म्याग्दीमा तत्काल विद्यालय बन्द नहुने

म्याग्दीमा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन् । कोरोनाको संक्रमणदर बढ्न थालेपछि सीसीएमसीसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । 

आज सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई कडाइका साथ लागू गर्ने तर तत्काल जिल्लामा शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको हो । 

मन्त्रालयले वार्षिक बिदामा समायोजन हुने गरी शैक्षिक संस्था बन्द गर्न भने पनि जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधि र जिल्लास्थित सरोकारवालाको सल्लाहबमोजिम जिल्लामा कोभिडको सङ्क्रमण भयावह र डरलाग्दो अवस्थामा नपुगेकाले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी रानाले बताए । सीसीएमसीका संयोजकसमेत रहेका प्रजिअ रानाले स्मार्ट लकडाउनलाई कार्यान्वयन गर्ने र सोही कार्यविधिबमोजिम कोरोना सङ्क्रमणको अवस्था हेरेर बन्द तथा लकडाउनको निर्णय गरिने जानकारी दिए । 

बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने, खोप अभियानलाई व्यापक बनाउने, स्वास्थ्य पूर्वाधार र सामग्रीसँगै जनशक्तिलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । जिल्लाव्यापी रूपमा कोरोना सङ्क्रमणबाट बच्च र बचाउन तपाईंको मास्क खोइ ? अभियान चलाउने, सञ्चार माध्ययममार्फत प्रचारप्रसार गर्ने, सामाजिक र भौतिक दूरी कायम गर्न लगाउने, २५ जनाभन्दा बढी मानिस जम्मा भएर कुनै पनि सार्वजनिक कार्यक्रम, मेला, महोत्सव तथा भेला नगर्ने र गर्न रोक लगाउने निर्णय गरिएको छ । 





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार २०:१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया