विश्वको सबैभन्दा कमजोर आठमा नेपाली पासपोर्टः १६ वर्षअघि विश्व र्‍यांकिङमा ७६औं स्थानमा थियो, अहिले १०५औं

विश्वका सबैभन्दा कमजोर आठ पासपोर्टमा नेपाली पासपोर्ट परेको छ । 

हेन्ली एण्ड पार्टनर्सले मंगलबार जारी गरेको ‘ग्लोबल पासपोर्ट र्‍याङकीङ’ मा नेपाली पासपोर्ट सबैभन्दा कमजोरमध्ये आठमा परेको हो । 

हेन्ली एण्ड पार्टनर्सले जारी गरेको सूचीमा विश्वका १९९ देश तथा क्षेत्रलाई समावेश गरिएको छ, जसको १०५ औं स्थानमा नेपाल रहेको छ । सूचीमा १११ औं स्थानमा सबै देशलाई समेटिएको छ । 

सूचीको पहिलो स्थानमा जापान र सिंगापुर, दोस्रो स्थानमा जर्मनी र दक्षिण कोरिया, तेस्रो स्थानमा फिनल्याण्ड, इटाली, लक्जेम्वर्ग र स्पेन, चौथो स्थानमा अष्ट्रीया, डेनमार्क, फ्रान्स, नेदरल्याण्ड्स र स्वीडेन र पाँचौं स्थानमा आयरल्याण्ड र पोर्चुगल रहेका छन् । 

जुन देशको पासपोर्टलाई बढी देशले अनअराइभल भिसा उपलब्ध गराउँछन् उक्त देशको पासपोर्ट सबैभन्दा शक्तिशाली मानिएको छ । 

हेन्ली एण्ड पार्टनर्सका अनुसार नेपाली पासपोर्ट वाहकलाई मात्र विश्वका ३७ देशले अनअराइभल भिसा दिने गरेका छन् । अनअराइभल भिसा भनेको सम्बन्धित देशको अध्यागमन कार्यालयमा गई लिने भिसा हो । सूचीको पहिलो स्थानमा रहेको जापान र सिङ्गापुरलाई विश्वका १९२ देशले अनअराइभल भिसा दिने गरेको सूचीमा हेन्ली एण्ड पार्टनर्सले जनाएको छ । 



नेपाली पासपोर्टमा अनअराइभल भिसा दिनेमा अफ्रिकाका १६, दक्षिण अमेरिकी एक, एसियाका ११, क्यारेबियन क्षेत्रका ३ र ओसेनिया क्षेत्रका ६ राष्ट्र रहेका छन् । 
अफ्रिकाका केपभर्डे आइल्याण्ड्स, इजिप्ट, गुयना–बिसाउ, मौरीटनिया, मोजाम्बीक, सेनेगल, सोमालिया, टोगो, कोमोरेस आइल्याण्ड्स, गाम्बीया, मादागास्कर, मौरिसस, रुवान्डा, सिसिलिस, तान्जानिया र युगाण्डाले नेपाली पासपोर्ट वाहकलाई अनअराइभल भिसा दिने गरेका छन् । 

नेपाली पासपोर्टमा अनअराइभल भिसा दिन एक मात्र दक्षिण अमेरिकी राष्ट्रमा बोलेभिया रहेको छ । 



एसियाका बंगलादेश, भारत, लाओस, पाकिस्तान, सिंगापुर, टिमोर–लेस्टे, क्याम्बोडिया, इन्डोनेसिया, माल्दिभ्स, फिलिपिन्स र श्रीलंकाले नेपाली पासपोर्टमा अनअराइभल भिसा दिने गरेका छन् । 

क्यारेबियन राष्ट्र डोमिनिका, हाइटी र सेन्ट भिन्सेन्टले पनि नेपाली पासपोर्टमा अनअराइभल भिसा दिने गरेका छन् । ओसेनिया क्षेत्रका कुक आइल्याण्ड्स, निउइ, सामोआ, माइक्रोनेसिया, पलाउ आइल्याण्ड र तुभालुले पनि नेपाली पासपोर्ट वाहकलाई अनअराइभल भिसा दिंदै आएका छन् । 

हेन्ली एण्ड पार्टनर्स सूचीको अन्तिम आठमा क्रमसः नेपाल, प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तानका पासपोर्ट रहेका छन् । सूचीको सबैभन्दा अन्तिम अर्थात १११ औं स्थानमा अफगानिस्तान रहेको छ । अफगानिस्तानको पासपोर्टलाई विश्वका मात्र २६ देशले अनअराइभल भिसा दिने गरेका छन् । 

दक्षिण एसियाका आठ राष्ट्रमध्ये नेपाली पासपोर्ट छैठौं शक्तिशाली रहेको हेन्ली एण्ड पार्टनर्सको सूचीले देखाउँछ । नेपाली पासपोर्टभन्दा भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भारतको पासपोर्ट शक्तिशाली रहेका छन् । 

हेन्ली एण्ड पार्टनर्सको विश्वका शक्तिशाली पासपोर्टको सूचीमा माल्दिभ्स ५८, भारत ८३, भुटान ९०, श्रीलंका १०२ र  बंगलादेश १०३ औं स्थानमा रहेका छन् । 

गत वर्ष २०२१ को विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल ११० औं स्थानमा रहेको थियो । गत वर्ष नेपालभन्दा पछाडि ७ वटा देश रहेका थिए भने यसवर्ष पनि नेपालभन्दा पछाडि ७ देश नै रहेका छन् । 

हेन्ली एण्ड पार्टनर्सले सन् २००६ देखि विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्दै आएको छ । सन् २००६ मा उक्त सूचीमा नेपाल ७६ औं स्थानमा रहेको थियो । 

हेन्ली एण्ड पार्टनसका अनुसार सन् २००७, २००८, २००९, २०१०, २०११, २०१२, २०१३, २०१४, २०१५, २०१६, २०१७, २०१८, २०१९, २०२०, २०२१ र २०२२ मा नेपाली पासपोर्ट क्रमशः ७८, ८०, ८०, ८८, ९६, ९८, ८९, ९०, १०५, ९८, ९७, १०१, १०१, १०१, ११० र १०५ औं स्थानमा रहेको छ । 
 

  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १६:१५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया