रेल्वे कम्पनीले नयाँ कर्मचारीलाई तालिम दिन थालेपछि हटाइकाले थाले आन्दोलन

नेपाल रेल्वे कम्पनी लिमिटेडअन्तर्गत ज्यालादारीमा काममा खटाउने भनिएका १५१ जना कर्मचारीलाई बिनाजानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पुरानाहरू आन्दोलित भएका छन् ।

पुराना कर्मचारीलाई हटाएर नयाँ ५५ जनालाई नियुक्त गरी आजदेखि जनकपुरधाममा तालिम दिन थालिएपछि उनीहरूले तालिमस्थलमै गएर विरोध जनाएका हुन् ।

नेपाल रेल्वेलाई कानुनी तथा प्राविधिक कारण देखाइ जयनगर–कुर्था खण्डमा नियुक्त भएका कर्मचारीलाई एक्कासि सूचना निकालेर नवनियुक्त महाप्रबन्धकले हटाएपछि उनीहरूले आफूहरूलाई पुनः समायोजन गर्न माग गरेका छन् ।

पछिल्लो पटक सहायक स्टेशन मास्टरको तालिम लिएका इन्द्रजित गोइतले आफूहरूलाई कुनै जानकारी नै नदिई नवनियुक्त महाप्रबन्धक झाले आफूअनुकूलका पार्टीका कार्यकर्तालाई नियुक्त गरी तालिम दिन लागेको आरोप लगाए ।

उनले गोप्यरूपमा तालिम दिएर आफ्ना नजिकका व्यक्तिहरूलाई राख्नु आफूहरूका लागि असह्य रहेको समेत जिकिर गरे । उनले यसअघि आफूहरूले पनि एक महिनाको तालिम लिएको र आफूहरूको भुक्तानीसमेत बाँकी रहेको बताए ।

पुराना कर्मचारीमध्येका सतिश ठाकुरले १५१ जना पुराना कर्मचारीले तालिम लिइसकेकाले आफूहरूलाई समायोजन गर्नुपर्ने माग गरेका छन् । रेल्वे सञ्चालनका लागि कर्मचारी आवश्यक भए पनि पुरानालाई नराखी नवनियुक्त महाप्रबन्धक झाले फेरि आफ्ना आसेपासेलाई नियुक्त गरेर तालिम दिनु दुःखद रहेको सुनाए ।



उनीले नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार दैनिक ज्यालादारीमा कामकाजमा नियुक्ति गरिएका कर्मचारीलाई कुनै समन्वय नै नगरी हटाउनु आफूहरूलाई कदापी मान्य नहुने बताए ।

त्यस्तै, सहायक स्टेशन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत रहेका मञ्जय कुमार गोइतले पुराना जनशक्तिलाई हटाएर नयाँलाई नियुक्त गरी तालिम सञ्चालन गर्नु महाप्रबन्धक झाको मनोमानी रहेको बताए ।



उनले पुराना कर्मचारीलाई समायोजन गरी उनीहरूको पनि व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । उनले पूरानो तालिममा सरकारको ८८ लाख रुपैयाँ खर्च भएको समेत बताए ।

यस सम्बन्धमा नवनियुक्त महाप्रबन्धक निरञ्जन झाले भारतस्थित केआरसिएल कम्पनीका ट्रेनरहरूमार्फत नयाँ नियुक्त गरिएका कर्मचारीलाई तालिम दिइरहेको बताए । यस तालिममा गेट म्यान, ग्याङ म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेशन मास्टरका लागि तालिम सञ्चालन भइरहेको उनले जानकारी दिए ।

महाप्रबन्धक झाले कानुनले दिएको अधिकार प्रयोग गरेर मात्रै आफूले नयाँ कर्मचारी नियुक्त गरेको र नेपाल रेल्वे ऐनले दिएको अधिकारबमोजिम नै उनीहरूका लागि तालिम सञ्चालन गर्न लागिएको दावी गरेका छन् ।

प्रबन्धक झाले कामै नगरी ज्यालादारीका कर्मचारीले ज्याला पाउने कानुनी प्रावधान नरहेकोले उनीहरूलाई आफूले हटाएको स्वीकार गरे ।

महाप्रबन्धक झाले गत भदौ १८ गते एक सूचना प्रकाशित गर्दै ज्यालादारीमा नियुक्त गरिएका सयौँ कर्मचारीलाई हटाएका थिए ।

रेल सञ्चालनको टुंगो नलागेको भन्दै पूर्व महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नियुक्त गरेका विभिन्न पदका १५१ जना ज्यालादारी कर्मचारीलाई नवनियुक्त महाप्रबन्धक झाले हटाएका थिए । उनले ज्यालादारीका कर्मचारीलाई आफूखुसी हाजिरी नगर्न सूचना जारी गर्दै पदमुक्त गरेका थिए ।

रेल्वे सञ्चालनका लागि भनी तत्कालीन व्यवस्थापनबाट ज्यालादारीमा काममा खटाउने भनिएका व्यक्तिहरूले आफूखुसी दैनिक रूपमा हाजिरी गरिरहेकाले कार्यालयले काममा नखटाइ आफूखुसी हाजिर गरेको आधारमा ज्याला रकम भुक्तानी गर्न कानूनले नमिल्ने भएकोले सम्पूर्ण व्यक्तिहरूलाई हाजिर नगर्न सूचनामार्फत आग्रह गरिएको थियो ।

जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेकाले नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरिसकेको थियो । गत असोज २ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल आए पनि चल्न नसकेपछि हाल धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित ईनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा रेल राखिएको छ ।

  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार १७:१५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया