो भएको थियो । कातातर्फ पुरुषमा नेपाल हाइसी–हा एकेडेमीका कृष्ण ऐडीले स्वर्ण जित्दा महिलातर्फ जोरपाटी डोजोकी ईशा वाइबाले स्वर्ण जितिन् । 

महिला ४० केजीमुनि तौलसमूहमा मानसिंह डोजोकी सविना तामाङले स्वर्ण जितिन् । उनले फाइनल गोठाटार डोजोकी रोनिशा खड्कालाई पराजित गरिन् । 

महिला ४५ केजीमूनि तौलसमूहमा शंखडोलकी अनिता तामाङले तोयोकान एकेडेमीकी शिखा बजगाईंलाई हराएर स्वर्ण जितिन् । 



साउथ भ्यालीकी नवीना डिम्डुङले महिला ५० केजीमा स्वर्ण जितिन् । उनले फाइनलमा मित्रपार्क डोजोकी सुदीना पाख्रिनलाई पराजित गरेकी हुन् । 

महिला ५५ केजीमा शंखडोलकी युनिका राईले नेपाल हायसी–हा एकेडेमीकी निरुता श्रेष्ठलाई हराएर स्वर्ण जितिन् । महिला ६० केजीमा मानसिंहकी प्रविना गुरुङले स्वर्ण जित्ने क्रममा नागार्जुन डोजोकी उर्शला पहारीलाई पराजित गरिन् । 



महिला खुलातर्फको स्वर्ण अस्मिता प्रजाले जितिन् । उनी जोरपाटी डोजोकी हुन् । फाइनलमा उनले साउथ भ्यालीकी कोपिला लिम्बुलाई पराजित गरिन् ।

पुरुष ५५ केजीमुनि तौलसमूहमा जोरपाटी डोजोका विशाल केसीले स्वर्ण जिते । उनले फाइनलमा मानसिंहका सुदीन सुनारलाई पराजित गरेका हुन् । 

पुरुषको ६० केजीतर्फ जोरपाटीका सुजन राईले गोठाटारका राजीव त्रिपाठीलाई हराएर स्वर्ण जिते । पुरुष खुलातर्फ भने गोठाटारका रविन त्रिपाठीले मानसिंहका पारस तामाङलाई पराजित गरी स्वर्ण जिते । 

  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार २०:०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया