भारतमा महिला कर्मचारीमाथि दुर्व्यवहार, ‘क्लिन चिट’ नपाएका प्रदीप श्रीवास्ताव एनसेलको उच्च पदमा

दूरसन्चार सेवा प्रदायक कम्पनी एक्जियाटाको स्वामित्वको एनसेल लामो समयसम्म कर विवादमा पर्यो । कर विवादमा तानिएको एनसेलले पछिल्लो समय नेपाललाई बुझाउनु पर्ने कर तिरे पनि आन्तरिक मानव संसाधन विभागमा थप समस्यामा पर्न थालेको छ । 

केही समय यता महिला सशक्तिकरणका विभिन्न कार्यक्रमहरुलाई पनि प्रायोजन गर्दै आएको एनसेलको उच्च पदस्थ कर्मचारीहरु नै यसअघि महिलामाथि दुर्व्यवहारमा आरोपित भेटिएका छन् । 

अहिले एनसेललमा सिसिओ (चिफ कमर्सियल अफिसर) हुन्, प्रदीप श्रीवास्तव । भारतीय नागरिक प्रदीप श्रीवास्तव भारतमा नै महिलामाथि दुव्र्यवहारमा आरोपित हुन् । उनी यसअघि भारतको दूरसन्चार प्रदायक कम्पनी आइडिया सेलुलरमा चिफ मार्केटिङ अफिसरका रुपमा कार्यरत थिए । 

तर, उनीमाथि सोही कम्पनीमा काम गर्ने उनीभन्दा २५ वर्ष कम उमेरकी एक महिला स्टाफले दुव्र्यवहारको आरोप लगाइन् । यसका लागि छानबिन गर्न एक समिति बन्यो । तर, उनले छानबिन समितिका प्रश्नहरुको सामना गरेनन्, राजीनामा दिए । 

यसबारे भारतीय मिडियामा समाचार आएको थियो । प्रदीपले भारतीय मिडिया तथा सार्वजनिक फोरममा यसबारे केही बताउने गरेका छैनन् । अहिलेसम्म उनीमाथिको यो मुद्दामा उनले ‘क्लिन चिट’ पनि पाएका छैनन् । अदालतमा यो मुद्दामाथि छानबिनको क्रम जारी छ । तर, तिनै प्रदीपलाई एक्जियटाले नेपालमा एनसेलमा एक मुख्य जिम्मेवारीमा राखेको छ ।

यो घटना हो, सन् २०१० को । आइडिया सेलुलरमा कार्यरत अन्विताले प्रदीपले आफूलाई दुव्र्यवहार गरेको, गलत एसएमएस र सन्देशहरु पठाएको आरोप लगाएकी थिइन् । यौनजन्य तथा दुर्व्यवहारसम्बन्धी दर्जनौँ सन्देश आफूलाई प्रदीपले बारम्बार पठाएको भन्दै उनले आफू कार्यरत कम्पनीमा नै उजुरी दिएकी थिइन् । 



यो विषयमा छानबिन गर्नका लागि आइडिया सेलुलरले नै एउटा कमिटी बनाएको थियो । तर, प्रदीपले समितिमा जवाफ दिएनन् । उनले आफ्नो पदबाट राजीनामा दिए । 

भारतमा त्यति बेला मिटू आन्दोलनले अहिलेको जस्तो सशक्त रुप पाइसकेको थिएन । यसैको फाइदा उठाउँदै प्रदीपले भारतीय अर्को कम्पनी भिडियोकोनमा काम गर्न थाले । अदालतले उनीमाथि लागेको आरोपलाई थप अनुसन्धान गर्ने निर्णय गरेपछि उनी भारत छाडेर नेपाल छिरेका हुन् । 



तिनै प्रदीपलाई एक्जियटाले नेपालमा एनसेलको चिफ कमर्सियल अफिसर बनाएको छ ।

‘उहाँको विगतबारे हामीलाई धेरै थाहा हुने कुरा नै भएन,’ एनसेलका एक उच्चपदस्थ अधिकारीले फरकधारसँगको कुराकानीमा भने, ‘एक्जियटाले यो सबै कुरा बुझेको होला । उहाँलाई कम्पनीमा ल्याउने काम नेपालको कार्यालयले गरेको होइन, एक्जियाटाले नै गरेको हो ।’

फरकधारले प्रदीपसँग पनि यो विषयमा प्रश्न सोधेको थियो । तर, उनले यस विषयमा केही बोल्न चाहेनन् । यसअघि पनि भारतीय मिडियाले बारम्बार यो प्रश्न सोध्दा प्रदीप चुपचाप नै बसेका थिए ।

एकातिर प्रदीप र एनसेलका उच्चपदस्थ अधिकारीहरु यस विषयमा बोल्न मान्दैनन् भने अर्कोतिर एनसेलभित्रकै महिला कर्मचारी प्रदीपका कारण आफूहरु असुरक्षित महसुस गरेको बताउँछन् ।

यस विषयमा फरकधारले औपचारिक रुपमा एनसेललाई प्रश्न गर्दा आफूहरुले अब यसबारे छानबिन गर्ने एनसेलका एक कर्मचारीले बताए । ‘यो छानबिनको विषय हो, हाम्रै कार्यालयभित्र पनि कर्मचारीहरुमाथि दुव्र्यवहार भएको छ भने पीडकमाथि कारवाही गर्नुको विकल्प हुँदैन,’ ती अधिकारीले बताए ।

बारम्बार महिला सशक्तिकरणका विभिन्न ‘बिजनेस प्याकेज’ ल्याउने, महिला सशक्तिकरणका कार्यक्रमहरुलाई स्पोन्सर गर्ने एनसेलले महिलामाथि दुव्र्यवहार गरेको आरोप लागेका व्यक्तिलाई नै कसरी जिम्मेवार तहमा काम दिएको छ ? यो प्रश्नको उत्तर एनसेलले दिएन ।

  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १४:२२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया