नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको वर्तमान भौगोलिक इकाइ पृथ्वीनारायण शाहको अभियानको परिणाम भएको बताएका छन् । उनले यसलाई इन्कार गर्न निमल्ने समेत बताएका छन् ।
मंगलबार पृथ्वी जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत् महामन्त्री थापाले पृथ्वीनारायण शाहको अभियानको मुख्य उद्देश्य गोर्खा राज्यको विस्तार भए पनि नेपालको वर्तमान भौगोलिक इकाइ शाहको अभियानको परिणाम भएको बताएका हुन् ।
उनले भनेका छन्, ‘सत्य यही हो, आज हामीसँग नेपालको जुन भौगोलिक इकाइ प्राप्त छ, यो पृथ्वीनारायण शाहको अभियानको परिणाम नै हो।’
उनले पृथ्वीनारायण शाह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता रहेको पनि बताएका छन् । 'कुनै पनि राष्ट्र निर्माणका विभिन्न चरण हुन्छन्। पहिलो चरण भौगोलिक एकीकरण नै हो। भौगोलिक एकीकरण पश्चात प्रजातान्त्रिक अधिकारहरूको विस्तार र समुन्नतिको चरण आउँछन् । यसरी हेर्दा पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन् ।'
पृथ्वीनारायण शाहबारे गगनको टिप्पणी
पृथ्वीनारायण शाहको अभियानको मुख्य उद्देश्य गोर्खा राज्यको विस्तार थियो वा नेपाल एकीकरण भन्ने सन्दर्भमा जुन कोणबाट पनि बहस गर्न सकिन्छ। तर, जे गर्न चाहेको भए तापनि त्यो अभियानले आधुनिक राज्यका लागि आवश्यक वृहत्तर भौगोलिक इकाई दिएको कुरा कसैले इन्कार गर्न मिल्दैन । किनकि सत्य यही हो, आज हामीसँग नेपालको जुन भौगोलिक इकाइ प्राप्त छ यो पृथ्वीनारायण शाहको अभियानको परिणाम नै हो ।
कुनै पनि राष्ट्र निर्माणका विभिन्न चरण हुन्छन्। पहिलो चरण भौगोलिक एकीकरण नै हो। भौगोलिक एकीकरण पश्चात प्रजातान्त्रिक अधिकारहरूको विस्तार र समुन्नतिको चरण आउँछन् । यसरी हेर्दा पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन् ।
पृथ्वीनारायण शाहको यो भूमिकालाई स्वीकार गर्दा उनका सन्ततिले गरेका जनघातको स्वीकारोक्ति हुन्छ भन्ने डर मान्नु आवश्यक छैन, न त पृथ्वीनारायणका सन्ततिहरुले गरेका र नगरेका कामहरूको कसीमा राखेर पृथ्वीनारायण शाहको अधिमूल्यन वा अवमूल्यन गर्नु नै सही हुने रहेछ । हामीले कहिलेकाहीँ तात्कालिक घटनाबाट प्रेरित भएर इतिहासलाई वर्तमानको आँखाबाट हेर्ने गर्दा रहेछौं त्यो पनि न्यायसंगत नहुन सक्छ। त्यसैले, त्यो समय र सन्दर्भको आलोकमा नै इतिहासको त्यो योगदानको मूल्याङ्कन गर्नुपर्छ।
३००औँ पृथ्वी जन्मजयन्तीको अवसरमा आजको दिन सम्मानपुर्वक उहाँलाई सम्झँदै र हामीले बनाएको संविधानको जगमा नेपाल भित्रका सवै नेपालीलाई एकीकृत र संगठित गर्दै जाने प्रण गरौं ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।