२२ वर्षदेखि बन्द कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः निर्माण गर्न शिलान्यास

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कन्चनपुरको मझगाउँ विमानस्थलको शिलान्यास गरेका छन् । विमानस्थलमा भौतिक संरचना निर्माणका लागि मन्त्री आलेले बुधबार शिलान्यास गरेका हुन् ।

शिलान्यास भएसँगै २२ वर्षदेखि बन्द कञ्चनपुरको मझगाँउ विमानस्थल निर्माण कार्य अगाडि बढने भएको छ । विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको छ ।

विमानस्थलका भौतिक संरचना र धावनमार्ग बनाउन प्राधिकरणले दुई करोड ५१ लाख बजेट विनियोजन गरेको मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका संयोजक रमेशचन्द ठकुरीले जानकारी दिए ।

विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयको ५०, प्रदेश सरकारको २५, भीमदत्त नगरपालिकाको १५ र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत गरी ४५ करोड ६६ लाख ७१५ रकम व्यहोर्ने सहमति यस अघिनै भएको हो । विमानस्थलको लम्बाइ एक हजार ६६२ मिटरको रहने छ भने ६६ बिघा जमिनमा विमानस्थल रहने बताइएको छ ।

२०३० सालदेखि सञ्चालमा आएको मझगाउँ विमानस्थल सुरक्षाको कारण देखाउँदै २०५६ सालमा बन्द भएको थियो । शिलान्यास कार्यक्रममा  मन्त्री आलेले विमानस्थलको रनवे २५ सय मिटर बनाउनुपर्ने उद्घोष गरे ।  ‘अहिले १५ सय मिटर रनवे बन्दै छ । यसले मात्रै पुग्दैन,’ उनले भने, ‘कम्तीमा पनि २५ सय मिटर बनाउनुपर्छ, हामी त्यो गर्छौं ।’



विमानस्थल बनेमा यहाँको पर्यटन व्यवसाय पनि उकासिने उनको विश्वास  छ । भारतको दिल्लीबाट सिधै जहाज मझगाउँ विमानस्थलमा ल्याउन सकिने उनको भनाइ थियो । असुरक्षाको कारण देखाउँदै विसं २०५६ सालमा बन्द भएको विमानस्थल शिलान्यास भएसँगै पुनः सञ्चालनमा आउनेमा स्थानीय आशावादी देखिएका छन् । मझगाउँ विमानस्थलमा १५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्डलगायत आवश्यक संरचना निर्माण हुनेछन् ।



  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १५:३७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया